तिलोत्तमा करहिया स्वास्थ्य चौकीद्वारा आफ्नै भवनबाट सेवा प्रदान

बुटवल, मंसिर ३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ मा रहेको करहिया स्वास्थ्य चौकीले सुविधासम्पन्न भवनबाट सेवा दिन थालेको छ । स्थापना भएको झण्डै २६ वर्षपछि ज्योतिनगरमा स्वास्थ्य चौकीको लागि भवन निर्माण गरिएको हो । भवन निर्माण भएसंगै सेवा प्रवाह सहज बन्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यसअघि स्वास्थ्य चौकी विभिन्न संघ—संस्थाका भवनमा सञ्चालन गरिएकोमा जग्गाको स्वामित्व प्राप्त भएपछि आफ्नै भवन निर्माण गरिएको हो । स्थानीयले लामो समयदेखि संरक्षण गर्दै आएको झण्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीको नाममा कायम भएपछि २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले आधारभूत स्वास्थ्य सेवा नगरका सबै वडामा पुगेकाले स्वास्थ्य सेवा सहज हुने बताए । सरकारी स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बन्दै गएकाले त्यसबाट लाभ लिन नगरबासीलाई नगर प्रमुख घिमिरेको आग्रह छ ।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउंदै यसमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्र तिलोत्तमा नगर अध्यक्ष लक्ष्मण खनाल, वडाध्यक्ष कृष्ण पौडेल, स्वास्थ्यकर्मीहरु ईश्वरीप्रसाद पाण्डेय, कृष्णकुमारी पाण्डेय, बाल क्लवकी वडा संयोजकलगायतले आआफ्नाइ भनाइ राखेका थिए ।
नौ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत स्वास्थ्य चौकीमा खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षय—कुष्ठ, विद्यालय तथा किशोर÷किशोरी शिक्षा, बिरामी परीक्षण, औषधि वितरण, प्रयोगशाला लगायतका प्रवद्र्धनात्मक र निदानात्मक सेवाहरु उपलब्ध छन् ।
यस्तै भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करहिया स्वास्थ्य चौकीलाई इमरजेन्सी रिलिफ बेड सहयोग गरेको छ । प्रतिष्ठानले स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा २ थान बेड हस्तान्तरण गरेको हो । प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी र वडाअध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेललाई बेड हस्तान्तरण गरेका हुन् ।