चोर ढोकाबाट शुद्धीकरणको प्रस्ताव
उदय जीएम
बुटवल, भददौ २५ गते । पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभामा कुन महाशयको दिमागको उपज हो कुन्नी ? अचानक चोर ढोकाबाट शुद्धीकरण समितिको प्रस्ताव आयो ।
त्यो प्रस्तावबारे केन्द्रीय सदस्यहरु र अरु पदाधिकारीहरुको त कुरै छोडौं, महासचिवलाई समेत जानकारी रहेनछ । महासचिव हलबाहिर निस्केर उक्त प्रस्तावको साँकेतिक विरोध गर्नुभयो ।
संगठनात्मक कामहरु गर्नका लागि महासचिवको नेतृत्वमा महासंघको आफ्नै संरचना छ, संगठन समिति । प्रष्टै छ, यसले महासचिवको भूमिकालाई संकुचित बनाउँथ्यो । पछि महासचिवलाई के भनेर फकाइयो कुन्नी ? थाहा छैन । पछि उहाँ पनि चुुप लाग्नुुभयो । आफै पदाधिकारी भएर साधारणसभा चलिरहेकै बेलामा विरोधमा उत्रन पनि गाह्रो हुँदोरहेछ ! महासंघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामा पदाधिकारी आफै विरोधमा उत्रनुु पक्कै शोभनीय हुँदैनथ्यो ।
महासंघको आफ्नै संरचना अर्थात संगठन समितिमार्फत महासंघले आफै गर्ने काममा अरुलाई बाउरे लगाउँदा असहज हुुने आँकलन त गरिएकै थियो । यतिसम्म जटिल र गम्भीर मोडमा महासंघ आइपुुग्ला भन्ने चाहिँ सोंचिएको थिएन ।
शुद्धीकरणलाई काम्लोमा मुछिएको सातु बनाइयो ।
तिललाई पहाड बनाइयो । गिजोल्ने दुस्प्रयासहरु भए तर महाधिवेशनसम्म आइपुुग्यो । महासंघको विधानअनुसार महाधिवेशनमा नेतृत्व चयन नहुने भएकाले जेनतेन महाधिवेशन भव्यतापूर्वक नै सम्पन्न भयो । विधानतः महाधिवेशनभन्दा ६ महिना पहिले सदस्यताको विषय टुुंगोमा पुगिसक्नुु पथ्र्यो । विडम्बना ! यो विषयले समयरेखा नाघिसकेको थियो । आखिर, आफ्नो काममा बाउरे लगाउँदाको परिणाम दुःखद निस्कियो ।
जब निर्वाचनको प्रसंग आयो, तब तेरा सदस्य यति र मेरा सदस्य यति भन्ने विषयले प्रमुखता पायो । दृश्य÷अदृश्यरुपमा सत्ता गठबन्धनसँग पनि महासंघको निर्वाचन जोडिने भएकाले सञ्चार संगठनहरुले फाइदा÷बेफाइदाको पनि जोडघटाउ गरे । सदस्यताकै विषय उछालेर युनियनकै पदाधिकारी र केन्द्रीय सदस्यहरुको नेतृत्वमा आफ्नै नेतृत्वको विरोधमा महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरियो ।
दुईपटकसम्म स्थगित भइसकेको महासंघको निर्वाचन आगामी असोज ५ गते तोकिएको छ ।
तेस्रोपटकको मितिमा पनि निर्वाचन गराउन नसकिने अवस्था आएपछि अध्यक्ष विपुल पोख्रेलले आजै पदबाट राजीनामा दिनुभएको छ । जे नहुनु थियो, त्यही भएको छ । जुनसुकै बहानामा भए पनि महासंघलाई अनिर्णयको बन्दी बनाइनु दुःखद छ ।