महङीको उपहारबाट जनता मारमा, सरकार बेखवर

बुटवल, असोज १४ गते । दैनिक उपभोग्य वस्तु खाद्यान्न लगायत पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यांस र हवाइ इन्धनको मुल्य बढेको छ । मुल्यवृद्व र बजारमा व्यापारीको मनोमानीले आमउपभोक्ता मारमा परेका छन् ।

आमउपभोक्ता वा जनतालाई राहत दिने दायित्व सरकारको हो । तर सरकार मुल्यवृद्विको विषयमा बोल्न पनि सकेको छैन । जसका कारण अहिले सरकारको चौतर्फी बिरोध भैरहेको छ । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यांस र हवाइ इन्धनको भाउ बढाएको छ । आइतबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यांस र हवाइ इन्धनको भाउ बढाएको हो ।

 

निगमले शनिबार विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रुपैयां र डिजेल तथा मट्टीतेल लिटरमा ६ रुपैयां बढाएको जानकारी दिएको हो । त्यस्तै खाना पकाउने ग्यांसको भाउ प्रतिसिलिन्डर दुई सय १५ रुपैयां बढाएको छ । हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रुपैयां र बाह्यतर्फ प्रति लिटर करिब ८ रुपैयांले बढाएको छ । भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्यसूची अनुसार निगमले नयां भाउ तोकेको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयां ३४ पैसा, डिजेलमा चार रुपैया ८२ पैसा, ग्यांसमा एक सय ७३ रुपैयां ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयां ५४ पैसा बढाएर नयां मूल्य सूची पठाएको छ । निगमले तय गरेको नयां मूल्य देशभरका विभिन्न ठाउंअनुसार लागू भैसकेको छ ।

 

पेट्रोलियम पदार्थसंगै तिहार, छठ लगायतका चाडपर्व नजिकिदै गर्दा बजारमा महंगी तथा मुल्यवृद्वि बढेको छ । व्यापारीले आफूखुशी खाद्यवस्तुको मूल्य निर्धारण गरी बिक्री गरेको उपभोक्ताको गुनासो छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले खासै महंगी नबढेको देखाएपनि चाडपर्व नजिकिन थालेपछि बजारमा हरेक समानमा मूल्यवृद्धि भएको छ । बजारमा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । अहिले चिनी, दाल र अन्य वस्तुको मुल्य बढेको छ । केही समयअघि चामलको मूल्य बढेको र केही दिनमा थिर रहेको चामलको मुल्यपनि व्यापारीले मनोमानी रुपमा मुल्यवृद्व गरेका छन् ।

बजारमा अहिले चिनी किलोको मुल्य पसलै पिच्छे फरक–फरक रहेको छ । केही समय अघिसम्म किलोको एक सय रुपैयां रहेको चिनीको मूल्य अहिले १ सय १० देखि २० रुपैयांसम्म पुगेको छ । मागको ५० प्रतिशत चिनी आयातमै भर पर्नुपर्ने अवस्था रहेपनि अहिले बढेको मूल्य भने अस्वाभाविक हो ।

कालोबजारीसंगै कृत्रिम अभाव सिर्जना गरेर महंगो मुल्यमा व्यापारीहरुले खाद्ययवस्तुदेखि हरेक समान विक्री गरिरहंदा पनि महंगी नियन्त्रणमा राज्यले चासो नदिएको उपभोक्ताले बताएका छन् । बजारमा भएको अस्वभाविक मुल्यवृद्वि नियन्त्रणका लागि राज्यले चासो नद्एिंको आमउपभोक्ताको गुनासो छ ।