बुटवलको मुख्य सडक खाल्डै खाल्डाले कुरुप

बुटवल, भदौ १५ । रुपन्देहीको बुटवलमा पर्ने मुख्य सडकमा परेका खाल्डैखाल्डाले सवारी साधन चलाउन र हिडडुल गर्न समस्या हुने गरेको छ । बुटवलको राजमार्गचौराहादेखि गोलपाकसम्को सडक भत्किएर ठूला ठूला खाडल बनेका छन् । सडकमा खाल्डा परेको लामो समयसम्म पनि सामान्य पनि मर्मतसमेत हुन सकेको छैन ।

बुटवलको मुख्य सडक नै भत्किएर गाडी गुडाउन र हिड्न नसक्ने अवस्था भएपछि नागरिकले सरकार र आधिकारिक निकायहरुको चर्को आलोचना गर्दै आएका छन् । सडकको विषयलाई लिएर चौतर्फ रुपमा नागरिकले बिरोध गर्न थालेपछि लुम्बिनी अस्पताल अगाडीको सडकमा परेका खाडलहरुमा सामान्य मिस्कट खनाएर नागरिकको आंखामा छारो हाल्ने काम भएको छ । तर पानीमाथि नै मिस्कट खसालेपछि झनै समस्या उत्पन्न भएको छ, भने खाडलहरु पुरिएका छैनन । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्टैखाल्टा परेका छन् ।

लुम्बिनी प्रदेशको अस्थायी मुकामको अगाडी नै सडम भत्किएर परेका खाडलसमेत मर्मत हुन नसकेपछि प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र सडक विभागको नागरिकले खुलेर बिरोध गर्ने गरेका छन् । लामो समय अगाडीदेखि सडक भत्किएर बनेका खाडल परेको सडक प्रयोग गरेर प्रदेशका मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सांसद र नेताहरु दिनैन ओहोरदोहोर गर्ने गरेका छन् । तर सडक बनाउनेप्रति कसैको ध्यान जान सकेको छैन । सधै उत्कृष्ट हुने बुटवल उपमहानगरपालिका पनि सडकप्रति बेखवर छ, भने लुम्बिनी प्रदेश सरकारले पनि कुनै चासो दिएको देखिदैन ।

सडक बनाउनेप्रति कसैको ध्यान नजांदा सडक प्रयोग कर्ताले सास्ती भोग्नु परेको छ । खाल्टा खुल्टीका कारण मोटरसाइकल र साना सवारी साधन गुडाउन निकै सास्ती भोग्नु परेको सवारी चालक कमल जीसीको गुनासो छ । वर्षातको समयमा हिलो र हिउदको समयमा धुलोका कारण ठूलो जोखिम मोलेर सडक यात्रा गर्नुपर्ने बाध्यता छ । सडकमा परेका खाल्टाका कारण दुर्घटनाको जोखिम बढेपनि सबै आधिकारिक निकायहरु मौन छन् ।