सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको साधारण सभा
बुटवल, पुस ३० गते । रुपन्देहीको तिलोत्तमा २ तपाहामा रहेको सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको नवौ वार्षिक साधारण सभा शनिबार भएको छ ।
साधारण सभाले मन्दिरलाई नगरकै नुमना धार्मिक स्थलका रुपमा विकास गर्ने गरी योजना अगाडि बढाउने प्रस्तावलाई पारित गरेको छ ।
राधाकृष्ण र सिद्धेश्वर दुई मन्दिर एकै स्थानमा संचालन हुदै आएको र दुवै मन्दिरलाई धार्मिक स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको मन्दिर संचालक समितिका अध्यक्ष खिलबहादुर पौडेलले जानकारी दिए ।
हिन्दुका धार्मिक पर्वहरुमा विभिन्न सत्संग तथा धार्मिक अनुस्ठानसंगै धर्मिक प्रवचन, भजनकिर्तन लगायतका कार्यक्रम गरेर मन्दिर क्षेत्रलाई पवित्र स्थलका रुपमै विकास गरिने उहाँले बताए ।
मन्दिर संचालक समितिका सचिव प्रेमप्रसाद भुसालको संचालनमा भएको कार्यक्रममा मन्दिरका सल्लाहकार काशिराम काफ्लेले साधारण सभाको उद्घाटन गरे ।
त्यस अवसरमा बोल्दै सल्लाहाकार काफ्लेले समाजलाई नैतिकवान बनाउन धार्मिक सहिष्णुता कायम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कालिका मानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, मन्दिरका दयानिधि पौडेल दुर्गाभवानी मन्दिर संचालक समितिका अध्यक्ष केदार क्षेत्री, पत्रकार खिमानन्द भट्टराई, जानकीनगर महिला समुहका अध्यक्ष देवकी न्यौपाने, जागृति युवा क्लवका अध्यक्ष विदुर केसी, हिमलाल भुसाला लगायतले विभिन्न धर्मजाती तथा भाषाभाषी रहेको मुलुकमा धार्मिक एकता र सहिष्णुताले मात्र समाज विकास सम्भव हुने बताए ।
दुई मन्दिर राधाकृष्ण तीन तले भवनसहित दुई कठ्ठामा स्थापना गरिएको मन्दिर सो क्षेत्रको आस्थाको केन्द्रका रुपमा विकास भएको मन्दिर पुर्ननिर्माण समितिका संयोजक लोकनाथ ज्ञवालीले बताए ।
विभिन्न धार्मिक कार्यक्रम तथा दान संकलन गरी गएको असार मसान्तरसम्म ९ लाख बरावरको बार्षिक कारोवार रहेको तथा अहिलेसम्मको वासलात ५२ लाख रहेको लेखा संयोजक गोविन्द भुसालले जानकारी गराए ।
साधारण सभाको अवसरमा मन्दिर संचालनका लागि सहयोग गर्ने ब्यक्ति, संघसंस्था तथा आजीवन सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
तिलोत्तमा नगरमा पुरानो मन्दिरका रुपमा रहेको मन्दिरमा दैनिक रुपमा धार्मिक कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।