शीतलहरको कहरमा तराईः जनजीवन कष्टकर

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ। लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन। शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ ९११ वर्ष०मा एक सय १६ जानाले ज्यान गुमाएका हुन्।

प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन्। सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक–एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ।

प्राधिकरणको तथ्याङ्कानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो। यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। विसं. २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्व तयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ।

पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ। अब भने कुनै अस्पताललले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुरा कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउँछन् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई।

‘पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्याङ्क छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्याङ्क रहने भयो’, उनले भने, “शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो। नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ। निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ।