सरकारले ल्याउने अध्यादेश विधेयक गलतः सचेतक पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् । आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए बिरोध गर्ने बताए ।

उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताए । उनले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गर्नुभयो । उनले काँग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए । उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताए । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उनले स्पष्ट पारे ।

पाण्डेले भने, ‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । तर सरकार जसरि अध्यायदेशबाट विधेयकहरु ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद बोलाउनुपर्छ । संसदमै बसेर सरकारले विधेयकहरु प्रश्तुत गरेर विधेयकका कामलाई तिब्रताका साथ अगाडि बढाउनुपर्छ ।

संसदलाई यसरि छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं । यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन । अहिले हाम्रो अभियानको रुपमा जनतासँग जाने कुरामा जोड छ । छिटो संसद चलाउनुपर्छ । संसदमा हामी जनताका कुराहरुलाई उठाउँछौं ।