मुटु अस्पतालको अध्यक्षमा पुनः आलम, स्तरबृद्धिका लागि प्रदेश सरकारसँग बजेट माग
बुटवल । बुटवलमा सञ्चालित गौतमबुद्द सामूदायिक मुटु अस्पतालको १२ औं स्थापना दिवस मनाईएको छ । बुधबार एक समारोहको आयोजना गरी १२ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन र अस्पतालको बाह्रौ स्थापना दिवस मनाईएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनीमा सरकारलाई काम गर्नका लागि सहज अवस्था रहेको बताए । उनले अहिलेसम्मकै सहज अवस्था रहेकाले सरकारले काम गर्न कति सक्छ भन्नेमा आफ् हेरेर बसेको बताउँदैजनताको हितमा सरकारले गरेका कामप्रति प्रदेश प्रमुखको तर्फबाट सहजरुपमा सहयोग गर्ने जनाए ।
प्रदेश प्रमुख घर्तीले सरकारमा नीतिगत सुधार र स्पष्टता हुनुपर्ने भन्दै अहिलेको सरकारलाई काम गर्न सहज भएकाल जनताको पक्षमा निर्णय तथा नतित नियम बनाउन आग्रह गर्दै लुम्बिनी सरकारलाई लटर पटर गर्ने छुट नभएको जिकिर गर्दै समाज र भुगोलको विकासमा अघि बढ्नका लागि प्रदेशका मन्त्री र सांसदहरुलाई सुझाए ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनुपर्ने बताउँदै नीतिगत अठ्यारालाई फुकाएर स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाए । मुटु अस्पतालको भवन बनाउन आर्थिक एवं भौतिक दुबैपक्षमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको र स्वास्थ्य सेवालाई सहज गराउन गम्भीर भएर अगाडि बढेको बताए ।
मन्त्री सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेसिन ल्याउने बताउँदै मेसिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेसिन गरिद गरिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, संविधानसभा सदस्य नेत्र पन्थी, डा. समिर गौतम, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मटु अस्पतालको स्तरवृद्दि र अस्पतालको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरे ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका अध्यक्ष एजाज आलमले जग्गा प्राप्तिसँगै भवन निर्माण गरिने बताउँदै त्यसका लागि प्रदेश सरकारसँग आर्थिक सहयोगको अपिल गरे । अध्यक्ष आलमले हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तममा प्राप्त हुने जग्गामा २ सयदेखि ६ सय बेडको अस्पतालको रुपमा बिकास गर्ने योजना प्रस्तुत गर्दै अस्पतालको स्तरवृद्दि गरी ८ सय बेडको बनाउने योजना रहेको बताए । बाह्रौ अधिवेशन तथा साधारण सभाले पुनः एजाज आलमलाई अध्यक्षतमा चयन गरेको छ । अध्यक्ष आलम स्थापनाकालदेखि बाटै हालसम्म अध्यक्ष बन्दै आएका छन् ।