रुपन्देहीमा सुप्रिम सहकारी ठगीमा मुद्दा दर्ता
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दर्ता भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो । रवि र छविलाल जोशी, मुख्य नाइके जीबी राईसहित पुरक अभियोगका १४ र शुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
सहकारी ठगी र संगठित अपराधको कसूरमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको पूरक अभियोजन आइतबार दर्ता भएको हो । त्यस्तै यसअघि नै दर्ता भएका २८ जनामध्ये १७ जनालाई थप कसूर र थप बिगो माग गरिएको मुद्दा पनि दर्ता भएको छ ।
सबैभन्दा बढी जीबी राईसँग ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ । रविविरुद्ध ४ करोड १५ लाख बढी र पूर्व डिआइजी जोशी विरुद्ध ४ करोड २७ लाख बढी बिगो माग दाबी सहितको अभियोग पत्र सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाइएको बताइएको छ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो। त्यतिबेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पुरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने र जोशीसहित १७ जनालाई सहकारी ठगी र संगठित अपराधको आरोपमा कारबाही गर्न माग गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते प्रतिवादीहरुबारे रायसहितको प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अध्ययनपछि अभियोगपत्र तयार गरी अदालतमा पेश गरिएको हो। अभियोगपत्रमा लामिछानेको व्यक्तिगत दायित्वमा दुई करोड र सामूहिक दायित्वमा थप दुई करोड गरी चार करोडभन्दा बढी बिगो माग गरिएको छ।
यसअघि कास्कीको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सूर्यदर्शन सहकारी ठगी अभियोगमा लामिछाने ६५ लाख धरौटी बुझाएर र जोशी ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए ।
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गरेको थियो। रुपन्देहीमा पूरक अभियोग दर्ता भएसँगै थुनछेक बहस हुनेछ। यसका साथै चितवन र पर्साका अन्य सहकारी प्रकरणमा पनि उनीहरुमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।