एउटै मञ्चमा उभिए राजसंस्था र हिन्दुराष्ट्र पक्षधर


काठमाडौँ । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आएका शक्तिहरु सोमबार एउटै मञ्चमा भेला भएका छन् ।राजनीतिक एजेण्डा एउटै भए पनि एकजुट हुन नसकेका उनीहरू आज कमल थापा नेतृत्वको राप्रपा, नेपालले राजसंस्था पुनःस्थापना र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आयोजना गरेको कार्यक्रममा एकसाथ देखिए।

थापासहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायत कार्यक्रममा उपस्थित थिए । नेपाली कांग्रेस (बिपी), शिवसेना नेपालका नेताहरु पनि कार्यक्रमा पुगेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था पक्षधरहरूले आग्रह पूर्वाग्रह त्यागेर एकजुट हुनुपर्ने बताए ।
‘अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यसकारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह, पूर्वाग्रहहरु त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडि बढौँ। राप्रपा सदैव तयार छ, उनले भने।

उनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको उल्लेख गरे । यस्तै, संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताए। उनले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे ।
उनले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गरे । देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाए । उनले विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको बताए।
अध्यक्ष विष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरे । यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले राप्रपा देशको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति भएको भन्दै सबैलाई समेटेर अघि बढ्न आग्रह गरे। उनले त्यसका लागि राप्रपा अध्यक्ष लिङ्देनले पहलकदमी लिनुपर्नेमा जोड दिए।
थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरे।उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ। केही हप्ता, केही महिनाभित्रैमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ । एक पटक प्रयास गरेर हेरौँ।