पृथ्वीनारायण शाहको योगदानले एकीकृत नेपालको जन्म – नेकपा मसाल


बुटवल, पुस २७ गते । नेकपा मसालले पृथ्वीनारायण शाहको योगदानले गर्दा आजको एकीकृत नेपालको जन्म भएको धारणा राखेको छ ।

प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा पृथ्वीजयन्तीको अवसरमा आज २०८१ पुस २७ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा व्यक्त गरेको हो ।सामन्ती राजा भएकाले कैयौँ अन्यायपूर्ण र प्रतिशोधपूर्ण काम भए पनि उनको योगदानबाट आजको नेपाल कायम भएको धारणा वक्तव्यमा उल्लेख छ ।
नेपाली समाजको सद्भाव, राष्ट्रिय एकता, राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको अक्षुण्ण यात्राका लागि शुभकामना दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ –

“पृथ्वीजयन्तीको अवसरमा हामीले नेपाली समाजको सद्भाव, राष्ट्रिय एकता, राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको अक्षुण्ण यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ ।
पृथ्वीनारायण शाहको नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको छ । उनले एकीकरण अभियान सञ्चालन गरेका थिए वा आफ्नो राज्य विस्तारको अभियान चलाएका थिए भन्ने विवाद नेपालमा छ । त्यो जे भए पनि नेपाललाई आजको एकीकृत रूपमा प्रस्तुत गर्न पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको थियो । हामीले उनको त्यो योगदानलाई उच्च सम्मान र मूल्याङ्कन गर्दछौँ ।
पृथ्वीनारायण शाह सामन्तकालीन युगका सामन्ती राजा थिए । आफ्नो अभियानको क्रममा कतिपय अन्य सामन्ती राज्यले झैँ उनका तर्फबाट पनि अन्यायपूर्ण काम भएका थिए । सामन्तकालीन युगको चरित्रअनुसार उनले कैयौँ अन्यायपूर्ण र प्रतिशोधपूर्ण कारबाही चलाएको कुरा स्पष्ट छ यद्यपि उनले दिएको योगदानले आजको एकीकृत नेपालको जन्म भएको थियो । त्यसैले पृथ्वीनारायण शाहको योगदानको महत्व सधै रहने छ ।”