मदन भण्डारी-जीवराज स्मृतिको दिनमा

– विन बहादुर कुँवर
जेठ 3 गते पूर्व नेकपा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 28 औं स्मृति दिवस हो। आजैको दिन अर्थात 2050 साल जेठ 3 गते चितवनस्थित दासढुंगामा लगी उनीहरु चढेको गाडीलाई त्रिशूली नदीमा दुर्घटना गराई उनीहरूको हत्या गराइएको थियो। यही दिन हरेक वर्ष उनीहरको स्मरणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको स्थिति छ। यो वर्ष पनि राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री केपी ओली लगायत एमालेका थुप्रै नेताहरुले उनीहरु प्रति श्रदान्जली ब्यक्त गर्दै उनीहरूको स्मरणमा आ-आफ्नै विचार र धारणाहरु व्यक्त गरेका छन्। उनीहरुप्रति हरेकवर्ष दिइने यस्ता श्रदान्जली र भनाइ यी केवल औपचारिक मात्र खाली हिन्दू पितृ श्राद्धमा बनाइएका खिरका पिण्ड अर्पण गरिए जस्तै हो। मुख्य कुरा त यी दुई नेता यतिबेला किन र केका लागि अनि कसरी कोद्वारा त्यस्तो घटना गराइएको थियो? वास्तवमा त्यसको तत्य सत्य छानबिन गरी बाहिर आउनु पर्दछ। तर अहिलेसम्म त्यो खै?
त्यसपछि पटक पटक उक्त दलकै नेतृत्वमा सरकार बन्यो। मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र केपी ओली पटक पटक यो देशका प्रधानमन्त्री बने। अझ अहिले त उक्त दलकै तथा मदन भण्डारीको धर्म पत्नी विद्या भण्डारी नै अहिले देशको प्रमुख राष्ट्रपति भएको स्थिति छ। अनि त्यस्तै अहिले करिव 2 तिहाई बहुमत प्राप्त संघीय संसदका प्रधानमन्त्री केपी ओली नै भइसक्दा पनि त्यसको यथार्थ छानबिन नभई त्यो रहस्यमय रहिरहनु कस्तो बिडम्बना? अझ तत्काल त्यो घटनाको तत्य सत्य छानबिनका लागि पार्टीले केपी ओली कै नेतृत्वमा एउटा आयोग बनाएको थियो। तर त्यसको मूल रिपोर्ट अहिले सम्म बाहिर आउन सकेको छैन्। गुपचुप गोप्य नै छ। तैपनि त्यसको रिपोर्टमा पार्टीले त्यसलाई हत्या नै भएको भन्ने ठहर गरेको थियो। यदि त्यो सत्य हो भने मदन भण्डारीकै पत्नी राष्ट्रपति र उक्त छानविन आयोगका नेता प्रधानमन्त्री भएको अवस्थामा यसको बास्ताबिक रहस्यको पर्दाफास अहिलेसम्म किन हुन सकिरहेको छैन?
त्यति बेला त्यो घटनाको बारेमा विविन अड्कलबाजी भएका थिए। कतिपयले त्यो घटनामा दरबारको हात भएको भन्थे भने कतिपयले विदेशी शक्तिकेन्द्र खासगरी भारतीय विस्तारवादको हात रहेको भन्ने गरेका थिए। तर एउटा तत्कालीन एमालेले समर्थन प्राप्त साप्ताहिक पत्रिकाले भने त्यसको बारेमा थुप्रै लेखहरु लेखी तत्कालीन एमाले नेता केपी ओली र उनका श्रीमती बिद्या भण्डारी प्रति लक्षित गरिरहेकै थियो। त्यसका लागि तत्कालीन पार्टी नेता गौतमको हात रहेको भनिन्थ्यो। तर जेहोस् अहिले उक्त घटनाको पुन छानविन गरी वास्तविक तत्य सत्य बाहिर ल्याउने ठूलो अवसर छ। राज्यको प्रमुख राष्ट्रपति, सरकार, अड्डा अदालत, सेना पुलिस सारा का सारा तिनै मदन भण्डारीकै उत्तराधिकारी भनिने नेताहरुकै बाहुल्यतामा नै यो देश चलिरहेको छ। रोक थोक बाधा अर्चन कतै छैन। एक प्रकारले देशमा विद्या भण्डारी र केपी ओलीको राज नै छ। यस्तो बेलामा पनि उनीहरुबाट यो घटनाको वास्तविक छानबिन नभई यो सदा रहस्यकै विषय भइरहनु दुखद छ। तत्काल माथि राष्ट्रपति र प्रधानमन्त्री माथि लगाइएको आरोपको खण्डन गर्ने उपयुक्त मौका नै यही थियो। तर त्यो भइरहेको छैन। यसबाट यिनीहरु सदा शंकाको घेरामा रहिरहने छन्।
आज यही मितिमा यही घटनामा केन्द्रित भई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईले यसको तत्काल छानबिन गरी सत्य तत्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका छन्। हुन पनि उनीहरूले भनेजस्तै समय अति अनुकुल छ। तर उनीहरूले भनेजस्तै के यो सरकारले गर्न सक्ला? हुन त वर्तमान यो देशको वास्तविक राज्यसत्ताको स्वरुप र चरित्र उनीहरु सबैलाई थाहै छ। पटकपटक प्रधानमन्त्री र मन्त्री भइसकेकालाई यो बताई रहनु पर्ने आवश्यकता नै छैन। उनीहरु पनि यस्तै प्रधानमन्त्री ओली जस्तै पटकपटक प्रधानमन्त्री भइसकेका हुन्। के उनीहरुले पनि यो घटनाका विषयमा केही खोज्ने र बुझ्ने प्रयत्न गरे? खाली प्रत्येक वर्ष यस्तै स्मरण गर्नेभन्दा अरु केही देखिएन। बाहिर बसी चिच्याइ चिच्याइ बोल्नु र स्वयं यही सत्तामा बसी बोल्नु र गर्नु अलग कुरा हुन्।
स्वयं डाक्टर भटराईले पनि पूर्व राजा वीरेन्द्रको बंश नास हुँदा त्यसमा तत्कालीन राजा ज्ञानेन्द्रको हात रहेको भनी लेख नै प्रकाशित गरेका थिए।तर त्यो आज राजतन्त्र हटेको र गणतन्त्र आएको छ। त्यसपछि धेरै पार्टीका प्रधानमन्त्री र राष्ट्रपति भएका छन्।स्वयं डाक्टर भटराई कै पार्टी प्रधानमन्त्री भए भने उनी पनि प्रधानमन्त्री भएका हुन्।तर त्यो घटनाको कुनै पनि छानविन भएन। उक्त घटनाका मुख्य नायक भनिएका पूर्वराजा ज्ञानेन्द्र अहिले पनि जीवित छन्। यसप्रति उनलाई केही सोधिएन केही बुझिएन। राज्यले उनलाई ठूलो धनराशी लगानी गर्दै पालन पोषण गर्दै आइरहेको छ। स्वयं डाक्टर भट्टराई अर्थमन्त्री भएका बेलामापनि यस्तै राष्ट्रको ठूलो धनराशि उनै हत्यारा भनिएका ज्ञानेन्द्रको परिवारको पालनपोषणका लागि छुट्टाइएको थियो।
वास्तवमा राज्यसत्ता र सरकार फरकफरक अलग कुरा हुन्। सरकार खाली राज्यसत्ताको एउटा सामान्य स्वरुप मात्र हो। हुन त राज्यको प्रमुख अङ्ग भनेकै राज्यसत्ता हो। नेपाल राज्यको केही रूप बदलिए पनि मूल राज्यसत्ताको स्वरुप र चलचित्र बदलिएको छैन। उही पुरानै सामान्ती र नोकरशाही बुर्जुवा प्रकार कै छ।खाली बतल फरक रक्सी उही । त्यसैले सत्ता र सरकार बाहिर बस्दा सडकबाट क्रान्ति र जनताको पक्षमा बोल्ने तर सत्ता र सरकारमा पुगेपछि ती सबैलाई बिर्सदै त्यही सत्ताकै दलाली र चाकडी गर्ने दलीय परम्परा नै यहाँ चल्दै आइरहेको छ। आफैंले हत्या गरिएको भनिएको दासढुंगा र नारायणी दरबार हत्याकाण्डको बारेमा पूर्ण यथार्थ छानविन गरी सत्य तत्यको यतार्थ विवरण ल्याई अपराधीलाई कडा कारवाही नगरी उल्टै प्रत्येक वर्ष खाली उनीहरुको सालिकमा फूलमाला मात्र लगाई आत्मरति गर्नुको कुनै अर्थ छैन।त्यसका लागि त वर्तमान यो सामन्ती, दलाल र नोकरशाही राज्यसत्ताको ध्वंस गरी नयाँ जनवादी राज्यसत्ताको आवश्यकता छ। तब मात्र यस्ता घटनाहरूको एकएक गरी छानविन गर्दै सत्यतथ्य बाहिर ल्याई अपराधी सबैलाई उचित कारबाही हुनेछ।
मिति:२०७८/०२/०३