नेकपा मसालको राजनीतिक प्रस्ताव

बुटवल, साउन २३ गते । नेपाल कम्युनिष्ट पार्टी मसालले तात्कालिन राजनीीतक प्रस्ताव सार्वजनिक गरेको छ । नेकपा मसाल पोलिटव्यूरो बैठकले पारित गरेका निर्णसहितका तात्कालिन प्रस्ताव पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्तमिार्फत सार्वजनिक गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी मसालले तीन ऐतिहांसिक कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको बताएको छ । लेनिनको स्मृति शताब्दी दिवश, पार्टीको हीरक जयन्ती र पार्टीको नवौं महाधिवेशन सम्पन्न गर्नका लागि अभियानको रुपमा कार्यक्रम देशभर र संगठन भएको स्थान विदेशमा पनि कार्यक्रम सञ्चालन गरिने विज्ञप्तमिा उल्लेख गरिएको छ ।
यही २०८० साउन ११ र १२ गते सम्पन्न नेकपा.(मसाल)को पीवीको बैठकबाट पारित पूर्णपाठ ।

१. अहिले हाम्र्रा अगाडि ऐतिहासिक तीन अभियान पूरै वर्षभरि सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी छ । ती तिनै अभियानहरूमा लेनिनको स्मृति शताब्दी दिवश, पार्टीको हीरक जयन्ती र पार्टीको नवौं महाधिवेशन पूरा गर्ने जिम्मेवारी आउँछन् । ती अभियानहरूको उद्देश्य, प्रथम, पार्टीको क्रान्तिकारी रूपान्तरण गर्ने हो भने, द्वितीय, दीर्घकालीन र तात्कालिक जिम्मेवारी पूरा गर्न पार्टीलाई समर्थ गराउनु पनि हो । पार्टीको क्रान्तिकारी रूपान्तरणको लागि तलैदेखि माथिसम्म पार्टी सदस्यहरूको दृष्टिकोण लेनिनवादी सङ्गठनात्मक प्रणालीको आधारमा पार्टीको पुनर्निर्माण जनवादी केन्द्रीयताको आधारमा पार्टीको अनुुशासन र देशव्यापी रूपमा पार्टी वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनहरूको विस्तार र सुदृढिकरण गर्नु आवश्यक हुने छ । पार्टीको केन्द्रीय समितिले ती उद्देश्यहरू पूरा गर्न वर्षभरिका लागि नै कार्यक्रमहरू निश्चित गरेको छ । ती कार्यक्रमहरू पूरा गरेपछि नै हामीले पार्टीको क्रान्तिकारी रूपान्तरण गर्न र हाम्रा अगाडि भएका राजनीतिक जिम्मेवारीहरू पूरा गर्न सफल हुने छौँ ।

२. आज देशको आधारभूत लक्ष्य नयाँ जनवादी क्रान्ति नै हो । त्यो अहिलेको हाम्रो रणनीति पनि हो । त्यो रणनीति वा लक्ष्यका लागि परिस्थिति वा आधार तयार पार्न हामीले अहिले मुख्य जोड दिनु पर्दछ । हाम्रो कार्यनीतिको उद्देश्य त्यस प्रकारको परिस्थिति वा आधार तयार पार्नु नै हुन्छ र हुनुपर्दछ । जनताको राजनीतिक चेतना वा सङ्घर्षको स्तर उठाएर तथा सङ्गठन र जनाधारलाई शक्तिशाली बनाएर नै हामीले नयाँ जनवादी क्रान्तिको लागि निर्णयात्मक शक्तिको निर्माण गर्न सक्दछौँ र गर्नु पनि पर्दछ ।

३. तात्कालिक राजनीतिक दृष्टिकोणले अहिले देशका अगाडि मुख्य राजनीतिक समस्या दुईवटा छन् । प्रथम, प्रतिगमनको खतरा र, द्वितीय, साम्राज्यवादी खतरा । प्रथम प्रकारको खतराले देशमा जनताको ऐतिहासिक सङ्घर्ष र वलिदानद्वारा प्राप्त लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नेछ भने दोस्रो खतराले देशको राष्ट्रियता र सावैभौमिकतालाई समाप्त गर्नेछ । प्रथम प्रकारको खतरा राजावादी, ओली र भारतका कट्टर हिन्दूवादी शासकहरूको समेतबाट अगाडि आइरहेको छ । दोस्रो प्रकारको खतरा मुख्य रूपले भारतीय र अमेरिकी साम्राज्यावादद्वारा आइरहेको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई प्रधान बताएको छ । महाधिवेशनले अमेरिका वा ईयूका साम्राज्यवादी देशहरू वा नोकरशाही र दलाल पुँजीपति वर्गसित पनि अन्तर्विरोध भएको कुरालाई स्वीकार गरेको छ । तर मुख्य अन्तरविरोध नेपालको सामन्तवाद र भारतीय साम्राज्यवादसँग भएको कुरा बताएको छ । तर अब आठौँ महाधिवेशनको बेलादेखि अहिलेसम्मको राजनीतिक स्थितिमा केही परिवर्तन भएर गएको छ । अहिले नेपालमा पहिलेको तुलनामा अमेरिकी साम्राज्यवादको भूमिका केही बढेर गएको छ, यद्यपि अहिले पनि हाम्रो मुख्य अन्तरविरोध सामन्तवाद र भारतीय साम्राज्यवादसित नै छ भन्ने हाम्रो मत रहेको छ ।

४. अमेरिकाले पहिले नेपालका राजनीतिक पार्टीहरूमा घुसपैठ गरेर, सरकारलाई दबाव दिएर वा भारत सरकारको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी उद्देश्यहरू पूरा गर्ने प्रयत्न गर्दथ्यो । अब त्यसले नेपालमा आफ्नो प्रत्यक्ष भूमिका बढाउने नीति अपनाउन थालेको छ । त्यसका लागि त्यसले नेपालमा आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टी समेत बनाएर संसद र सरकारमा समेत आफ्नो प्रत्यक्ष नियन्त्रण कायम गर्ने नीति अपनाएको छ । त्यसले गर्दा अमेरिकी साम्राज्यवाद नेपालका साम्राज्यवादपरस्त तत्वहरू समेतका विरूद्ध संघर्ष गर्नुपर्ने आवश्यकता धेरै नै बढेर गएको छ । अमेरिकाको त्यसो गर्नको मुख्य उद्देश्य नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा सामेल गर्नु र तिब्बतमाथि हमला गर्नको लागि नेपालको भूमि उपयोग गर्नु हो ।

५. माथि उल्लिखित प्रतिगमन र साम्राज्यवाद समेतका विरुद्ध आउने राजनीतिक शक्तिहरूसित संयुक्त मोर्चाको नीतिको आधारमा सम्भव भएजति अधिकतम एकता कायम गरेर सङ्घर्षलाई शक्तिशाली र व्यापक गर्नुपर्ने आवश्यकता छ । निश्चय नै देशको राजनीतिक परिस्थितिमाथि विचार गर्दा उक्त दुवै शक्तिहरूका विरुद्ध एउटै संयुक्त मोर्चा बन्ने सम्भावना छैन । प्रतिगमनका विरूद्ध केही वर्षदेखि गठबन्धनको निर्माण भएको छ । र त्यो गठबन्धनका सन्तोषजनक उपलब्धिहरू पनि रहेका छन् । त्यो गठबन्धनका कारणले नै ओलीको संसदलाई विघटन गर्ने दुई–दुई पल्टका प्रयत्नहरू असफल भए । राष्ट्रियसभा र स्थानीय चुनावहरूमा पनि ओली पक्षको हार भयो । संसदीय चुनावमा अत्यधिक बहुमत ल्याउने ओलीको दाबी पनि सफल हुन सकेन । चुनावपछि पाँच दलीय गठवन्धनमा उत्पन्न भएको अन्तरविरोधका कारणले एमालेलाई केही समयका लागि सत्तामा पुग्ने अवसर प्राप्त भएको थियो । तर पाँच दलीय गठबन्धनमा देखा परेको सुझबुझका कारणले त्यो स्थितिमा छिट्टै सकारात्मक रूपले परिवर्तन भयो र प्रतिगमन पराजित भयो । तैपनि प्रतिगमन पक्षधर शक्तिहरूले सत्तामा कव्जा जमाउनको लागि अहिले पनि योजनावद्ध प्रकारले प्रयत्न गरिरहेका छन् र प्रतिगमनको खतरा अहिले पनि कायम छ ।माथि भनिएझैँ राजावादी, ओली र कट्टर हिन्दूवादी शक्तिहरूबाट सम्मिलित रूपमा प्रतिगमनको खतरा छ । तैपनि अहिले त्यसमा प्रत्यक्ष र नेतृत्वदायी भूमिका ओलीको नेतृत्वमा एमालेले नै खेलिरहेको छ ।

६. प्रतिगमनका विरूद्ध देशमा गठबन्धनको निर्माण कार्यगत एकताको एउटा रूप नै हो । परस्परमा गम्भीर प्रकारका मतभेदहरूको बिचमा पनि त्यो गठबन्धनको निर्माण गरेर प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूले नेपालको राजनीतिमा ऐतिहासिक योगदान दिएका छन् । त्यसरी गठबन्धनको निर्माण हुन नसकेको भए देश निश्चित रूपले प्रतिगमनतिर जाने थियो र लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समाप्त हुने सम्भावना थियो । गठबन्धनका कारणले नै त्यस प्रकारको खतराबाट देश बच्न गएको हो । देशको राजनीतिमा गठबन्धनको ऐतिहासिक र सकारात्मक योगदान भएको भएपनि विभिन्न राजनीतिक पार्टीहरूको बिचमा र स्वयंम् विभिन्न राजनीतिक पार्टीहरूका बिचका अन्तरविरोध, गुटबन्दी, अन्तरघात समेतका कारणले गठबन्धनले सन्तोषजनक रूपले काम गर्न सकेन । उक्त कारणहरूको परिणामस्वरूप नै संसदीय चुनावमा गठबन्धनले आवश्यक बहुमत प्राप्त गर्न सकेन र प्रतिगमन पक्षधर शक्तिहरूलाई गठबन्धनभित्रका विभिन्न राजनीतिक पार्टीबिचका अन्तरविरोध वा अन्तरघातका बिचमा खेल्ने मौका मिल्यो । तैपनि यो सन्तोषको कुरा हो कि जनतन प्रतिगमन बिरूद्धका गठबन्धन कायम रहेको छ । तर त्यसको स्थायित्वमा अहिले पनि कैयौँ समस्याहरू छन् ।

७. अहिले सबैतिर २०८४ सालको निर्वाचनको कुरा उठिरहेको छ । प्रतिगमनको पक्षमा भएका राजनीतिक शक्तिहरू, जस्तै कि एमाले, राप्रपा र “स्वतन्त्र” पार्टीहरू जोडतोडसित त्यसको तयारीमा लागिरहेका छन् । अर्को चुनावमा अहिलेको गठबन्धनलाई पराजित गर्ने रणनीति अन्तरगत उनीहरूले चुनावको तयारी गरिरहेका छन् । तर अहिलेको गठबन्धनको चुनावसम्मको नीति स्पष्ट, उत्साहप्रद र सन्तोषजनक देखिँदैन । आगामी चुनावमा संयुक्त भएर जाने विषयमा पनि उनीहरूका विचमा स्पष्ट धारणा पाइँदैन । नेकाभित्र एक्लै चुनावमा जानुपर्छ भन्ने जोडतोडले आवाज उठिरहेको छ । गएको चुनावको अनुभवले बताउँछ, उनीहरूको केन्द्रीय कमिटीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको भएपनि त्यसभित्रको प्रतिपक्षले त्यो नीति इमान्दारितापूर्वक कार्यान्वयन गरेन र कतिपय स्थानहरूमा उनीहरूले अन्तरघात गरेर एमालेका उम्मेदवारलाई समेत जिताउने काम गरे । उनीहरूले कैयौँ निर्वाचन क्षेत्रहरूमा आफ्नै उम्मेदवारहरूलाई समेत हराउने प्रयत्न गरे । त्यस प्रकारका अन्तरघात गर्ने व्यक्तिहरूलाई नेकाले कुनै कारवाही नगरेको कुराबाट आगामी चुनावमा त्यो पार्टीले गठबन्धनको पक्षमा निर्णय गरेपनि अन्तरघातका लागि खुल्ला छुट हुनेछ भन्ने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । गत चुनावमा माओवादीले पनि गठबन्धनमा भएको समझदारीलाई कायम राख्न तलसम्म अनुशासन कायम राख्न नसकेको कुुरा छलड्र्ड छ । गठबन्धनमा भएको समझदारीको उल्लङ्घन गर्ने आफ्ना स्थायी समिति र कार्यकर्ताका विरूद्ध त्यसले पनि कुनै कारवाही गर्न सकेन । त्यसबाट उनीहरूको इमान्दारिता र विश्वसनीयतामाथि पूरै भर गर्न सकिने आधार कम छ ।

८. गठबन्धन पक्षका मुख्य राजनीतिक शक्तिहरूको त्यसप्रकारको चरित्रमाथि विचार गर्दा आगामी चुनावमा गठबन्धनका बिचमा विश्वसनीय प्रकारको चुनावी एकता हुन सक्ने सम्भावनाबारे प्रश्नहरू उठाउने ठाउँ छ । उनीहरूको बिचमा त्यस प्रकारको चुनावी एकता हुन नसकेमा देश प्रतिगमनतिर जाने नै बढी सम्भावना हुने छ ।

९. यस सन्दर्भमा नेकाभित्र विद्यमान दुईटा प्रवृत्तिप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रथम, त्यसभित्र राजतन्त्रको पुनस्र्थापना गर्ने र हिन्दू राष्ट्र बनाउने प्रवृत्तिले पनि पहिल्यैदेखि काम गर्दै आएको छ । द्वितीय, त्यसभित्रको वमपन्थीहरूसित कुनै एकता नगर्ने तथा अमेरिकी साम्राज्यवादपरस्त सोचाइपनि निकै पाइन्छ । त्यस प्रकारका प्रवृत्तिहरूका कारणले उनीहरूको जोड अहिलेको गठबन्धनलाई निरन्तरता दिनुभन्दा एमालेसित गठबन्धन गर्नेतिर नै बढी पाइन्छ, जसको अर्थ राप्रपा र “स्वतन्त्र” पार्टीहरूसित पनि गठबन्धन गर्नु हुनेछ । नेकाभित्र त्यस प्रकारका प्रवृत्तिहरूको विजयी भयो भने त्यो, सम्पूर्ण देश र स्वयम् उनीहरूका पार्टीका लागि पनि प्रत्युत्पादक हुने निश्चित छ ।

१०. हामीले शुरूदेखि नै प्रतिगमनका विरुद्ध गठबन्धनको आवश्यकतामाथि जोड दिँदै र त्यसमा भएका सबै समझदारीहरूलाई इमान्दारितापूर्वक पालन गर्दै आएका छौँ । तर अन्य पक्षहरूबाट त्यस प्रकारका समझदारीहरूको कार्यान्वयन नगरिएका कैयौँ समाचारहरू सार्वजनिक भएका छन् । खास गरेर नेकाका केन्द्रीय नेताहरू र माओवादीका स्थानीय कार्यकर्ताहरूद्वारा त्यस्तो गर्ने गरिएका कैयौँ उदाहरण छन् । माओवादी पक्षद्वारा त कतिपय जिल्लामा आफ्नै उम्मेदवारहरूसित पनि अन्तर्घात गर्ने गरिएको छ । त्यो अवस्थामा आगामी चुनावमा गठबन्धन पक्षधरका शक्तिहरूसित चुनावी तालमेल कहाँसम्म सही र लाभदायक हुनेछ ? त्यो कुरा गम्भीर रूपमा उठ्न थालेको छ । प्रतिगमनलाई पराजित गर्न गठबन्धन पक्षधर शक्तिहरूको विचमा चुनावी तालमेल गर्नुपर्छ भन्ने हाम्रो मत भएपनि अन्य पक्षहरू त्यसको लागि तयार नभएमा वा त्यस सम्बन्धी समझदारीलाई अन्य पक्षहरूले इमान्दारितापूर्वक पालना नगरेमा चुनावमा एक्लै जानुको सट्टा अर्को कुनै विकल्प हामीसित रहने छैन । त्यसैले आगामी स्थानीय, प्रादेशिक वा संसदीय चुनाव एक्लैले लड्ने दिशामा पनि हामीले अहिलेदेखि नै विचार गर्दै वा तयारी गर्दै वा मानसिक रूपले आफूलाई तयार गर्दै जानु पर्दछ ।

११. हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि देशमा प्रतिगमनको गम्भीर खतराको पृष्ठभूमिमा त्यसका विरुद्धको गठबन्धन राष्ट्रिय आवश्यकता हो । त्यसैले सरकार र गठबन्धनमा सामेल भएका राजनीतिक दलहरूसित गम्भीर प्रकारका मतभेदहरूका बाबजुत हामीले त्यसलाई समर्थन गर्दै आएका छौँ । गठबन्धनसितको यो हाम्रो सम्बन्ध मतभेद र सङ्घर्षका विचमा एकताका साथै आवश्यकताअनुसार सङ्घर्षको सिद्धान्तमाथि आधारित छ । तर अन्य पक्षहरू हाम्रो यस प्रकारको दृष्टिकोणलाई सही प्रकारले बुझ्न असमर्थ भएको देखिन्छ । शायद त्यही कारणले हुन सक्दछ, अहिले हामी गठबन्धनमा सामेल भएपनि उनीहरूले हामीलाई बैठकमा बोलाउन छाडेका छन् । हामी सरकारमा नभएको हुनाले सरकारको सञ्चालनसम्बन्धी विषयमा हामी गठबन्धनको बैठकमा उपस्थित हुनु आवश्यक हुँदैन । तर नीति निर्धारणसित सम्बन्धित बैठकहरूमा हामी पहिलेदेखि नै उपस्थित हुँदै आएका छौँ । तर अब त्यस्ता बैठकहरूमा पनि उनीहरूले हामीलाई बोलाउन छाडेका छन् । उनीहरूको त्यस प्रकारको व्यवहारलाई हामीले गम्भीर रूपमा लिएका छौँ । त्यस प्रकारको अवस्थामा सरकारलाई दिएकोे समर्थनलाई कायम राख्दै गठबन्धनबाट हट्ने बारे हामीले सोच्नुपर्ने आवश्यकता छ । तर त्यसबारे एकपल्ट गम्भीर गठबन्धनसित औपचारिक रूपमा छलफल गरेर नै हामी कुनै निर्णयमा पुग्न सही हुनेछ । निश्चय नै गठबन्धनबाट हटेपनि सरकारलाई दिएको समर्थन कायम राख्नु आवश्यक हुनेछ । किनभने त्यो प्रश्न प्रतिगमन विरुद्धको सङ्घर्षसित जोडिएको छ ।

१२. अनुभवले बताउँछ, गठबन्धनका तर्फबाट चुनावी तालमेल गरेर जाँदा र अन्य पक्षहरूले त्यसलाई इमान्दारितापूर्वक पालना नगर्दा हामीलाई कैयौँ क्षति पुग्ने गरेको छ । जस्तै कि, संसदका १÷२ सिटका लागि हामी देशभरका अन्य निर्वाचन क्षेत्रहरूमा अन्य पक्षहरूलाई समर्थन गर्नुपर्दछ । त्यहाँ हाम्रो राजनीति लैजाने, भण्डाफोर गर्ने, जनआधारको निर्माण गर्ने, संगठनको विस्तार गर्ने वा समानुपातिक मतहरू प्राप्त गर्ने हाम्रो सम्भावना पनि कम हुन जान्छ । एक्लै चुनावमा जाँदा हामीलाई कैयौँ क्षति पुग्ने पनि सम्भावना हुन्छ । तर त्यसका साथै, पहिले उल्लेख गरिएका कैयौँ क्षतिहरूबाट बच्ने, अर्थात देशका धेरै स्थानहरूमा उम्मेदवार उठाउने, आफ्नो राजनीति लैजाने, भण्डाफोर गर्ने, समानुपातिक मतहरू बढाउने सम्भावना पनि बढेर जान्छ । निश्चय नै तत्काल हामीले उक्त बेग्लाबेग्लै पक्षहरूलाई छलफलको लागि नै बाहिर ल्याएका छौँ । पछि सबै तहका हाम्रा साथीहरू वा समर्थकहरूले उक्त बिषयमा छलफल गर्दै जानु पर्दछ । चुनावका बेलामा त्यो बेला पक्ष वा विपक्षमा भएका सबै सम्भावनाहरूमाथि विचार गरेर हामीले आवश्यक निर्णयहरू गर्नेछौँ ।

१३. सरकारले अहिले जुन प्रकारको कार्यशैली अपनाएको छ, त्यो पनि धेरै नै गैरजिम्मेवार र आपत्तिजनक प्रकारको छ । खास गरेर प्रशासनको भ्रष्ट र नोकरशाही प्रकारको कार्यशैलीका कारणले जनता धेरै नै पीडित हुनुका साथै विकास कार्यक्रमहरू पनि धेरै नै अवरुद्ध हुने गरेका छन् । प्रशासनको त्यस प्रकारको प्रणालीमा सुधार गर्न सरकार असमर्थ हुने गरेको छ । हामीले सरकारलाई समर्थन गरेपनि सरकार र प्रशासन समेतको त्यस प्रकारको कार्यशैलीको कडा शब्दमा आलोचना गर्दछौँ ।

१४. देशको वर्तमान अवस्थामा सङ्घीयताबाट देशलाई झन् पछि झन् क्षति पुग्दै गइरहेको छ । त्यसबाट हाम्रो पहिलेदेखि नै यो अडान कायम छ कि पुरानो प्रकारको सामन्ती, केन्द्रिकृत र नोकरशाही प्रकारको एकात्मक प्रणाली देशका लागि उपयुक्त छैन र त्यो प्रणालीमा परिवर्तन हुनु पर्दछ । तर त्यसको विकल्प सङ्घीयता नभएर प्रजातान्त्रिक विकेन्द्रिकृत र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली नै हो । सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । त्यसको अनावश्यक खर्चको कारणले देशमा आर्थिक बोझ बढ्दै गइरहेको छ ।

अहिले देशमा जुन गम्भीर प्रकारको आर्थिक सङ्कटको स्थिति उत्पन्न हुँदै गइरहेको छ, त्यसका लागि धेरै हदसम्म सङ्घीयताको अनावश्यक आर्थिक बोझ पनि जिम्मेवार छ । त्यसबाट देशको राष्ट्रियता र अखण्डतामा पनि गम्भीर खतरा बढ्दै जाने सम्भावना छ । त्यसैले सङ्घीयताको विरुद्धको सङ्घर्षलाई अरू तीब्र र व्यापक पानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।