रक्तदातालाई बुटवलमा सम्मान, निःशुल्क रगत वितरण गर्न माग

रगत संकलनमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही उत्कृष्ट

   बुटवल, साउन १२ गते । रक्तदान गर्ने विभिन्न संघसस्था, व्यक्ति र सहयोगदातालाई बुटवलमा सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले शनिबार ५९ औं रक्त सञ्चार दिवसको अबसरमा रक्तदाता र सहयोगदाताहरुलाई सम्मान गरेको हो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल र रक्त सञ्चार सेवा एकाई भैरहवामा रक्तदान गर्ने रुपन्देहीका विभिन्न संघसस्था, जन्मदिन, पुण्य स्मृतिमा रक्तदान गर्ने व्यक्ति र रक्त सञ्चार सेवा केन्द्रलाई आर्थिक, भौतिक सहयोग गर्नेहरुलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

एक सय बढी युनिट रगत संकलन गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको हो ।रक्त सञ्चार दिवसको अबसरमा रक्तदाता संघसस्था र व्यक्ती गरी ५३ जनालाई सम्मान गरिएको रक्त सञ्चार सेवा केन्द्र बुटवलकी इन्चार्ज राधा शर्मा ज्ञवालीले जानकारी गराईन । इन्चार्ज राधा शर्मा ज्ञवालीका अनुसार २०८०।०८१ को एक वर्षको अबधीमा रुपन्देहीमा ४ सय ५६ वटा संघसस्थाले ६ सय ५३ पटक रक्तदान गरेका थिए ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल र रक्त सञ्चार सेवा एकाई भैरहवामा एक वर्षमा ३१ हजार ६ सय ७९ युनिट रगत संकलन भएको थियो । जसमा २६ हजार ९ सय ३९ जना पुरुष र ४ हजार ७ सय ४० जना महिलाले रक्तदान गरेका छन् । प्रदेश सरकारले रगत निःशुल्क गरेपछि रुपन्देहीका सरकारी अस्पतालमा उपचार गराउने विरामीका लागि ११ हजार ५ सय ४८ युनिट रगत निःशुल्क वितरण गरिएको छ । त्यस्तै सामूदायिक र नीजि अस्पतालहरुमा उपचार गराउने विरामीका लागि २३ हजार ६९ युनिट रगत वितरण गरिएको छ ।

५९ औं रक्त सञ्चार दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले रगतलाई निःशुल्क बनाउनु पर्ने बताउंदै रगत वितरण सेवालाई सहज बनाउनु पर्ने बताए । निःशुल्क जम्मा भएको रगत विक्री गर्न नहुने र रुपन्देहीकालाई सहज रुपमा रगत दिने र रुपन्देही बाहिरका जिल्लाका विरामीलाई रगतको पैसा लिने र सटमा रगत दिने काम तत्काल बन्द गर्नुपर्ने सरोकारवालाहरुको माग छ ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर सावीत्रादेवी अर्यालले बुटवल उपमहानगरले रगत निःशुल्क गर्न घोषणा गरेको बताइन । रगत संकलन र वितरणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिंदै उनले भनिन् भौतिक विकाससंगै मानवीय सेवाको विकास गर्नुपर्छ । रगत जस्तो अमुल्य पदार्थलाई हलका रुपमा नलिन उपप्रमुख अर्यालले आग्रह गरिन् ।

गुल्मी चन्द्रकोट गाउंपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले चन्द्रकोटका सबै नागरिकको लागि रगत निःशुल्क गरिएको बताउंदै रगतको पैसा गाउंपालिकाबाट उपलब्ध गराइने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीले रगतलाई सहज रुपमा निःशुल्क गराउन लागि परिएको बताउंदै सरकारले तोकेको भन्दा कम रकम लिएर रगत दिने गरिएको बताए । उनले रक्तसञ्चार सेवा केन्द्र सञ्चालन र रक्तजन्य केही आवश्यक समान थप किन्नु पर्ने भएकाले पनि थोरै शुल्क लिएर रगत दिने गरिएको उनको भनाइ छ ।

नेपाल नियमति रक्तदाता संघका केन्द्रिय अध्यक्ष दयाबहादुर सिलवाल र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको पैसा लिन नहुने बताए । उनीहरुले रगतमा पनि सरकारले विभेद गरेको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सरकारले रगत निःशुल्क दिन नसके अनुमति दिए हामीले सबै नागरिकलाई निःशुल्क रगत वितरण गर्ने बताए । निःशुःल्क रुपमा संकलन भएको रगतको पैसा लिन नपाइने बताउंदै रक्तसंकलन अभियानका अभियान्तासमेत रहेका कृष्ण चौहान क्षेत्रीले रक्त सञ्चार सेवा केन्द्रले तोकेको भन्दा बढी रकम असुल गरेर रगत बेच्ने गरेको दावी गरे ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे,नेपाल रेडक्रस सोसाइटी रुपन्देही उपसभापति रुकमाकुमारी हिराचन, सैनामैना नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी अर्घाखांचकिा सभापति कुशल भुसाल लगायतले बोल्दै रगत निःशुल्क गर्न माग गरेका छन् ।

रुपन्देहीमा क्रियाशील नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही एक वर्षको अबधीमा सबै भन्दा बढी ३ हजार १ सय ८१ युनिट रगत संकलन गरेर रुपन्देहीमा उत्कृष्ट भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षता र रुपन्देही मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम भएको हो ।