प्यूठान रुपन्देही सम्पर्क मञ्चद्वारा ४२ युनिट रगत संकलन

बुटवल, असार २७ । प्यूठान – रुपन्देही सम्पर्क मञ्चले आइतबार बुटवलमा रक्तदान गरेको छ । मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । प्यूठानबाट अस्थायी वा स्थायी रुपमा रुपन्देहीको बुटवल लगायत विभिन्न ठाउंवा बसोवास गर्दै आएका प्यूठानीहरुको संस्था सम्पर्क मञ्चले नियमित रुपमा रक्तदान गर्दै आएको छ ।

रगतको अभाव हुन नदिने उद्वेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको मञ्चका अध्यक्ष श्यामलाल पोखरेलले जानकारी गराउनुभयो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।

सोही रक्तदान कार्यक्रममा बोल्दै प्यूठान रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेलले रगतको अभावले कसैको पनि ज्यान नपर्ने गरी रक्तदान कार्यक्रमलाई सबैले महत्व दिनुपर्ने बताउनुभयो ।

रक्तदान जीवन दान भन्ने नारालाई पूर्णता दिनका लागि समाजमा क्रियाशील सबै संघसस्थाहरुले रक्तदान कार्यक्रमलाई नियमित गर्नुको विकल्प नभएको बताउनुभयो ।

मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष पदमप्रकाश जीसीको स्वागत र कार्यक्रम संयोजक अमर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । डेनिस क्लिनिक, लुम्बिनी सिटी अस्पताल र मर्शि सिटी अस्पतालको सहयोगमा रक्तदान गरिएको हो ।