रियल म्याड्रिड छाडेर एभर्टन गए रोद्रिगेज

इंग्लिस क्लब एभर्टनले कोलम्बियाका आक्रामक मिडफिल्डर जेम्स रोद्रिगेजलाई भित्र्याएको छ।

उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट २० मिलियन पाउन्डमा एभर्टनले आबद्ध गरेको हो।

२९ वर्षीय रोद्रिगेजसँग दुई वर्षको सम्झौता गरिएको छ भने त्यसपछि पनि सम्झौता गर्न सकिने विकल्प राखिएको छ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा गोल्डेन बुट जितेपछि उनी स्पेनिस क्लब रियलमा आबद्ध भएका थिए।

रियलसँगको अन्तिम वर्षको सम्झौतामा रहेका उनले गत सिजन १४ खेल खेलेका थिए।

रोद्रिगेजले रियलबाट दुई पटक ला लिगा र दुई च्याम्पियन्स लिग जिते। त्यसपछि उनी दुई सिजनका लागि जर्मन क्लब वायर्न म्युनिखमा लोनमा गएका थिए। जसमा उनले दुवै सिजन बुन्डेसलिगा जित्न सफल भए।

गत सिजन फेरि रियलमा फर्किए पनि उनले ला लिगामा ८ खेल र बाँकी प्रतियोगितामा ६ खेल खेल्न सफल भए। उनले ला लिगाका ८ खेलमा एक गोल गरे।

रियलमा उनले ८५ खेलमा २९ गोल गर्दा वायर्नका लागि ४३ खेल खेलेर १४ गोल गरे।

सन् २०१४ मा रियलमा आबद्ध हुनुअघि अघि उनले मोनाको र एफसी पोर्टोबाट खेलेका थिए।