धनवर्षा सहकारीद्वारा स्वास्थ्यलाई प्राथमिकता

धनवर्षाको ११ औ वार्षिक साधारण सभा सम्पन्न

बुटवल, असोज २३ । कोराना महामारीका कारण मारमा परेका शेयर सदस्यहरुलाई व्याज असुलीमा सहुलियत दिएको बुटवलको मैनानगरमा सञ्चालित धनवर्षा बचत तथा ऋण सहकारीले अहिले शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यान दिएको छ । शेयर सदस्य र समूदायको हितमा काम गर्दै आएको धनवर्षा सहकारीले कोरानाको मारमा परेका शेयर सदस्यहरुलाई गत वर्ष व्याजमा १० देखि १२ प्रतिशत व्याज छुट दिएको थियो ।
२०७६ चैत्र ११ गतेदेखि लकडाउन भएपछि सहकारीमा आवद्व शेयर सदस्यहरु आर्थिक गतिविधिमा संलग्न नभएको अवस्थामा व्याज छुट दिएको हो ।
अहिले धनवर्षा सहकारीले आफ्ना शेयर सदस्यहरुको होलबडी चेकको व्यवस्था गरेको छ । बुटवलको नेशनल प्याथ ल्यावमा शेयर सदस्यहरुका लागि आगमी कार्तिक ३० गतेसम्म होलबडी चेक गर्ने व्यवस्था मिलाएको छ , धनवर्षा सहकारीले ।
७ सय ३५ जना शेयर सदस्य रहेको धनवर्षा सहकारीले आफ्नो ११ औं वार्षिक साधारण सभाको अवसरमा स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । विगतका वर्षहरुमा पनि शेयर सदस्यहरुका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको धनवर्षाले शेयर सदस्यहरुका लागि सुत्केरी भत्ता, जेष्ठ नागरिक सम्मान र स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखेको छ ।
यही असोज २० गतेबदेखि विभिन्न कार्यक्रमको आयोजना गरी धनवर्षा सहकारीले २३ गते शनिबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष नारायणप्रसाद ज्ञवालीको अध्यक्षता, सचिव रमेश गुरुङको सञ्चालन, उपाध्यक्ष राधाकृष्ण देउजाको स्वागत र सहकारीका संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकीको प्रमुख आतिथ्यामा ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सोही कार्यक्रममा बोल्दै सहकारिका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार भोजबहादुर बुढाथोकीले सहकारी सञ्चालनमा सबै शेयर सदस्यहरुले चासो दिनुपर्ने र सञ्चालकहरु अनुशासित हुनुपर्ने बताए ।
नियमपूवर्क सहकारीका सिद्वान्तहरुलाई पालना गरी सहकारी सञ्चालन गर्न सके सहकारीले मुनाफा दिएर शेयर सदस्यहरु आत्मनिर्भर बन्न सक्ने बताए ।
कार्यक्रममा सहकारीका सल्लाहाकार दिनेश पाण्डे, पे्रमबहादुर फौजा, नवराज पौडेल, विष्णु श्रेष्ठ लगायतले बोलदे सहकारीको हितमा सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए । उक्त वार्षिक साधारण सभामा अध्यक्ष नारायणप्रसाद ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष खिमनारायण आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पास भएको सहकारीकी व्यवस्थापक रचना पन्थले जानकारी गराइन ।
धनवर्षा सहकारीको शेयर पूंजी १६ करोड १० लाख ८० हजार, कर्जा लगानी ११ करोड ३० लाख १७ हजार ९५ र कूल सम्पति तथा जायजेथा १२ करोड ९५ लाख ५७ हजार ३९ रुपैयां ३४ पैसा रहेको छ ।