अमेरिकामा कागज नभएका एक करोड आप्रवासीको अवस्था के होला ?
ह्वाइट हाउस । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प केही समयमा नै ह्वाइट हाउस प्रवेश गर्ने छन्। सञ्चार माध्यमको बारम्बारको मत सर्वेक्षणलाई गलत साबित गर्दै ५ नोभेम्बरमा भएको निर्वाचनमा सफलता पाएका ट्रम्पले गर्ने कामको बारे सबैलाई चासो छ। पक्कै पनि ट्रम्पको पहिलो चासो आप्रवासी मुद्दा, जलवायु परिवर्तन, क्रिप्टो करेन्सी र ऊर्जाका विषयमा हुने छन्। समाचारमा ट्रम्पको सुरुवाती काम कस्तो रहने भन्ने चासो अहिले सबैमा छ।
ट्रम्पको शपथ ग्रहण नेपालको मध्यारतमा अथवा जिएमटी अनुसार साँझ ५ बजे हुनेछ। उनलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराउने छन्। यसअघि कङ्ग्रेस भवन बाहिर हुने बताइए पनि चिसो मौसमका कारण हलमा नै शपथ ग्रहण कार्यक्रम हुनेछ।
शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि राष्ट्रपति जो बाइडेन पनि त्यस समारोहमा उपस्थित हुने छन्। संसारका अन्य देशका नेतृत्व पनि त्यहाँ उपस्थित हुने जनाइएको छ। ट्रम्पका मुख्य समर्थक अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलाई तथा हंगेरीका भिक्टर उबार्नको त्यहाँ उपस्थिति रहने छ। बिलिनियर एलन मस्क, जेफ बजस तथा मार्क जुकरबर्गको पनि उपस्थिति रहनेछ।
‘मेक अमेरिका ग्रेट एगेन’ भन्दै नारासहित मार्च पनि हुनेछ। स्टिभ विटकोफ र केली लोइफरको नेतृत्वमा गठित ट्रम्प शपथ ग्रहण समितिले १७० मिलियन अमेरिकी डलर चन्दा उठाएको छ। बजस, जुकरबर्ग तथा उबेरका प्रमुख कार्यकारी डारा खोसरोससाही सबै भन्दा धेरै चन्दा दिने मध्यका थिए। उनीहरूले १० लाख अमेरिकी डलर चन्दा दिए।
नयाँ राष्ट्रपति कार्यालय प्रवेश गर्ने बित्तिकै केही निर्णय गर्ने छन्। यी निर्णयका बारे धेरैको चासो छ। तर, अहिले एउटा कुरा के पक्का हो भने उनले सीमा बन्द गर्ने छन्। अवैध आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउने प्रयास गर्ने छन्। यो नै डोनाल्ड ट्रम्पको कार्यकालको सबै भन्दा महत्त्वपूर्ण र चर्चाको विषय हो।
सन् २०२३ को जुलाईको आँकडा अनुसार एक करोड १७ लाख कागजात नभएका आप्रवासी अमेरिकामा छन्। यसमा केही सङ्ख्या बढी सकेको हुनसक्छ। चार वर्ष अघि जो बाइडेन राष्ट्रपति भए पछि मात्र ८० लाख जना दक्षिणी सीमा हुँदै अवैध रुपमा अमेरिका प्रवेश गरेको जनाइएको छ।
मेक्सिको अमेरिका सीमाबाट अमेरिका प्रवेश गर्नेको लर्को सन् २०२३ को अन्त्यमा अधिकतम पुगेको थियो। सोही समयमा सन् २०२४ को लागि निर्वाचनको चर्चा सुरु भइसकेको थियो। सो चर्चासँगै ट्रम्प राष्ट्रपति बाइडेनमाथि कठोर भएका थिए। यसपछि नै बाइडेनले डिपोटलाई प्राथमिकता दिएको थिए। यसरी बाइडेन विगतको भन्दा कठोर भएपछि सन् २०२४ को अगस्ट अन्त्य सम्ममा सो सीमाबाट अमेरिका प्रवेश गर्न चाहनेको सङ्ख्यामा ७७ प्रतिशत कमी आएको थियो। सो सीमाबाट सबै भन्दा धेरै ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोर र मेक्सिकोका नागरिक प्रवेश गर्ने गरेका थिए।
सन् २०२३ को अन्त्य तथा सन् २०२४ को अगस्टको अन्त्यसम्ममा ग्वाटेमालामा ८१, होन्डुरसमा ७६, एल साल्भाडोरमा ६४ तथा मेक्सिकोमा ५२ प्रतिशत कमी आएको थियो। यसैगरी भेनेजुएला, क्युबा, हाइटी र निकारागुवाका नागरिक त्यस सीमा पार हुँदै अमेरिका प्रवेश गर्ने क्रममा पनि त्यसै ८ महिनामा व्यापक कमी आएको थियो।
भेनेजुएलाका ९९ प्रतिशत, क्युबाका ९८, हाइटीका ९७ तथा निकारागुवाको सवालमा ९६ प्रतिसतले कमी आएको थियो। प्यु रिसर्च सेन्टरले यस भन्दाअघि नै एउटा अध्ययन गरेको थियो। सन् २०२२ को अध्ययन अनुसार सीमाका अन्य धेरै देशबाट भन्दा एसियाबाट अमेरिका पुग्ने तथा कागजात विना त्यहाँ बस्ने आप्रवासीको सङ्ख्यामा वृद्धि भइरहेको थियो।
सन् २०१९ देखि २०२२ को बिचमा यसरी अनधिकारिक आप्रवासी बढ्ने देश क्यारेबियन, दक्षिण एसिया, एसिया, युरोप तथा सब सहारा क्षेत्रमा बढी थिए। ती विना कागजातका आप्रवासी सबै भन्दा धेरै ६ राज्यमा बस्ने गरेका छन्। फ्लोरिडा, मेरिल्यान्ड, मासाचुसेट, न्यूजर्सी, न्युयोर्क र टेक्ससमा यसरी अवैध आप्रवासीको सङ्ख्या सबै भन्दा धेरै बढेको थियो। क्यालिफोर्नियामा अवैध आप्रवासीको सङ्ख्यामा कमी आएको थियो।
आप्रवासीमा बढेको चिन्ता
डिसेम्बर महिनामा नै ट्रम्पले एक करोड १० लाख विना कागजातका आप्रवासीलाई फर्काउने घोषणा गरिसकेका छन् यसले आप्रवासीमा चिन्ता छाएको छ। आप्रवासीका निम्ति काम गर्दै आएका चार वटा संस्थामाथि दबाब बढेको छ। त्यस संस्थाका अधिकारीलाई हरेक दिन फोन आउने गरेको थियो। आप्रवासीको अधिकारका बारे फोन आउने गरेको हो। होप कम्युनिटी सेन्टरका फिलिप साउसा लाजाबरले उनीहरूको अवस्था आफ्ना लागि हृदय विदारक भएको समेत बताए।
तत्कालै फिर्ता हुने डरले त्रसित धेरै व्यक्तिलाई कानुन व्यवसायी तथा विभिन्न संस्थाले सल्लाह दिनुका साथै कागजात तयार गर्नमा सहयोग गरिरहेको छ। उनीहरू एकै पटक ती सबै आप्रवासीलाई फिर्ता पठाउन असम्भव हुने बताउँछन्।
शरणार्थी र आप्रवासीका बारेमा वकालत गर्दै आएको सेन्ट एन्टेनियोको रेइसेस समूहका जेभियर हिडाल्गो संवेदनशील क्षेत्रमा पनि आप्रवासी पाउने सुविधामा अप्ठेरोमा पर्नसक्ने बताउँछन्।
रेइसस आप्रवासीका लागि काम गर्ने सबै भन्दा ठुलो संस्था हो। यो टेक्ससमा छ। यसका अधिकारीले अमेरिकाका आप्रवासी तथा मानव अधिकार जोगाउनका लागि आफूहरू पूर्ण रूपमा लागी पर्ने बताउँछन्। २० जनवरीको दिन ट्रम्प कार्यालय प्रवेश गरेसँगै आउन सक्ने समस्यालाई ध्यानमा राख्दै धेरै कानुनी विकास तथा संस्थाहरू पनि सक्रिय भएका छन्।
पछिल्लो समय विभिन्न देशमा भएका गृहयुद्ध, दुई देशको युद्ध तथा धेरै देशमा गरिबीका कारण समृद्ध अमेरिका पुग्न चाहनेको सङ्ख्या बढी रहेको छ। अमेरिकाका प्रत्येक दिन अमेरिकामा आप्रवासीको सङ्ख्या ह्वात्त बढेको साँचो हो। आप्रवासीको मुद्दालाई उठाएका तथा पदमा पुग्ने बित्तिकै डिपोट गर्ने बताउँदै आएका ट्रम्पको शपथ ग्रहणपछि संसारको नै ध्यान यस विषयमा केन्द्रित हुनेछ। त्यसपछि रुस युक्रेन युद्ध लगायत अन्य वैदेशिक मामलामा अमेरिकी भूमिकाका बारे पनि धेरैको चासो छ।