लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुने

     बुटवल, कार्तिक २८ गते।  बुटवलमा सञ्चालित लुम्बिनी वाणिज्य क्याम्पसले आगमी मंसिर १४ र १५ गते चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्ने भएको छ ।
क्याम्पसले पत्रकार सम्मेलन गरी दुईदिन इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म) (४) आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससंग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रियस्तरका कन्फ्रेन्सहरु महत्वपूर्ण हुने बताए ।

कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसियालगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरु तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरुले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फ्रेन्स हो । यस अगाडि तीनपटक सम्पन्न गरिसकेको छ । नेपालको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मासहित भारत, चीन, मलेसिया, थाइल्याण्डका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई प्रमुख वक्ताको रुपमा राखिएको सहप्राध्यापक तथा कार्यक्रम संयोजक पिताम्बर सापकोटाले जानकारी दिए । सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरु समेत गरी १२० जनाभन्दा बढी अनुसन्धानकर्ताले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् ।
कन्फ्रेन्स सम्पन्न गर्न ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले यस्ता खालका महत्वपूर्ण विषयमा अनुसन्धानका लागि वजेट नदिएकोप्रति आयोजकहरुले गुनासो गरेका छन् ।

कन्फ्रेन्सका लागि सरकारको तर्फबाट मात्रै २ लाख सहयोग प्राप्त हुने आश्वासन पाईएको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले बताए । क्याम्पस प्रमुखका अनुसार अहिलेसम्म २५ लाख सहयोगबाट संकलन गरिएको अन्य आवश्यक पर्ने २० लाख संकलनका लागि तयारी भैरहेको छ ।

बुटवलको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने कन्फ्रेन्सको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।