अंग्रेजलाई हराएको खुशीमा पाल्पामा विजयउत्सव

पाल्पा, भदौ २१ गते । बुधबार पाल्पाको तानसेनमा तत्कालिन नेपाली सेनाले अंग्रेजलाइ पराजीत गरेको खुशकीयालीमा विजयउत्सव बनाइएको छ । तत्कालिन कर्णेल उजिरसिंह थापाले अंग्रेज सेनामाथि बुटवल जीतगढी क्षेत्रमा विजय हासिल गरेको खुशीयालीमा श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथयात्रा विजयउत्सव निकालिएको हो ।

बुटवलको जीतगढी लगायतको क्षेत्रमा वि.स. १८७२ मा अंग्रेज सेनामाथि नेपाली सेनाको तर्फबाट कर्णेल थापाले विजय प्राप्त गरेका थिए । विस १८७२ दृखी १८७६ देखि भगवती मन्दिर स्थापना गरेर १८७७ देखी विजयउत्सव स्वरुप भगवतीको रथ जात्रा संचालन हुदै आएको छ ।

युद्धमा जानु भन्दा अगाडी थापाले विजयी हासिल गरे प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरी युद्धमा विजय हासिल गरेकाले जात्रा मनाउन थालिएको इतिहांस छ । नेपाल र अंग्रेज बीच भएका ५ वटा युद्धहरू मध्ये तत्कालीन पाल्पाली सेनाले मात्र युद्धमा विजय हासिल गरेको थियो ।

कृष्ण जन्माष्टीको दिन रातभर जाग्राम बसेर भगवतीको महिमा गाउने, राती १२ बजे साइत हेराएर मन्दिर परिसरमा भगवतीको रथ उचाल्ने, बली दिने र घुमाउने गरिन्छ । भोलिपल्ट रथलाई बिहानैदेखि सर्वसाधरणलाई पुजा गर्न खुल्ला गरिन्छ । भगवतीलाई कुखुरा, बोका र पाडा बली दिने गरिन्छ । विजय रथजात्रा १ बजे भित्र साइत अनुसार उठाएर ३ पटक मन्दिर परिक्रमा गराइएको थियो ।

भगवतीको रथयात्रामा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको गणपति र तानसेन नगरपालिका प्रमुख लगायतले वली दिएर पुजा गर्ने गरिन्छ । सर्वसाधारणले घरघरमा नै पुजा गर्दछन् । रथयात्रामा नेपाली सेनाले सालमी दिने चलन छ । विशेषगरी सेनाको पुजाकै रुपमा यस जात्रालाई लिइन्छ ।  रथयात्रामा सरकारी कर्मचारी, विद्यार्थी, विभिन्न संघ सस्था प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहन्छ ।

पाल्पामा लाग्ने १० भन्दा बढी जात्रामध्ये भगवतीको रथयात्रा सबै भन्दा ठूलो हो । रथयात्राको अवलोकन गर्न पाल्पा,गुल्मी स्याङजा, पोखरा बुटवल, अर्घाखाची लगायतबाट आउने गर्दछन् । पाल्पालीको पहिचानको रुपमा रहेको राष्ट्रिय जात्रा भएकाले लुम्विनी प्रदेश सरकारले जात्राका दिन पाल्पामा स्थानीय विदा दियो ।

विजय उत्सव मनाउनको लागी अधिकाश काठमाडौ लगायत जिल्ला बाहिर बसी काम गर्दै आएका पाल्पालीहरु तानसेन आएका थिए ।