मनाईयो पुष्पलालको स्मृति विवस

बुटवल, साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस मनाईएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा मसाल, नेकपा एकीकृत समाजवादी, नेकपालगायत सबै कम्युनिष्ट घटकहरुले आआफ्नै तरिकाले पुष्पलालको ४६ औं स्मृति दिवस मनाएका छन् ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस विदेशमासमेत मनाईएको छ । विभिन्न कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीका भातृ संगठनले विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएका हुन् । पुष्पलालको अगुवाईमा विसं २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

कम्युनिष्ट पार्टी स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्दै वर्गविहिन राज्य व्यवस्था सामान्यबाद स्थापना गर्ने लक्ष्य राख्नुभएको थियो । पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका छ । नेता पुष्पलाल पञ्चायत कालमा निर्वासनमा पर्नुभएको थियो । पुष्पलालको जन्म विसं. १९८१ असार १५ गते रामेछापमा भएको थियो । २०३५ साल साउन ७ गते पुष्पलालको भारतमा निधन भएको थियो ।

निर्वासनका बेला भारतमा निधन हुनुभएका पुष्पलालको शव नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति दिएको थिएन । स्व. कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा पहिलो पटक अनुवाद गर्नुभएको थियो । पुष्पलाल वैचारिकरुपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । जनमतका हिसाबले नेपालमा कम्युनिष्टहरुको संख्या बढी भएपनि विभिन्न खेमामा विभाजन हुंदा कम्युनिष्ट पार्टी स्थापनाको पुष्पलाले देखेका सपना पुराहुन सकेका छैनन् ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण छ ।
नेपाली क्रान्तिका न्यूनतम कार्यक्रम नयां जनवादी क्रान्ति र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य राखेर कम्युनिष्ट पार्टी स्थापाना गर्ने पुष्पलालको लक्ष्य थियो ।

पुष्पलालको नाममा सरकारले हुलाक टिकटसमेत निकालेको छ ।