अर्थमन्त्रीमाथि छानबिन गर्न सांसद तुलप्रसादको माग


बुटवल, जेठ २६ गते । राष्ट्रिय सभाको बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले बजेटसँग सम्बन्धित आर्थिक विधेयकका पृष्ठ गायब भएको विषयलाई गम्भीर रूपमा उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।

जेठ २६ गते मंगलबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै विश्कर्माले अर्थमन्त्रीले आर्थिक विधेयक प्रस्तुत गरेको २४ घण्टा नबित्दै उक्त दस्तावेजका १६ पृष्ठ हटाइएको वा गायब भएको भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाए । उनले बजेट सार्वजनिक भएपछि सरकारी वेबसाइटबाट समेत सम्बन्धित सामग्री परिवर्तन वा हटाइएको विषयलाई संसदीय इतिहासकै असामान्य र चिन्ताजनक घटना भएको बताए ।
विश्वकर्माले भन्नुभयो, “नेपालको संसदीय अभ्यासमा अर्थमन्त्रीले सदनमा प्रस्तुत गरिसकेको बजेट तथा आर्थिक विधेयकका पृष्ठ गायब हुनु अत्यन्तै गम्भीर विषय हो । यो कसको निर्देशनमा, किन र कसरी भयो भन्ने विषय स्पष्ट हुनुपर्छ।”

उक्त घटनाले बजेट प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठाएको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै भने –घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।
सांसद विश्वकर्माले यो विषयलाई सामान्य त्रुटिका रूपमा लिन नसकिने बताउँदै सरकारले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको अडान राखेका छन् ।























