देश विदेशमा मनाईयो माओ दिवस

बुटवलमा नेकपा मसालको आयोजनामा मनाईयो माओ दिवस

बुटवल, पुस ११ गते । कम्युनिष्टका नेता माओत्सेतुङको १ सय ३० औं माओ दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईएको छ । संसारका कम्युनिष्ट नेता माओको सम्झनामा देश विदेशमा जन्मजयन्ती तथा माओ दिवस मनाईएको छ ।
विभिन्न खेमामा विभाजित कम्युनिष्टहरुले कतै संयुक्त र कतै एकल रुपमा माओत्सेतुङको १ सय ३० औं माओ दिवस मनाएका छन् । बुटवलमा नेकपा मसाल रुपन्देहीले माओ दिवस मनाएको छ ।
सोही कार्यक्रममा बोल्ने कम्युनिष्ट शुभ चिन्तकहरुले माओको बिचार र माओले प्रतिपादन गरेका सिद्वान्तहरु समय सापेक्ष रहेको बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टीको राज्य व्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि माओका बिचारलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए । उनीहरुले कम्युनिष्टको नाममा गैर कम्युनिष्टहरु हावी हुंदै गएकाले त्यसतर्फ सचेत भएर माओले देखाएको बाटोमा कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले नेपालको सन्र्दभमा माओका बिचारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।माओका विचार र माओले प्रतिपादन गरेका सिद्वान्तहरु वैज्ञानिक भएको नेता केसीको तर्क छ ।
कार्यक्रममा वामपन्थी नेता दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, कम्युनिष्ठ संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, टानबहादुर केसी, भिमलाल न्यौपाने लगायतले बोल्दै विश्व कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुराउन माओको भूमिका प्रमुख रहेकाले २१ औं सताब्दीमा पनि माओका विचार र सिद्वान्त समय सान्दर्भिक रहेको बताए ।