नदीजन्य पदार्थको उत्खनन्मा भारतीय दादागिरी रोकिएन

परासी, जेठ १३ गते । भारतीय पक्षबाट नवलपरासीको नारायणी नदीमा भैरहेको नदीजन्य पदार्थको उत्खनन् रोकिएको छैन । भारतीय पक्षले दादागिरी शैलीमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको छ ।
नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले प्रहरी प्रशासनको सहयोग नपाउँदा नारायणी नदीमा भइरहेको दोहन रोक्न नसकिएको बताएका छन् ।
सुस्ता गाउँपालिकाअन्तरगत पर्ने गण्डक क्षेत्रको ‘ए ग्याँब’ र ‘बि ग्याँब’ मा रहेका स्पर(ठोकर) र बाँधको अहिले मर्मत भइरहेको छ । पुराना संरचनाहरु जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौडा गर्ने र स्परहरुको मर्मत एंव नयाँ निर्माण कार्य गरिदैं छ ।

नदी कटान रोक्नका लागि अहिले भएको मर्मत एंव निर्माण कार्यका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ अवैध रुपमा निकालिरहेको भन्दै त्यसलाई रोक्न गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला समन्वयमा पत्र पठाएको छ ।
निर्माण कार्यका लागि आवश्य पर्ने नदीजन्य पदार्थ निकाल्न भारतीय पक्षले पालिकामा निवेदन दिएको थियो । निवेदनका आधारमा आईईई गरेको स्थानबाट नदीजन्य पदार्थ निकाल्न अनुमति दिएपनि उक्त स्थानबाट नभई अन्यन्त्र (आईईई) बाट उत्खनन् गरी लगेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताए ।

भारतीय पक्षले रोयल्टी लिएर ३० हजार घनफिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिएपनि पछिल्लो पटक रोयल्टी नै नतिरी नदीजन्य पदार्थ निकालेको अध्यक्षले बताए । गाउंपालिकाका अध्यक्षका अनुसार सम्झौता विपरित भारतीय पक्षले दादागिरी पारामा उत्खन् गरिरहेको र रोयल्टी पनि तिरेको छैन र
पटक पटक प्रहरी प्रशासनमा भन्दा पनि दोहन रोक्न कसैले वास्ता गरेका छैनन् ।

भारतीय पक्षले ठेकेदारमार्फत मर्मत एंव निर्माण कार्य गरेको जनाएपनि उक्त सबै काम स्थानीय नेपाली युवाहरुलाई पेटी ठेक्कामा दिइएको बताइएको छ ।
हेभी सवारी साधनको प्रयोग गरेर दैनिक १ सयदेखि २ सय टेक्टर नदीजन्य पदार्थ निकाल्ने गरिएको स्थानीयको भनाई छ । त्यसरी निकालिएका नदीजन्य पदार्थ गण्डकको निर्माण कार्यबाहेक अन्यत्रसमेत लैजाने गरेको स्थानीयले बताएका छन् ।

भारतीय पक्षले जथाभावी रुपमा नदीजन्य पदार्थ दोहन भएको जानकारी पाएपछि जिल्ला अनुगमन समितिले समेत त्यस क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भारतीय पक्षले रोयल्टी नतिरी तोकिएको स्थानभन्दा बाहिर गएर जबरजस्ती नदीजन्य पदार्थ निकालेको पाइएको समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख रुद्धल यादवले बताए । अहिले दोहन गरेर नदीजन्य पदार्थ निकालेको क्षेत्र जोखिम क्षेत्र मानित्नछ । जोखिम क्षेत्रबाट नदीजन्य पदार्थ निकाल्दा वर्षायाममा बढेको नारायणी नदीको सतहले कटान गर्ने संभावना रहेको छ ।

नदीजन्य पदार्थको दोहनबारे निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले त्यसबारे नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई जानकारी गराएको बताए ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक विनोद सिलवालले नदीजन्य पदार्थ निकाल्न स्थानीयहरु एक भएकाले रोक्न समस्या भएको बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख उमेशराज जोशीले गलत तरिकाले काम भएको भए तत्काल रोक्न निर्देशन दिएको बताए ।