कम्युनिष्ट नेता खगुलाल गुरुङको निधन
बुटवल, असोज ३ गते । प्यूठानका कम्युनिष्ट नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार बिहान करिब ८ बजे बुटवलमा उपचारका क्रममा निधन भएको हो । नेता गुरुङलाई कोरोना पोजिटिभ देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गएको बुधबार बुटवल ल्याइएको थियो । प्यूठान अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल ल्यायएको हो ।
राष्ट्रिय जनमोर्चाले स्व. खगुलाल गुरुङको शवलाई बुटवलबाट प्युठान लैजाने तयारी गरेको छ । प्युठानको गौमुखी गाउँपालिका–७ कोइरा निवासी गुरुङको भोलि (सोमबार) अन्त्येष्टि गरिने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले जानकारी दिएका छन् ।
नेकपा (मसाल) मा आवद्ध रहेर नेपालको कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान पुराएका गुरुङले यही भदौ २५ गते आफ्नो १ ०४ औं जन्मदिवस मनाएका थिए । २०१० सालमा प्यूठानमा सञ्चालन भएको किसान आन्दोलनको नेतृत्व गर्न सफल भएका थिए । जुन किसान आन्दोलन नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण मानिन्छ ।
सबैका मनमा बसेका खगुलाल
खगुलाल गुरुङ प्युठानको कम्युनिष्ट आन्दोलनका एक महत्वपूर्ण व्यक्तित्व हुन । प्युठानमा वि.स. २०१० मा प्रभावशाली किसान आन्दोलन चलेको थियो । उक्त किसान आन्दोलन वर्ग संघर्षको एउटा स्वरूप थियो । प्युठानको कम्युनिष्ट आन्दोलनको जन्म भएको थियो । सबैलाई विदितै छ कि प्युठानको कम्युनिष्ट आन्दोलन नेपाली कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण अंग हो । नेपाली कम्युनिस्ट आन्दोलनबारे अध्ययन र अनुसन्धान गर्ने बेलामा प्युठानको कम्युनिष्ट आन्दोलनको अध्यायलाई छोड्न सकिन्न र मिल्दैन । जुन आन्दोलनको धरोहर मध्येका एक थिए खगुला गुरुङ । मोहनविक्रमसिंहको नेतृत्वमा भएको उक्त किसान आन्दोलनमा खगुलाल गुरुङको भूमिका महत्वपूर्ण रहेको छ ।
आफ्नो एक शताब्दी उमेरमध्ये जुन दिन खगुलाले आफूलाई कम्युनिष्ट आन्दोलनमा समर्पित गरेका थिए । त्यस दिनदेखि नै निरन्तर कम्युनिष्ट आन्दोलन र नेकपा मसालमा वफादार रहंदै नेपालको कम्युनिष्ट आन्दोलनसंग अटुट नाता कायमा राख्न सफल भए स्व. खगुलाल । सल्यान कब्जा गर्ने आन्दोलनमासमेत खगुलालको सक्रियता थियो ।
जन्म, बाल्यकाल र बसाइँसराइ
खगुलालको जन्म १९७५ भदौ २८ गते तत्कालीन बाग्लुङ जिल्लाको खारा (हाल प्युठान जिल्ला अन्तर्गतको गौमुखी गाउंपालिकामा पर्ने) खरामा भएको थियो, पछि बसाइँसराइ नारीकोट कोइरामा भएको थियो । बुबा नरबहादुर गुरुङ र आमा हस्तीदेवी गुरुङको साइलो सन्तानको रूपमा जन्मिनु भएका खगुलालको बाल्यकाल संघर्षपूर्ण ढंगले व्यतित भएको थियो ।