कृष्णनगरलाई विकसित गराउने ध्येयमा रितेश


बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल भारत सीमा बजारसँग जोडिएका तीन वटा भन्सार कार्यालयहरुमध्ये कृष्णनगर भन्सार पनि एक हो । देशकै दोस्रो ठूलो नाका भैरहवा भन्सार कार्यालय र बाँकेमा रहेको नेपालगञ्ज भन्सार कार्यालयमा जस्तै आयात निर्यातमा चलेको भन्सार कार्यालय कृष्णनगर भए पनि कृष्णनगरको विकास अझै बत्तीमुनिको अध्याँरो जस्तै छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग चन्द्रौटादेखि दक्षिणतर्फ करिब २० किलोमिटर दूरीमा रहेको कृष्णनगर भूगोलको दृष्टिले समथर छ । खेतीयोग्य जमीन रहेको उक्त स्थान अन्न उत्पादनमा उर्वर मानिन्छ ।
नेपालबाट सिमेन्ट, क्लिङ्कर लगायत बस्तुहरु निर्यात हुने र भारतबाट तरकारीदेखि उद्योगका मालवस्तुहरुसमेत आयात हुने कृष्णनगर भन्सारमा भारतीय सवारी नेपाल आउँदा पटके शाखा हुनुपर्ने भए पनि हालसम्म नभएको पटकेलाई स्थापना गर्न स्थानीय रितेश शर्माले चालेको कदमले राजस्वमा टेवा पुग्नुको साथै सवारीलाई सहज भएको स्थानीय अजय मिश्रले बताए ।

मिश्र भन्छन्, पहिले यहाँ पटके शाखा थिएन । जसले गर्दा भारतीय सवारी नेपाल आएपछि सडक अनुमति लिने ठाउँ थिएन । समाजसेवी एवं उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्षसमेत रहेका रितेश शर्माको नेतृत्वमा पटके राखिएपछि राम्रो भएको छ । जसले गर्दा बाह्य पर्यटकहरु आफ्रनै सवारी ल्याएर नेपाल घुम्न जान पाउने भएका छन् । यसले पर्यटकहरुलाई नेपाल आउन थप सहज हुने विश्वास लिएको छु ।
निःशुल्क आँखा शिविर आयोजना गरेर ६ सय ६५ जनाले सेवा लिन अवसर दिने शर्माले मोतिया विन्दुका कारण दृष्टिमा समस्या भएका चार सय ६८ जना (पुरुष २२३ र महिला २४५) जनाको छन्द कालेबावु नारायणी अस्पताल बहादुरगंज कपिलवस्तुमा अप्रेशन गराईदिएर दृष्टि गुमेकालाई फर्काइदिए भने एक सय ९७ जनालाई निःशुल्क चश्मासमेत प्रदान गरेको जनाइएको छ । सामाजिक र मानवीय कार्यमा सक्रिय बन्दै गएका शर्माको कार्यलाई नियाल्ने हो भने, खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै काम गर्नलाई न पद, न त राजनीतिज्ञ, हुन नपर्ने देखाएको छ ।
जुन कार्यले कृष्णनगरबासीको नजरमा परेका शर्माले उद्योग वाणिज्य संघमा दर्ता भएका चार सय १९ उद्योगी व्यवसायीहरुको १० लाखसम्मको निःशुल्क वीमा गराईदिएर राज्यले नगरेका कार्य गरेको भन्दै उद्योगीहरुको प्रिय बनेका छन् । शालिन र भद्र स्वभावका शर्मा कृष्णनगरकै रैथानेबासी हुन् ।
उनी भन्छन्, मलाई आफ्नो लागि कुनै अभाव छैन । म पनि एक उद्योगी व्यापारी हुँ, व्यापार गर्नेहरुको समस्या मलाई राम्रोसँग अनुभव छ । संघर्ष गरेर यहाँसम्म आउँदा मलाई विपन्नताको पनि जानकारी छ । मलाई कुनै स्वार्थ र लोभ छैन । वर्षौदेखि पछाडि पर्दै आएको यो कृष्णनगरको आमुल परिवर्तन गर्न ठूलो धोको छ । यो धोकोलाई पूरा गर्न यहाँका समस्याहरुको पहिचान गरी समाधान र नभएका कुराहरुलाई स्थापित गरेर अगाडि बढ्ने प्रयासमा छु ।
भारतीय पर्यटकहरु नेपाल आउँदा सीमा क्षेत्रबाट भारतीय पैसा वा डलर ल्याउन नपाउने भएपछि पर्यटकहरु नेपाल आउन असहज भइरहेका बेला उनै शर्माले पाँच हजार डलरसम्म बिना सोधखोज आउन पाउने व्यवस्था मिलाएपछि कृष्णनगर भन्सारबाट विश्व शान्तिको क्षेत्र लुम्बिनी, स्वर्गद्धारी र पोखरा लगायत ठाउँमा जाने पर्यटकहरुको संख्या बढ्दै गएको बताइएको छ ।
सबैभन्दा अझ महत्वपूर्ण कार्य कृष्णनगरमा रहेको बाल विटोरी भूमि सम्बन्धि समस्याको निराकरण गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई राखेर सरोकारवाला र स्थानीयहरुको सहभागितामा अन्तरक्रिया गरेर निकास निकाल्ने प्रयाससँगै एक ज्ञापनपत्रसमेत बुझाएको शर्मा बताउँछन् ।
भारतबाट आयात भएको विभिन्न उद्योगहरुको सामान ल्याएर आएको मालबहाक सवारीलाई गृहमन्त्रालयको नियम अनुसार जान पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्न पहल गर्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीले बाटोमा विभिन्न बाहाना बनाउँदै दुख दिने गरेको गुनासोलाई चासोका साथ लिएर गृह मन्त्रालयसम्म लविङ गरेको संघका अध्यक्ष शर्माको भनाइ छ ।
गत आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ मा प्लाई उद्योगहरुलाई निकासी गरेवापत पाँच प्रतिशत हुन आउने रकम पाउनुपर्ने भनिए पनि हालसम्म नपाएकाले शर्माको अगुवाइमा निर्णय सम्झौतालाई कार्यान्वयन गरी उद्योगीहरुलाई थप उत्पादनमा लगानी गर्ने वातारणमा प्रोत्साहन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको जनाइएको छ ।