तिलोत्तमाका सामुदायिक विद्यालयहरुका लागि अनुदानमा बस, विद्यार्थीको अक्रषर्ण बढ्ने आशा

हरिलाल बस्याल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका छ वटा सामुदायिक विद्यालयहरुले विद्यार्थीको आवत जावतका लागि बस संचालन गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाको अनुदान सहयोगमा बस खरिद भए पछि नगरपालिका भित्रका ६ वटा समुदायिक विद्यालयहरुले  बस संचालन गर्ने भएका हुन् ।
तिलोत्तमा नगरपालिकाभित्रका विद्यार्थी बढी भएका तर साधन नभएका विद्यालयहरुलाई छनोट गरी बस खरिदमा अनुदान प्रदान गरिएको नगपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । नगरपालिकाले सामुदायिक विद्यालयहरुको स्तर बृद्धि गर्न लागिरहेको उनको भनाई छ ।
नगरसभाबाट पारित बजेट अनुसार नगरक्षेत्रका ६ वटा सामुदायिक बिद्यालयलाई बस खरिदका लागि अनुदान स्वरुप १० लाख प्रदान गरिएको उपसचिव गंगाराम आचार्यले बताए ।
पशुपति माध्यमिक विद्यालय, शिवपूर माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, जनभावना माध्यमिक विद्यालय र गृवाण माध्यमिक विद्यालयलाई बस खरिदका लागि अनुदान प्रदान गरिएको छ ।
विदालयहरुको सहकार्यमा खरिद भएका बसहरुलाई एक कार्यक्रमकाबीच कोटिहवामा रहेको पुजन अटोमोबाईल्स प्रालीले एसएमएल ईसुजु कम्पनीको ५ वटा बस विद्यालयहरुलाई हस्तान्तरण गरेको छ ।
कम्पनीका अध्यक्ष डोलराज बस्यालले नेपाल सरकारको कर र भन्सार महशुल छुट गरि प्रति बस २० लाख ९५ हजार रुपैयामा विद्यालयलाई प्रदान गरिएको जानकारी दिए । उनले जापानको ईसुजु र भारतको स्वराज माज्दा कम्पनी एक भई भारतमै निर्माण भएको ४२ सिटे आरामदायी गाडी भएको बताए । उनले विद्यार्थीलाई लक्षित गरिए पनि यो कम खर्चिलो रहेको दावी गरे ।
तिलोत्तमा नगरपालिकाले बिगत वर्षहरु देखी नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न छुट्टयाईएको तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए । सोही अनुसार बढी विद्यार्थी संख्या भएका र यातायातका साधन नभएका बिद्यालयलाई छनौटमा राखी बस प्रदान गरिएको उनले बताए । उनले नगरपालिकामा रहेका अन्य विद्यालयलाई पनि यसै गरि बस प्रदान गरिने बताए ।

तिलोत्तमाका विद्यालयका विद्यार्थीहरु टाढाबाट अध्ययनको लागी आउने र अभिभावकको ईच्छा पनि आफ्ना बालबालिकाहरु बसबाट जानु पर्ने इच्छा अब पुरा हुने भएकोमा शिक्षकहरु पनि हर्षित भएका छन् । बस बुझ्न आएका शिवपुर माध्यमिक विद्यालयका सहायक प्रधान अध्यापक केशव राज भण्डारीले यसले विद्यार्थीहरु विद्यालय प्रति थप आकर्षित हुने दावी गरे । उनले विद्यालयले केही आफ्नै श्रोत व्यवस्थापन गरि बस सञ्चालन गर्ने बताए ।