रुपन्देहीबाट भारतमा फलामे छड निर्यात शुरु

प्रकाश न्यौपाने

भैरहवा,साउन४। रुपन्देहीमा उद्योग रहेको श्री स्टील्स प्रालिले भारतमा छड निर्यात सुरु गरेको छ ।जिल्लाको रोहिणी गाउँपालिका–३, सेमरहवा रहेको उद्योगले भारत उत्तर प्रदेशको स्थित एक सप्लायर्सलाई बुधबार बेलहिया नाका हुँदै टिएमटी फलामे छड पठाएर निर्यात सुरु गरेको हो । नेपालबाट भारतमा टिएमटी फलामे छड निर्यात गर्ने श्री स्टील्स पहिलो उद्योग हो । उद्योगका संचालक एवं प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले एउटा ट्रकमा ३५ टन टिएमटी फलामे छड निर्यात गरिएको बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा ८ प्रतिशत सहुलियत (इन्सेन्टीभ) दिने नीति लिएपछि उद्योगले निर्यात सुरु गरेका जनाउँदै निर्यातलाई निरन्तरता दिन सरकारी नीति छिट्टै लागू हुन जरुरी रहेको बताए। उद्योगका कार्यकारी निर्देशक सोमेस अग्रवालले छड भारत निकासी पछि देशमा मुद्रा सञ्चिति बढ्नुका साथै मुलुकको ब्यापार घाटा पनि कम गर्न टेवा पुर्याउने जनाए। उनले निर्यातको निरन्तरताका लागि सरकारी नीतिमा भर पर्ने बताए। रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले पालिकाभित्रै रहेको उद्योगबाट भारत छड निकासी हुनु सुखद् क्षण भएको जनाए। मुलुकमा निर्यातजन्य उद्योग आवश्यक रहेको बताउँदै गाउँपालिकाले उद्योगका हरेक समस्यामा साथ दिने र प्रदेश तथा संघ सरकारसँग पनि समन्वयमा भूमिका खेल्ने उनको भनाइ छ । नेपालमा उत्पादित टिएमटी फलामे छड आयातकर्ता भारतीय व्यवसायी मनोज अग्रवालले सबैको साथ र सहयोग पाए भारतमा बजार विस्तारमा कुनै समस्या नभएको जानकारी दिए। भारतमा पनि धेरै स्टील्स उद्योग रहेको जनाउँदै प्रतिस्पर्धाका लागि नेपाली उत्पादन पनि योग्य भएको बताए। प्रतिस्पर्धाले उपभोक्तालाई सहजता दिलाउने जनाउँदै उहाँले नेपालबाट भारतीय बजार नजिक भएको र भारतमा समान लैजान पनि सहज भएकाले छडले राम्रो बजार लिने विश्वास व्यक्त गरे । केडिया अर्गनाइजेशन, सिद्धार्थ, मुरारका तथा उमा ग्रुपको संयुक्त लगानीमा सञ्चालित श्री स्टील्सले विगत पाँच वर्षदेखि टिएमटी फलामे छड उत्पादन गर्दै आएको छ । उद्योगले नेपालमै पहिलो पटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जनाएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक भएको उद्योगको दावी छ । प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल उत्पादन गर्दै अएको छ । उद्योगले केही समय अघिबाट आफ्नै अत्याधुनिक प्लान्ट मार्फत स्पञ्ज तथा स्क्राप आइरनबाट गुणस्तरीय बिलेटहरु समेत उत्पादन गर्दै आएको छ । नेपालमा रहेका उद्योगले वार्षिक ३० देखि ३२ लाख छड उत्पादन गर्ने क्षमता भएको बताइन्छ । तर, स्वदेशमा वार्षिक १२ देखि १३ लाख टन मात्रै खपत हुने गरेको छ । जसले गर्दा बजार अभावमा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् । भारत निकासीमा सरकारी सहयोग र अनुदान पाए पूर्ण क्षमतामा उत्पादन गरी निकासी गर्न सकिने उद्योगीले बताएका छन् । करिब तीन अर्ब लगानी रहेको श्री स्टील्स उद्योगमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको कार्यकारी निर्देशक अग्रवालले जानकारी गराए । यस अघि पश्चिम नवलपरासीबाट पाल्पा सिमेण्ड उद्योगले भारतमा नेपाली सिमेण्ड निर्यात गर्न शुरु गरेको थियो ।