कम्युनिष्ट नामधारीले गरे पुष्पलालको नाममा व्यापार
बुटवल, साउन १६ गते । नेकपाका संस्थापक नेता पुष्पलालका विचार, नीति र कार्यक्रम व्यवहारमा आउन नसकेको वामपन्थी नेताहरुले बताएका छन् । आफुलाई कम्युनिष्ट भन्नेहरुबाटै पुष्पलालका क्रान्तिकारी विचार, नीत र कार्यक्रम ओझेलमा परेको उनीहरुको भनाइ छ ।
श्रमिक कम्युनिष्ट पार्टी नेपालले बुटवलमा आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालका योगदान विषयक विचार गोष्ठीमा बोल्ने वक्ताले कम्युनिष्टको नाममा पुष्पलाललाई बझाएर खाने धेरै भएको बताए । पुष्पलालको अगुवाईमा स्थापना भएको कम्युनिष्ट पार्टीको मुल उद्देश्य अनुसार कम्युनिष्ट पार्टीहरु चल्नुपर्ने उनीहरुको साझा धारणा छ ।
सोही कार्यक्रममा श्रमिक कम्युनिष्ट पार्टी नेपालका नेता अशोक सुवेदीले अबधारण पत्र प्रस्तुत गरेका थिए ।
अबधराण पत्र प्रस्तुत गर्दै नेता अशोक सुवेदीले कम्युनिष्ट पार्टीको नीति, सिद्दान्त छोडिसकेका कतिपय कम्युनिष्टले पुष्पलालको नाममा व्यापार गरेर पार्टी चलाएको बताए । उनले नामधारी कम्युनिट पार्टीका कारण नेपालमा सही प्रकारको कम्युनिष्ट आन्दोलन ओझेलमा परेको बताउंदै पुष्पलालले अगाडि सारेका क्रान्तिकारी विचार र कार्यक्रम व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
श्रमिक कम्युनिष्ट पार्टी नेपालका संयोजक पूर्णबहादुर सिंह “समरजङ्ग“ ले श्रमिक कम्युनिष्ट पार्र्टी पुष्पलालको सच्चा क्रान्तिकारी उत्तराधिकारी पार्टी रहेको दावी गरे ।पुष्पलालले सामन्तवाद, विस्तारवाद, दलाल पुंजीवाद, साम्राज्यवादको उत्पीडनबाट देश र जनतालाई मुक्ति कम्युनिष्ट व्यवस्था कायम गर्न पुष्पलालका नीति कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।श्रमिक कम्युनिष्ट पार्टीले विकसित वैज्ञानिक समाजवादी जनक्रान्तिको माध्यमबाट क्रान्ति पूरा गर्ने दावी गरे ।
उक्त विचार गोष्ठीमा माक्र्सवादी चिन्तक तथा लेखक दिल साहनी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल, नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री, साहित्यकार एवं उपप्राध्यापक ऋषिराम भुसाल, वामपन्थी नेता बिनबहादुर कुंवर, नेकपा एकीकृत समाजवादीका श्रीराम यादव, पत्रकार डाक्टर बालकृष्ण चापागाई, माधव गौतमलगायतले बोल्दै कम्युनिष्ट आन्दोलनमा पुष्पलालको सही मुल्याकंन हुनुपर्ने र भैरहेको बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा यहांसम्म आउनु पुष्पलालको देन रहेको बताउंदै पुष्पलाल उच्च सम्मानि व्यक्ति भएको उनीहरुको भनाइ छ । श्रमिक कम्युनिष्ट पार्टी सम्मेलन आयोजक समितिका सदस्य विनोद थापाको अध्यक्षता र मुक्ति गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।