बुटवल बजार चलायमान बनाउन नयां शहरको अवधारणा
बुटवल, भदौ २४ भदौं । बुटवलको विकासका लागि योजनाबद्ध नयां कार्यक्रम र लक्ष्य तयार गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । चलायमान वजारका लागि परम्परागत योजनाले काम गर्न नसक्ने बताउदै बुटवलको वजारलाई चलायमान बनाउनका लागि नयां शहरको अवधारणासहित योजनाबद्ध कार्यक्रम तयार गर्नु पर्ने माग गरिएको छ ।
रुपन्देही व्यापार संघले सोमवार बुटवलमा आयोजना गरेको बुटवल वजारको वर्तमान अवस्था र आगामी सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बुटवलको वर्तमान अवस्था व्यवसायीक तथा व्यापारीक हिसाबले खस्कदो अवस्थामा रहेको उल्लेख गर्दै त्यसको रक्षाका लागि नया ढंगको सोचको आवश्यक्ता भएको बताएका थिए । उनीहरुले व्यवसाय सञ्चालनमा देखिएका कठिनाई र अवरोधहरु कुनै एउटा कारणले मात्र नभएर विभिन्न कारणहरुबाट भएको बताउदै त्यसको समाधानका लागि योजनावद्ध कार्यक्रमहरु जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर पौडेलले बुटवलको भविश्य यहाको व्यापार व्यवसायसंग जोडिएको हुदा त्यसलाई व्यवश्थित बनाउने र त्यसभित्रका समस्याहरुलाई पहिचान गरि समाधान गर्न लाग्नु पर्ने बताए ।
बुटवल वजारको वर्तमान खस्कदो अवस्थाले सबैलाई चिन्तित बनाएको हुंदा आगामी भविश्य सुरक्षितका लागि घरधनी, व्यापारी तथा स्थानिय सरकारवीचको सहकार्य जरुरी छ भने । व्यवसायमा आएको परिर्वतन र चर्को घरभाडाले व्यवसाय गर्न निकै कठिनाई उत्पन्न भएकोतर्फ सचेत बन्न वडाध्यक्षले आग्रह गरे ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल वजारको खस्दो अवस्थाबाट माथि उठाउनका लागि सिमाबाट हुने चोरी पैठारी रोक्दै व्यवसायमा विविधिकरण गर्न आग्रह गर्दै वजार क्षेत्रमा रहेको ट्राफिक समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संघ अध्यक्ष दिपककुमार अधिकारीले चर्को घरभाडासंगै विभिन्न कारणले व्यापार व्यवसाय खस्कदै जादा बुटवलको वजारबाट धेरै व्यवसायीहरु पलायन र विस्थापित हुने अवस्था सिर्जना भएको बताउदै बुटवल वजारमा झण्डै ४ सय सटर खाली भई भाडामा लाग्न सक्ने अवस्था आएको उल्लेख गरे । यसरी सटर खाली हुंदा एकातिर घरधनीको आम्दानीको स्रोत घटेको छ भने अर्कोतिर उपमहानगरपालिकाले ठूलो अंकमा राजस्व समेत गुमाएकोतर्फ सबैलाई सचेत गराउदै वुटवल वजारलाई बचाउन वहालमा दिने र बस्ने पक्षवीच सम्बन्ध प्रगाढ र सुमधुर बनाउनु जरुरी रहेकोमा जोड दिए ।
अध्यक्ष अधिकारीले बुटवल वजारलाई बचाउने दायित्व स्थानिय सरकारको भएको हुदा यहाका व्यवसायी र घरधनीवीच समन्वयको काम गर्न आग्रह गर्दै स्थानिय सरकारको भूमिकाले वजारलाई बचाउन धेरै भूमिका खेल्ने हुदा त्यसमा गम्भिर बन्न सुझाव दिए ।
कार्यक्रममा संघकोतर्फबाट अवधारणा प्रस्तुत गर्दै प्रथम उपाध्यक्ष दयानिधि भण्डारीले कुनै वेला प्रमुख चलायमान व्यापारिक केन्द्रका रुपमा रहेको कपिलबस्तु र अर्घाखाचीको सिमामा रहेको पत्थरकोट वजार समयमै दुरदृष्टि राख्न नसक्दा विरासत गुमाएको अवस्थामा पुगेको बताए ।
कार्यक्रममा घरवहाल सरोकार संघका अधयक्ष राजु लिगल, बुटवल उपमहानगरपालिका वडा नं. १० का सदस्य रमेश अधिकारी, घरधनी रामकाजी श्रेष्ठ, व्यवसायी प्रकाश भण्डारी लगायतले आआफ्ना भनाइ राखेका थिए ।
संघका अध्यक्ष दिपककुमार अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्तको सञ्चालन र प्रथम उपाध्यक्ष दयानिधि भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।