विश्व कम्युनिष्ट पार्टीका नेता माओको मनाईयो जयन्ती

बुटवल, पुस ११ गते । विश्व कम्युनिष्ट पार्टीका नेता माओको १२९ औं जयन्ती मनाइएको छ । माओलाई मान्ने नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले माओ जयन्ती मनाएका हुन् । नेकपा मसाल, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी लगायतका अन्य विभिन्न कम्युनिष्ट घटकले माओ जयन्ती मनाएका हुन् । कतै संयुक्त र कतै आआफ्नै ढंगले आइतबार माओ जयन्ती मनाइएको हो । रुपन्देहीसहित देशभर नेकपा मसाल, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टीले माओ स्मृतिमा माओ जयन्ती मनाएका हुन् ।

माओ जयन्तीको अवसरमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओको सिद्धान्तले नेपाल जस्तो मुलुक र कम्युनिष्ट पार्टीका लागि गम्भीर अर्थ र महत्व राख्ने बताउनुभएको छ । आइतबार विज्ञव्ती जारी गरी मसालका महामन्त्री सिंहले माओको विचारले विश्वको क्रान्तिकारी आन्दोलनलाई पथप्रदर्शन गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी मसाल
बुटवल, नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले १२९ औं माओ दिवसको शुभकामना दिएको छ । आइतबार प्रेस वक्तव्य जारी गरी मसाल महामन्त्री मोहनविक्रम सिंहले माओको विचारले विश्वको क्रान्तिकारी आन्दोलनलाई पथप्रदर्शन गर्ने उल्लेख गर्नुभएको छ । माओको सिद्धान्तले नेपाल जस्तो मुलुक र कम्युनिष्ट पार्टीका लागि गम्भीर अर्थ र महत्व राख्ने महामन्त्री सिंहले बताउनुभएको छ । सोही सन्दर्भमा सिंहले कम्युनिष्ट आन्दोलनमा देखापर्ने विभिन्न भड्काव र अवसरवादविरुद्ध सम्झौताहीन संघर्ष गरेर नै कम्युनिष्ट आन्दोलनको रक्षा हुनसक्ने पनि स्पष्ट पार्नुभएको छ ।
यस्तो छ, वक्तव्य
आज १२९ औं माओ दिवसको उपलक्ष्यमा हामीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अरू उच्च रूपमा अगाडि बढाउने प्रतिवद्धता प्रकट गर्दछौ । माओले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई उच्चतम रूपमा अगाडि बढाएर पिछडिएका तथा अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशहरूमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? त्यसबारे नयाँ सिद्धान्तको प्रतिपादन मात्र गरेनन्, तर त्यो सिद्धान्तलाई व्यवहारिक रूप दिने ऐतिहासिक कार्य पनि गरे । उनले प्रतिपादन गरेको सिद्धान्तले खाली चीनका लागि मात्र होइन, विश्वव्यापी रूपमा महत्व राख्दछ र क्रान्तिकारी आन्दोलनलाई पथप्रदर्शन गर्दछ । आज पनि त्यो सिद्धान्तले हाम्रो लागि गम्भीर अर्थ र महत्व राख्दछ । विश्व समाजवादी व्यवस्थाको पतन तथा स्वयम् चीनमा पनि पुँजीवादी व्यवस्थाको पुनस्र्थापनाका आधारमा कम्युनिस्ट विरोधीहरूले विश्वमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त गलत सावित भएको र अब समाजवादको कुनै भविष्य नरहेको घोषण गरेका छन् र त्यसबाट क्रान्तिकारी पङ्क्तिमा पनि काफी भ्रम र निराशा पैदा हुने गरेको छ । तर माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा ऐतिहासिक भौतिकवादलाई ठीकसँग बुझ्न नसक्दा नै त्यस प्रकारको भ्रम पैदा हुने गर्दछ । तर ऐतिहासिक भौतिकवादका आधारमा समाज वा इतिहासको विकासक्रमलाई ठीकसँग बुझ्ने हो भने यो कुरामा कुनै भ्रम रहँदैन कि समाजवाद इतिहासको विकासक्रम वा भौतिक परिस्थितिले अगाडि ल्याएको अनिवार्य परिणाम हो ।
एकातिर समाजमा उत्पन्न शोषण र उत्पीडन र अर्कातिर, उत्पादन प्रणालीमा हुँदै गएको सामाजिकीकरणको परिणामस्वरुप नै समाजमा समाजवादी सामाजिक संरचनाको विकास हुनु अनिवार्य छ । संसारको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन । पुँजीवादले समाजवाद पराजित र असफल भएको घोषणा गर्दछ । तर सत्य यो हो कि स्वयम् पुँजीवादले उत्पादन प्रणालीलाई बढी भन्दा बढी सामाजिक रूप दिएर समाजवादको लागि भौतिक आधार तयार पार्ने काम गर्दछ ।

पुँजीवादको सबभन्दा ठूलो समस्या यो हो कि नाफा बिना त्यसको अस्तित्व रहन नै सक्दैन । नाफा बढाउनका लागि उनीहरूले लगातार उत्पादन प्रणालीलाई ठूलो रूप दिँदै जानुपर्दछ र त्यो क्रममा उत्पादनले झन् पछि झन् ठूलो र सामाजिक रूप लिँदै जान्छ । त्यसको परिणामस्वरुप उत्पादनका साधनहरूमाथिको स्वामित्व र उत्पादित सामग्रीहरूको व्यक्तिगत प्रणालीका प्रणालीका बीचमा गम्भीर प्रकारको अन्तरविरोध पैदा हुन्छ । त्यो अन्तरविरोधले पुँजीवादभित्र कैयौँ प्रकारका असङ्गति र सङ्कटहरू पैदा हुन्छन् र तिनीहरूलाई समाधान गर्नु पुुँजीवादका लागि सम्भव हुँदैन । त्यो समस्याको समाधान खालि समाजवादले नै गर्न सक्दछ । त्यसकारण पुँजीवादका गर्भबाट समाजवाद उत्पन्न हुनु बाहेक अन्य कुनै विकल्प छैन ।
दास युगदेखि नै शोषण, उत्पीडन र वर्ग विभाजन पैदा भयो । त्यो बेलादेखि नै शोषण उत्पीडनका विरुद्ध वर्ग सङ्घर्ष पनि सुरु भयो । शोषक वर्गले वर्ग सङ्घर्षलाई दबाउनका लागि सँधै प्रयत्न गर्दै आएका छन् । तर त्यसमा उनीहरू सँधै असफल हुँदै आएका छन् । समाजमा चल्ने वर्ग सङ्घर्षका दुईवटा परिणामहरू हुँदै आएका छन् । प्रथम, वर्ग सङ्घर्षले पहिलेको सामान्य र निम्न अवस्थाबाट झन् पछि झन् उच्च, व्यापक र शक्तिशाली रूप लिँदै आएको छ । द्वितीय, विश्वका कैयौँ शोषण प्रधान व्यवस्थाहरू ढल्दै आएका छन् । विश्वको इतिहास त्यो कुराको साक्षी छ ।
इतिहासका विभिन्न कालखण्डमा कायम रहेका सबै शोषण प्रधान व्यवस्थाहरूले आफूलाई अजय र अमर भएको कुरा बताउँदै आएका छन् । दास वा सामन्तवादी व्यवस्थाहरूले त्यही दाबी गरेका थिए र त्यसको लागि ठूलो पैमानामा दमन पनि गरेका थिए । तर ती सबै व्यवस्थाहरू ढल्दै गए । अब पालो पुँजीवादको हो । त्यसलाई आफूलाई इतिहासको सबैभन्दा श्रेष्ठ र कहिल्यै पनि समाप्त नहुने व्यवस्था भएको दाबी गर्दछ । तर इतिहासका विभिन्न कालखण्डमा कायम भएको अन्य व्यवस्थाहरू जस्तै त्यसको पनि अन्त हुने कुरा अवश्यमभावी छ ।
नेपालमा पनि अहिले कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएको छ । तर आफ्नो कालमा नेपालको कम्युनिस्ट आन्दोलनले धेरै उपलब्धिहरू प्राप्त गरेको छ । सामन्तवादी व्यवस्थालाई ध्वस्त पार्न र सामाजिक रुपान्तरणका लागि त्यसको ठूलो योगदान रहेको छ । देशका राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि पनि त्यसले लगातार सङ्घर्ष गर्दै आएको छ । निश्चय नै कम्युनिस्ट पार्टीले क्रान्तिकारी उद्देश्यहरू पूरा गर्नको लागि सङ्घर्ष गर्नुका साथै तात्कालिक राष्ट्रिय समस्याहरूका लागि संयुक्त मोर्चा नीतिका आधारमा अन्य पक्षहरूसँग मिलेर पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसरी नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा संयुक्त मोर्चा नीतिको पनि महत्वपूर्ण इतिहास रहने गरेको छ ।
आज पनि नेपालका अगाडि जनताको लामो आन्दोलनद्वारा प्राप्त लोकतन्त्र, गणतन्त्र, बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता आदिको रक्षा गर्ने गम्भीर जिम्मेवारीहरू छन् । एकातिर आफ्नो स्वतन्त्र पहलकदमी र अर्कातिर संयुक्त मोर्चा नीतिको आधारमा तिनीहरूको रक्षाको लागि सङ्घर्ष अगाडि बढाउने जिम्मेवारी हाम्रा अगाडि छन् ।
विश्व कम्युनिस्ट आन्दोलन सीधा रेखामा होइन, कैयौँ प्रकारका बाङ्गाटिङ्गा बाटाहरूका बीचबाट हुँदै अगाडि बढ्दै आएको छ । त्यसले एकातिर, दुश्मनशक्तिहरूका हमलाहरूका विरुद्ध सङ्घर्ष गर्दै आउनु परेको छ भने, अर्कातिर, स्वयम् कम्युनिस्ट आन्दोलनभित्रका विभिन्न प्रकारका वैचारिक भ्रम र भड्कावहरूका विरुद्ध संघर्र्ष गर्दै आउनु परेको छ । वास्तविकता त अरू यो हो कि विश्व समाजवादी व्यवस्थाको पतन वा विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुग्नुका पछाडि स्वयम् कम्युनिस्ट आन्दोलनभित्र देखा परेका विभिन्न प्रकारका अवसरवादी विचार र भ्रमहरूको ठूलो भूमिका रहने गरेको छ । त्यसैले विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्स, एङेल्सको समयदेखि नै पार्टीभित्र गलत सोचाइहरूका विरुद्धको सैद्धान्तिक, राजनीतिक वा संगठनात्मक संघर्षले अत्यन्त ठूलो महत्व राख्ने गरेको छ । त्यस प्रकारको संर्घष नै कम्युनिस्ट आन्दोलनलाई जीवित राख्ने गरेको छ । हाम्रो पार्टीको इतिहासमा पनि त्यस प्रकारको अन्तरसङ्घर्षको लामो इतिहास रहेको छ र आज पनि हामी त्यस प्रकारको सङ्घर्षका बीचमा छौँ ।त्यो लगातार चलिरहने प्रक्रिया हो । एउटा गलत विचारलाई पराजित गरेपछि पुनः नयाँ गलत विचारहरू पैदा हुने गर्दछन् र तिनीहरूका विरुद्ध नयाँ प्रकारले सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको अजेय सिद्धान्तले हामीलाई लगातार पार्टीबाहिरका वा भित्रका सबै प्रकारका हमला वा गलत विचारहरूका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्नको लागि प्रेरणा, शक्ति र उर्जा दिन्छ ।
अन्तमा आज माओदिवसको उपलक्ष्यमा हाम्रा अगाडि अन्तराष्ट्रिय स्तरमा वा देशभित्र पनि आफ्ना क्रान्तिकारी उद्देश्यहरू पूरा गर्न वा देश, समाज, पार्टी र क्रान्तिको सेवाको लागि प्रतिवद्ध भएर अगाडि बढ्नको लागि हामीले प्रण गर्नुपर्दछ, त्यो नै माओप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ ।