शुद्धिकरणको मुद्धा आफैमा महत्वपूर्ण प्रश्न हो

सिद्दिचरण भट्टराई
सभापति ज्यू
नेपाल पत्रकार महासंघ रुपन्देही
सदस्यताबारे मेरो वकपत्र ।
नेपाली समाजको जागरण, रुपान्तरण पत्रकारीतामा शुद्धिकरणको मुद्धा आफैमा महत्वपूर्ण प्रश्न हो । पत्रकारिता आफैमा पेशा मात्र हो कि वैचारिक, राजनीतिक, सैद्धान्तिक प्रसारको आम माध्यम ? हामी पेशाको शुद्धिकरण खोजेका छौं कि पत्रकारिताका मुल्यहरु र मान्यताहरुको रक्षा गर्न खोजिरहेका छौं ? आजको अवस्थामा आम सञ्चारको परिभाषा नै यति व्यापक भएको छ कि यो सिमित वर्गिकरणमा उभिन सक्दैन । हामी युग सापेक्ष शुद्धिकरण खोजेका छौं कि यान्त्रिक, सांगठनिक औपचारिकता ? यी प्रश्नहरु मनमा उठाउँदै यो पत्र लेख्दैछु ।

मैले २०५० तिरबाट पत्रकारिता शुरु गर्दै गर्दा देशको परिवर्तनका लागि मिशन पत्रकारिता संगै जनअधिकारको, सामाजिक वर्गको, पेशागत वर्गको मुक्तिको लागि अभिप्रेरित भएर गरेको थिएँ । जिविकोपार्जनका लागि अरु नै सहज पेशा व्यवसाय हुँदा हुँदै आय आर्जनले दैनिक खर्च पनि नधान्ने जानेरै पनि यो पेशामा आवद्ध भएको हुँ ।
मैले जनसंघर्ष दैनिक, श्री सगरमाथा राष्ट्रिय दैनिक, बुटवल साप्ताहिक, श्रीनगरसाप्ताहिक, हुँदै मेचिकाली दैनिकको स्थापना र सञ्चालनको कार्य गरेँ ०५९ सम्म । यसपछि विकासका सवाल र पत्रकारिता, ग्रामिण सञ्चार क्षेत्रमा काम गर्न इम्मोड नेपालको स्थापना गरेँ । रुपन्देहीका आठ गाविसमा ग्रामिण पत्रकारिता संगै पठन संष्कृतिको विकासमा युवा र बिद्यालयका बालबालिका संग पनि पत्रकारितालाई जोडने काम गरेँ ।

त्यसपछि मैले नेपालमा नै केवुल टेलिभिजनलाई सामुदायिक सञ्चारको आधारभुमिका रुपमा स्थापित गर्न आन्दोलनकारी अभियान पनि चलाएँ । त्यसैको प्रतिफल हो इम्मोड च्यानल हुँदै स्थापित भएको नेपालको पहिलो सामुदायिक टेलिभिजन लुम्बिनी टेलिभिजन । यी कतिपय माध्यम आजपनि सुचारु छन । तीनमा आवद्ध पनि छु ।
साथमा पत्रकारितामा अझै नशा नछुटेर लालीगुराँस मिडिया प्रालि स्थापना गरी २ वटा पत्रिका कोलिय साप्ताहिक र आजको किसान मासिक मैरे नाममा दर्ता गरी बसेको छु । तर आजको दिनमा मेरो जीवीकोपार्जन पत्रकारितामा आधारित नभएको हुँदा पत्रकार महासंघको प्रकाशित सूचनाको परिभाषा भित्रबाट हेर्ने हो भने मैले तपाईलाई नैतिक रुपमा राजीनामा पठाउँनै पर्ने हुन्छ । यसर्थ मैले आजबाट मेरो पत्रकार महासंघको ३० बर्षे सदस्यता त्यागेको छु ।
पत्रकारितामा लाग्दा मैले कैयौपटक भोको रहेको छु, कोठाभाडा तिर्न नसकेर घरभेटीका अनेकौं दुर्वचन सहेको छु, श्रीमति र परिवारका अनेकौं गुनासाहरु नजरअन्दाज गरेर उनिहरुका आंकाक्षामाथि अभिभावकत्व दिन नसकेको स्मरण पनि भईरहेको छ ।

पत्रकारितामा रहनु र कतव्यनिष्ट पत्रकारिता गरेर बाँच्नु फरक कुरा हुन । यस भित्र धेरै व्यक्तिगत उर्जाशिल जीवनका सम्पुर्ण भाग मिसिएका छन । आशुँ, दुख र केही खुशीहरु पनि मिसिएका छन । पत्रकारितामा मैले योगदान गरेँ कि गरिन त्यो मैले भन्दा अरुले नै मुल्यांकन गर्ने बिषय हो । यद्यपी मैले पत्रकारितामा रहुन्जेल इमानको रोटि खाएको छु, नैतिक पत्रकारितामा जोडदिएर काम गरेको छु, यो दावा मेरो सबैको सामु रहनेछ ।

पत्रकारितामा रहुन्जेल मैले कुनै व्यवसायिक घराना, सार्वजनिक निकाय, राजकिय निकायको प्रेस सल्लाहकार हुने चेष्टा पनि राखिन किनकि पत्रकारिता गर्नु र सल्लाहकार भएर पारिश्रमिक लिनु समेत पत्रकारिताको आम मुल्य र नैतिकता भित्र पर्दैन । र, निवेदन हालेर पत्रकारिता पुरस्कार लिने गल्ती पनि मैले जीवनभर गरिन । अव पनि मैले गर्ने छैन ।
सदस्यता त्यागेता पनि मभित्र पत्रकारिताको स्वत्व बचाई राख्नेछु, लेखकत्व, अभिव्यक्ति स्वतन्त्रताको संष्कृति अनुकुल आफुलाई उभ्याउने प्रयत्न मेरो रही रहनेछ । अर्थात पत्रकार महाँसंघको सदस्यता त्याग्दैमा पत्रकारिता त्यागेको भने होइन ।

जनतालाई थाहा दिने थाहा आन्दोलनबाट भागेको होइन । हो म यतिखेर राज्यले दिएको जिम्मेवारी निभाउनु पर्ने ठाउँमा छु यसर्थ मैले केही बर्ष आफुलाई प्रश्नको जवाफ दिने ठाउँमा उभिएको ठानेको छु । यो कार्यकाल सकिएपछि म फेरि तपाईहरु जस्तै प्रश्न गर्ने र जनतालाई थाहा दिने अभियानको लाईनमा हुनेछु ।

यसो लेख्दै गर्दा मैले संझिरहेको छु, ०४७ साल पछि पत्रकारितामा आएका हामीहरुको पुस्ता र पञ्चायती व्यवस्था संग लडेको संस्थापकहरुको पुस्ताका हिसावले हामी दोश्रो पुस्ता हौं । ०६२ को जनक्रान्ति पछिको पुस्ता तेश्रो पुस्ता हो । अव फेरी अर्को क्रान्तिकारि पुस्ता आउनुपर्ने देशकालको परिस्थती बन्दै छ । प्रविधि, मुल्यमान्यता, श्रम र स्वामित्वको सम्बन्धले नयाँ रुप र शैली ग्रहण गर्दै गएको छ । यसले स्वभाविक रुपमा पत्रकारिताले पनि नयाँ र क्रान्तिकारी पुस्ता फेरी जन्माउनेछ । जसले आजको युगलाई एउटा नयाँ गर्व गर्ने युगतर्फ लैजाओस ।

आम रुपमा आज भन्ने गरिएको पत्रकारिताको प्रभावकारिता निरन्तर कमजोर हुँदै गएको छ, न्यु मिडिया मात्र होइन पत्रकारिताको थाहा दिने मुलतत्त्व हो त्यो सोसल मिडियाले लिँदै गएको छ । यसका नकारात्मक र सकारात्मक दुवै गुण छन तर सोसल मिडियाले सुसुचित मानिसलाई एउटा बलियो आत्मबल पनि दिएको छ । जनतामा आफनो क्षमता प्रदर्शन गर्न उसलाई एउटा मोवाईल भए पुग्ने भएको छ ।

बरु आजको मुल चुनौति भनेको सोसल मिडियामा आउने मिथ्या, नियोजित, भ्रामक, गलत सूचनाहरुबाट कसरी जोगिने र सामान्य नागरिकलाई कसरी जोगाउने ? भन्ने भएको छ । आजको हाम्रो पत्रकारिताले आम नागरिकलाई यसबारे शसक्तीकरण गर्न भुल्न हुँद्रैन । यी सवालहरुबारे शुद्धिकरणबाट बाँकीरहने पत्रकार मित्रहरुले गंभीर बिचार गर्नु हुनेछ ।
र अन्तमा म नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानको सफलताको पनि कामना गर्दछु । सबै पत्रकार साथीहरु संग आत्मीयता, हार्दिकता, सदासयताका साथ बिदा हुन्छु । धन्यवाद ।