गणितीय हाजिरीजवाफकालागि तीन विद्यालय छनोट

बुटवल । राष्ट्रिय म्याथमेटिकल क्वीज (गणितीय हाजिरीजवाफ) प्रतियोगिताका लागि यस क्षेत्रबाट दुई सामुदायिक र एउटा संस्थागत विद्यालय छनोटमा परेका छन् । बुटवलमा रहेका कालीका मानव ज्ञान मावि, कान्ति मावि र एभरेष्ट मावि फाइनल राउन्डका लागि छनोटमा परेका हुन् ।
एभरेष्ट इन्जिनियरिगं कलेजको आयोजनामा शुक्रवार भएको क्वीजमा १७ विद्यालयहरुलाई पछि पार्दै कालीका, कान्ती र एभरेष्ट अघिल्लो चरणका लागि छनोटमा परेको कार्यक्रमका संयोजक निरज शर्माले जनाकारी दिए ।
क्वीज संचालन गर्नुपूर्वको कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला शिक्षा तथा विकास तथा समन्वय एकाई प्रमुख दिपेन्द्र ढकालले रचनात्मक कार्यले सृजनशीलता बृद्धि हुने बताए ।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका सचिव लक्ष्मण ज्ञवालीलगाएतले बोल्दै म्याथमेटिकल क्वज जस्तो नयाँ कार्यक्रमले गणित प्रति रुचि जगाउन सघाउ पुग्ने बताए ।
क्वीज कार्यक्रमका बुटवल संयोजक बाबुराम बन्जाडेको सहजीकरणमा प्रतियोगिता सम्पन्न भएको थियो ।
विजेता दुइ जनाका लागि एभरेष्ट कलेजजे पूर्ण छात्रबृत्तिमा बढाउने छ भने एक एक थान ल्यापटपसँगै ५० हजार नगद प्रदान गर्नेछ ।

प्रतियोगिताको फाइनल राउन्ड भने आगामी बैशाख ४ गते काठ्मान्डौमा हुनेछ ।