रुपन्देही उद्योग संघको वजेट प्रतिक्रिया
कार्यान्वयनका लागि संरचनागत सुधारमा जोड
बुटवल–रुपन्देही उद्योग संघ सरकारले आईतबार ल्याएको आर्थिक वर्ष २०७९÷०८० को बजेटको स्वागत गर्दै वजेटमा उल्लेख गरिएका औद्योगिक विकास र उद्योगमैत्री कार्यक्रम सकारात्मक रहेको ठहर गरेको छ ।
संघका अध्यक्ष माधव प्रसाद पौडेल र महासचिव हरिबहादुर खत्रीले एक विज्ञप्ति जारी गर्दै वजेट भावनात्मक रुपमा सकारात्मक हुँदाहँुदै पनि त्यसमा समावेश गरिएका कार्यक्रम र हाम्रो वर्तमान अर्थतन्त्रको अवस्थाले कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण हुने बताइएको छ । ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा वजेट मार्फत हासिल गर्ने लक्ष्य राखिएको आर्थिक वृद्धि हासिल गर्न कठिनाई हुने बताउदै संघले वजेटको कार्यान्वयनका लागि संरचनागत सुधारमा जोड दिएको छ ।
संघले वजेटमा औद्योगिक प्रयोजनको लागि ५० वर्षसम्म लिजमा जग्गा, औद्योगिक प्रयोजनको लागि जग्गाको हदबन्दी हटाउने जस्ता कदमहरु औद्योगिक प्रवद्र्धनको लागि सकारात्मक रहेको तर कोभिड महामारीको प्रभावबाट पूर्ण रुपमा अझै तंग्रिन नपाएको निजी क्षेत्र वजेटको मुख्य आय श्रोतका रुपमा रहेको राजस्वको महत्वकांक्षी लक्ष्य पुरा गर्ने क्रममा चेपुवामा पर्ने आशंका व्यक्त गरेको छ ।
विज्ञप्तिमा सरकारले वजेट मार्फत उद्योग÷व्यवसायलाई दिने भनेको सहुलियत एवं सुविधा शीघ्र कार्यान्वयनमा ल्याउन सकेमा औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भई आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्नेमा संघले विश्वास लिएको छ ।
वजेट मार्फत कर्मचारीको तलब बृद्धि र सामाजिक सुरक्षा कार्यक्रम लगायतका केही अनुत्पादक क्षेत्रमा गरिएको वितरणमुखि कार्यक्रमले मुल्यबृद्धी हुन सक्ने अवस्था प्रति सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
संघले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि आफुले सरकार समक्ष पटकपटक सुझाव दिने क्रममा राख्दै आएका कार्यक्रम र आयोजनाहरु मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, वेलहिया बुटवल र बुटवल नारायणगढ सडकको स्तर उन्नती, कर्साघाट कृषि उपज केन्द्रको निर्माण, तिनाउ–दानव कोरिडोर निर्माण, सिद्धबाबा झुम्सा सुरुङमार्ग निर्माण लगायत वजेटमा समावेश गरिएकोमा आभार व्यक्त पनि गरेको छ ।