महामारीमा मनकारी कलिलो मन, ‘भुड्की’ फोरेर कोभिड कोषलाई रकम

माधव भाट 
कपिलवस्तु । नेपालीमा एउटा उखान नै छ ‘पैसा’अनि ‘बैस’ जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाँच र सबैलाई सक्दो सहयोग गर । यही भनाईलाई आत्मसाथ गर्दै सैनामैना–४, रुपेन्देहीकी प्रभात आवाशीय बोर्डिङ स्कुल मुर्गियामा कक्षा १२ मा अध्ययरत मेलिना पाण्डेले आफूले नखाई–नखाई बचत गरेको भुड्की फोरेर कोरोना भाइरस नियन्त्रण तथा राहत कोषलाई हस्तान्तरण गरेकी छन् ।
१८ वर्षीय पाण्डेले  विभिन्न चाड पर्वमा आफूलाई टीका लगाएर दिइएको जम्मा गरेको रकम भुड्की फोरेर अभूतपूर्व संकटमा केही राहत होस भन्ने उद्देश्यले कोभिड फन्टमा रकम जम्मा गरेको बताइन । १० हजारको चेक रकम बुझ्दै सैनामैना नगरपालिकका मेयर चित्रबहादुर कार्कीले विश्वव्यापी संकटमा भुड्कीको पैसा फोरेर कक्षा १२ मा अध्ययन गर्ने युवतीको कार्यले आफू भावुक र हर्षविभोर भएको बताउँदै हुने खाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्न विशेष आग्रह गर्नुभयो ।
देश कोरोनाको सङ्कटले नेपाली समाजलाई ग्रस्त पारिरहेको छ । जनताले अक्सिजन पाइरहेका छैनन भने आइसियु, भेन्टिलेटर नपाएर नागरिकहरूको दिनहँु जसो अकालमा मृत्यु भइरहेको छ । सरकारले बेलैमा जनतालाई खोप उपलब्ध गराउन पनि सकेन । गम्भीर संकटका बेला राजनीतिक दलहरू आफ्ना नेता, कार्यकर्ता, मतदाता र सिङ्गोजनसमुदायको उद्दार र उपचारलाई बेवास्ता गर्दै सरकार टिकाउने र गिराउने खिचातानीमा व्यस्त छन् । अहिलेको समय भनेको सरकार तथा राजनीतिक दलहरू नागरिकको जीवन रक्षामा लाग्ने समय हो । यस्तो बखतमा छोरीले भुड्की फोरेर कोभिड फन्टमा रकम हस्तान्तरण गर्नु पुन्य कार्य भएको र आफ्ना लागि पनि खुसीको क्षण भएको पाण्डेका बुवा देवेन्द्र पाण्डेले बताउनुभयो । पाण्डेले जनताको जीवन जोगियो भने सरकार टिकाउने र गिराउने काम कोरोना सङ्कट पछि पनि गर्न सकिने बताउँदै यो अभूत पूर्व संकटमा दलहरुलाई राजनीतिक खिचातानीमा नलाग्न आग्रह गर्नुभयो ।
कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले अधिकांश जिल्लामा निम्त्याएको लकडाउन र आंसिक लकडाउनले  देशव्यापी रुपमा आर्थिक गतिविधि ठप्प छ । अझै कति समयसम्म यो स्थिति लम्बिने हो कुनै ठेगान नै छैन ।  अभूतपूर्व यो सङ्कटले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पारिसकेको छ । यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जाने भएकाले परोपकारी मनहरुले १८ वर्षीय युवतीले देखाएको बाटोलाई पछ्याउँदै कोरोना नियन्त्रण र उपचारमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।