छुटेका मन
दलबहादुर गुरुङ
उडेर छिटो पुग्ने सपना
आफ्न्ती भेट्ने हतारो
पर्वको मेलोमा
सेतीको खोचमा समाहित भएका मनहरु !
न खोजेर भेटिए सग्ला शरीर र अग्ला मन
न गुहार भन्न पाए एक फेर
न पानी भन्न भ्याए एकचोटी !
सुन्दर सपना थिए होलान् उनीहरुका
अमीट प्रेम थिए होलान् बग्रेल्ती !
कसैका साथ ,गाथ र नाथ थिए होलान्
न आकासमा उड्न पाए स्वच्छन्द
न सेतीमा मिसिन पाए सलल
अड्किएर खोचमा
घाँटीमा माछीकाँडा सरि !
विरहको धून बजिरहेछ एकनाश
मथिंगल हल्लिरहेको छ बेसूर
के गरिरहेका होलान् परिवारजन
पिटिपिटी रुँदै होलान् छाती,बाँच्नेहरु
साथीहरु ! अंगालोको प्रतीक्षामा थिए कि ?
आँसुका ढिकाहरु पिउँदै
सोधिरहेको छु –एकवारको जूनीमा
नबोलेर किन बस्छ्यौ ?
आखिर मरिजानेहरुसँग
न बोल्न सकिन्छ
न हाँस्न सकिन्छ
केवल
सम्झनामा रहने त हुन्
आखिर छुटेका मन !