रुपन्देहीको सियारीमा लालपूर्जा वितरण, सर्वसाधारण खुशी
बुटवल, साउन १३ गते । रुपन्देहीको सियारी गाउंपालिका अन्तरगत रहेका गाउंब्लक जग्गाको जग्गाधनी लालपूर्जा वितरण गरिएको छ । लामो समयदेखि जोतभोक गर्दै आएका तर जग्गाधनी लालपूर्जा नपाएका जग्गाधनीहरुलाई जग्गाधनी लालपूर्जा वितरण गरिएको हो ।
आइतबार गाउंपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरी लालपूर्जा वितरण गरिएको हो । लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारी र गाउंपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले संयुक्त रुपमा जग्गाधनी लालपूर्जा वितरण गरेका हुन् ।सियारी गाउंपालिकाको १९ ब्लकबाट ५ सय ५३ वटा जग्गधनी लालपूर्जा वितरण गर्न थालिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारी र गाउंपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आइतबार २३ जनालाई जग्गाधनी लालपूर्जा वितरण गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले गाउंब्लकका जग्गाहरुको प्रक्रिया पुराएर सबैलाई जग्गाधनी लालपूर्जा वितरण गरिने बताए ।
लामो समयदेखि उपभोग गर्दै आएको जग्गाको जग्गाधनी लालपूर्जा सबै ठाउंमा वितरण गरिने मन्त्री अधिकारीले आश्वासन दिए । लुम्बिनी प्रदेश सरकार गाउंब्लकको जग्गा उपयोग गर्दै आएका सर्वसाधारणलाई सहज रुपमा जग्गाधनी लालपूर्जा दिने विषयमा प्रदेश सरकार गम्भीर छ भने ।
सियारी गाउंपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जग्गा उपभोग गरेपनि लालपूर्जा नपाएका किसान तथा सर्वसाधारण नागरिकलाई लालपूर्जा वितरण गरिने बताए ।
अध्यक्ष घिमिरेले अहिले वितरण गर्न लागिएका ५ सय ५३ वटा जग्गाधनी लालपूर्जा क्रमस सबैलाई वितरण गरिने र जग्गाको मालिक बनाउने बताए ।
नापी कार्यालय भैरहवाका प्रमुख सुग्रिम यादवले क्रमस नियमपूर्व गाउंब्लक जग्गाको लालपूर्जा दिइने बताए । लामो समयदेखि जग्गाको उपभोग गर्दै आएका सर्वसाधारण नागिरक तथा किसानहरु जग्गाधनी लालपूर्जा पाएपछि खुशी भएका छन् ।