डीपी अर्यालको प्रतिबद्धता संविधानको परिधिमा रहेर काम गर्नेछु

काठमाडौँ। संघीय संसद् सचिवालयले सभामुख पदका लागि तोकेको समयावधिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालको मात्रै उम्मेद्वारी परेको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार अर्याल एक्लै उम्मेद्वार बनेका हुन्।

सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय निर्धारण गरेको थियो। सोही अवधिमा रवि लामिछाने प्रस्तावक तथा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल समर्थकका रुपमा राखी अर्यालले उम्मेद्वारी दर्ता गराएका हुन्। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सय ८२ सिट रहेकाले अर्यालको सभामुखमा निर्वाचित हुने निश्चित छ। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट निर्विरोध रूपमा सभामुख घोषणा गरिनेछ।

यसैबीच मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानूनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, हामीसँग संविधान छ, कानून छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानूनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।

उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानून, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरु न्यायसम्मत रुपमा अगाडि बढाउने उनको भनाइ छ ।