लम्पी स्किन रोगबाट क्षति बेहोरेका किसानलाइ सरकारले राहत दिन सकेन


बुटवल, साउन ६ गते । लम्पी स्किन माहामारीबाट अर्बौंको क्षति बेहोरेका किसानले राहत पाएका छैनन् । गत साल लम्पी स्किन रोगबाट भएको क्षतीको किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन् । लम्पी स्किन माहामारीबाट देशभरमा करिब ९० अर्ब बराबरको क्षति हुनसक्ने नेपाल पशु चिकित्सा परिषद्को अध्ययनले देखाएको छ ।

लम्पी स्किन माहामारीबाट महामारीबाट किसानले कति क्षति बोहोरे भन्नेबारे राज्यसंग एकीन तथ्यांक छैन । जसले गर्दा पशुपालक किसानहरु मारमा परेका छन् । पशु सेवा विभागका अनुसार गत वर्ष १५ लाखभन्दा धेरै गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको थियो । जसमध्ये ६५ हजारभन्दा धेरै पशु मरेका थिए । मन्त्रालयले क्षतिको विवरण संकलन गर्न नेपाल कृषि अनुसन्धान परिषद्लाई जिम्मा दिएको थियो । तर, अहिलेसम्म तथ्यांक संकलन छैन । गोठ रित्तिएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म किसानलाई राहत रकम उपलब्ध गराउन सरकारले सकेको छैन ।
कृषि मन्त्रालयका अनुसार पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनेबारे अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । क्षतिपूर्ति नपाउंदा कतिपय किसान पशुपालनबाट पलायन हुने अवस्थामा पुगेका छन् । किसान पीडामा हुंदा पनि सरकारले क्षतिपूर्ति नदिएर गैरजिम्मेवार बनेको गुनासो कृषक महासंघका अध्यक्ष उद्धव अधिकारीले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षभन्दा यो वर्ष लम्पी स्किनको खतरा कम रहेको छ ।

सरकारी तथ्यांक अनुसार नेपालमा यो वर्ष लम्पी स्किन रोग देखिएको छैन । गत वर्ष लम्पी स्किन लागेर ठिक भएका पशुहरूमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता विकास भइसकेको पशु चिकित्सक लोकराज भुसालले बताए । लम्पी स्किनको संक्रमण देखा परेका र जोखिममा रहेका जिल्लाहरुलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसंग मिलेर लम्पी स्किनबारे जनचेतना चलाउने, बच्ने उपाय र उपचारका विषयमा काम गर्दै आएको छ । लम्पी स्किन माहामारीबाट लुम्बिनी प्रदेशमा ९ हजार ६ सय ३१ वटा पशु मरेका छन् ।
क्याप्रिपक्स भाइरसअन्तर्गत लम्पी स्किन डिजिज भाइरसका कारण गाई,गोरु, रागा, भैंसीमा लाग्ने रोग नै लम्पी स्किन रोग हो । पशु चिकित्सकहरुका अनुसार लम्पी स्किन रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिंगा, लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, संक्रमित पशु एक स्थानबाट अन्यत्र लैजांदा वा संक्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सर्न सक्छ ।