अधिकांस ठाउंमा रोपाई हुन बांकी, लुम्बिनीमा ११ प्रतिशत रोपाई

बुटवल, असार १५ गते । नेपाली किसान र कृष्किा लागि असरा १५ गते महत्वपूर्ण दिन हो । धान खेतीका लागि सबै भन्दा महत्वपूर्ण दिनका रप्मा लिइन्छ आज असार १५ लाई । मानो रोपेर मुरी फलाउने दिनको रुपमा असार १५ लाई मनाउने चलन छ । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने पनि गरिन्छ ।
असार महिनाको मध्य दिन अर्थात असार १५ गतेसम्म धेरै ठाउंमा खेत रापेर विगतका वर्षहरुमा भ्याउने गरिन्थ्यो । तर अहिले लामो समयसम्म पानी नपरेपछि यस वर्ष असार १५ भैसक्दा पनि अधिकांस ठाउंमा खेत रोपाई हुन सकेको छैन ।


अन्नको भण्डार भनेर चिनिने लुम्बिनी प्रदेशमा असार १५ गतेसम्म जम्मा ११ प्रतिशत रोपाई भएको छ । लुम्बिनी प्रदेशको कृषि तथा भूमि मन्त्रालयले दिएको जानकारी अनुसार अझै ८९ प्रतिशत रोपाई हुन बांकी नै छ । लुम्बिनी प्रदेशमा धान रोपाईको अवस्था भने निराशाजनक रहेको छ । यस वर्ष समयमै वर्षा नभएकाले अहिले धान उत्पादनमा कमी आउने र चामलको मुल्यवृद्वि हुने संकेत देखिएको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ ।


रुपन्देहीमा ८ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाईँ भएको छ ।
असार १५ गतेसम्म कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको जम्मा ६ प्रतिशत रोपाई भएको छ । यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाई सकिएको छ ।

बांकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म ४ हजार २७० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य १३ प्रतिशत मात्रै हो । नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात १२ प्रतिशत मात्रै रोपाई भएको छ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाई सकिएको छ । पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात १० प्रतिशत रोपाई सकिएको छ । अर्घाखांचीमा १० प्रतिशत मात्रै रोपाई सकिएको लुम्बिनी प्रदेश कृषि तथा भूमि मन्त्रालयले जानकारी गराएको छ ।
प्यूठानमा असार १५ गतेसम्म ८० प्रतिशत रोपाई भैसकेको छ । ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा प्यूठानमा धानखेती हुने गर्दछ । प्यूठानमा अबको एक हप्ता भित्र सबै ठाउंमा रोपाई सकिने अनुमान गरिएको छ ।