बुटवल उपमहानगरपालिका र स्वास्थ्य संस्थाका अगुवासंग छलफल
बुटवल, ४ चैत । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ ।
छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाई गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरुले सुझाव दिए । स्तरीय स्वास्थ्य सुविधा प्रदानका लागि सरकारी नीतिले साथ दिएमा सरकारी र निजी क्षेत्रको समन्वयमा विशिष्टीकृत सुविधा घरघरमा पु¥याउन तयार रहेको उनीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवासुविधा प्रदान गर्नुपर्ने बताए।
संख्यात्मक भन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरु स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको नगर प्रमुख पाण्डेयले प्रतिवद्वता जनाए ।
उनले नीतिगत हिसाबले बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशसँग समन्वय गरी बुटवललाई स्वास्थ्य क्षेत्रमा सुविधासम्पन्न बनाउनका लागि अगुवाई गर्ने बताए ।
बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।
सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
चैत ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताए ।
यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिएका छन् ।