दाउन्नेमा तीन दिनदेखि सडक सास्ती, बुटवल–नारायणगढ खण्ड अझै अवरुद्ध

काठमाडौँ । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा नराम्ररी प्रभावित भएको हो।

हिउँदे वर्षा रोकिए पनि दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा निकै कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए। दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधनहरु उकालो चढ्न नसकेर बीच बाटोमै फसेका छन्।

पानी रोकिए पनि सडकको अवस्थामा सुधार आउन सकेको छैन, प्रहरी उपरीक्षक खड्काले भने, हिलो र लेदोका कारण पूर्वबाट पश्चिम जाने सवारीसाधनहरु उकालोमा चिप्लिएर रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी केही मात्रामा चलिरहेका छन्।

तीन दिनदेखि सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रु र चालकहरु बाटोमै अलपत्र परेका छन्। मालवाहक सवारीसाधनहरु रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ। सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत दाउन्ने खण्डमा यस्तो समस्या दोहोरिने गरेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। हाल सडक मर्मत गरी यातायात सुचारु गर्ने प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ।

सडकको अवस्थालाई मध्यनजर गर्दै बुटवल–नारायणघाट सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठुला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।