सिद्धबाबामा पाँच वर्ष

दलबहादुर गुरुङ
पाल्पा तिनाउमा रहेको सिद्धबाबा मन्दिर, सिद्धपुरुष भर्तृहरिको तपोभूमि हो । यो धार्मिक पर्यटनको सुन्दर गन्तव्य समेत हो । पाल्पा सदरमुकाम तानसेनबाट दक्षिणतिर ३७ किमी दूरीमा रहेको यो मन्दिर लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट उत्तरदिशा दुई किमी दूरीमा रहेको छ ।

सिद्धबाबा मन्दिरमा वर्षेनी लाख बढीको संख्यामा श्रद्धालु भक्तजनहरु नेपालका कुना– काप्चादेखि छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट समेत दर्शन गर्न आइपुग्छन् । विशेष गरेर शिवरात्रीमा यहाँ भव्य मेला लाग्छ । त्यसका अलवा चैते अष्टमी,नवमी,नयाँ वर्ष, विश्वकर्माको पूजा लगायत विशेष पर्वहरुमा यहाँ दर्शन गर्न आउनेहरुको संख्या यथेष्ट भेटिन्छ ।
सिद्धबाबा खासमा शिवजीको मन्दिर हो । यहाँ गणेश,मनसादेवी,लक्ष्मी,दुर्गा लगायतका मन्दिरहरु पनि छन् । भर्तृहरिले सिद्धबाबा नजिकै कुहिरेभीरमा तपस्या गरी सिद्धि प्राप्त गरेको कारण यस मन्दिरको नाम सिद्धबाबा रहन गएको किंवदन्ति पाइन्छ । त्यसैगरी यहाँ भक्तजनहरुले आफ्नो मनोकांक्षा प्रकट गर्दछन् र सिद्धि प्राप्त गर्ने भएकाले समेत यो मन्दिरको नाम सिद्धबाबा रहन गएको जनश्रुति वा जनविश्वास पाइन्छन् ।
सिद्धबाबा मन्दिर,चुरे क्षेत्रमा,पहिरोको छेवमै रहेको छ । मन्दिरको छेउमा एउटा खोल्सा छ । ठूलो चट्टानको बीचमा मन्दिर रहेको कारण अहिलेसम्म आएको बाढीपहिरोले क्षति पुराउन सकेको छैन । मन्दिरको नजिकै निकट भविष्यमा सुरुङ मार्ग खुल्दैछ । देशको लगानी र विदेशी प्रविधिमा खुल्ने उक्त सुरुङ मार्ग सम्भवतः नेपालकै पहिलो हुन सक्ने अड्कल गरिएको छ ।
यो मन्दिरलाई सिद्धबाबा मन्दिर विकास समितिले लुम्बिनी प्रदेशकै नमूना एवम् धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियानका साथ अघि बढिरहेको छ । मन्दिरले आफ्नो वेवसाईड,एप्स बनाएको छ । मन्दिरको इतिहास,भर्तृहरि र आदिमानव रामपिथेसकसलाई समेटेर सिद्धबाबा नामक ऐतिहासिक दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरी वितरण गरेको छ । त्यस्तै यस मन्दिरले नेपाली,हिन्दी,संस्कृत र अंग्रेजी भाषामा फोटोसहितको ब्रोसियर प्रकाशन र वितरण गरिरहेको छ । २०७८ मा हामीले फोटो फिचर प्रकाशन गरी देशव्यापी वितरण गरेका छौं । निकट भविष्यमै सिद्धबाबा नामक वृत्तचित्र निर्माण कार्यसम्पन्न गर्दैछौं ।

कदमबास नजिकै हामीले पिकनिक स्पट बनाएका छौं । बाटिका बनाएका छौं । मन्दिरको वरिपरि ढुंगामा देवीदेउताका चित्रहरु कोरेका छौं । मन्दिर परिसरमा ढुंगा छपान गरेका छौं । मन्दिरको सरसफाइलाई धेरै ध्यान दिएका छौं । विभिन्न मन्दिरहरुलाई घण्ट,त्रिशुल उपहार दिएका छौं । मन्दिरको क्यालेण्डर छापेर हाम्रा गतिविधिहरुलाई सबैका माझ पुराउने प्रयास गरेका छौं । वर्षेनी वाचनालयमा पुस्तक थपेका छौं र व्यवस्थित गरेका छौं ।
मन्दिरको खर्चमा फारोपना अप्नाएका छौं । वार्षिक कार्ययोजना बनाएर खर्च गर्ने परिपाटीलाई ध्यान दिएका छौं । बैठकमा सामुहिक एवम् लोकतान्त्रिक विधिलाई प्राथमिकता दिएका छौं ।
सिद्धबाबा मन्दिरमा पूजाआजा गर्नमात्र होइन,घुमघाम गर्न,विहे,व्रतवन्ध गर्न समेत आउने गर्छन् । कतिपय महानुभावहरु सिद्धबाबा मन्दिरको ऐतिहासिक एवम् धार्मिक महत्वका बारेमा खोज,अध्ययन र अनुसन्धान गर्न आइपुग्छन् । विश्वविद्यालयका विद्यार्थी,अनुसन्धानकर्ताहरु समेत यस मन्दिरमा रहेको भर्तृहरि वाचनालयमा हप्तौ बसेर,पढेर,खोजविन गरेर फर्केको हामीसँग जानकारी छ ।
सबै जाति,धर्म,वर्ग,वर्ण र लिङ्गका मानिसहरु सिद्धबाबा मन्दिरमा विविध उद्देश्य र लक्ष्य लिएर आइरहेका हुन्छन् । पछिल्लो समयमा युवा पुस्ताहरु समय बिताउन,मायाप्रेमलाई जीवनजोडीका रुपमा रुपान्तरण गर्न र पर्यटन प्रवद्र्धनमा टेवा पुराउन आउने गरेको पाइन्छन् । सिद्धबाबामा दर्शन गरेर,घुमघाम गरेर,सेल्फी खिचेर,टिकटक बनाएर,यहाँका बाँदरहरुलाई आफूले ल्याएका प्रसाद दिएर जिस्काउँदै,रमाउँदै मनोरञ्जन गर्ने भक्तहरु भेटिन थालिएका छन् । यसो गर्दा मन्दिरमा केही सयम भएपनि भक्तहरु टिक्न थालेका छन् ।
सिद्धबाबामा आएका भक्तजनहरुलाई मन्दिरबाट उत्तरदिशा एक किलोमीटर दूरीमा रहेको रामपिथेकस पार्कमा पुराउनका लागि फूट ट्रेल बनाइएको छ । प्रदेश सरकारको सहयोगमा पर्यटन पुल बनाइएको छ । पिउने पानीको प्रवन्ध मिलाइएको छ । छिट्टै नै रामपिथेकस पार्क बनाउने अभियानमा मन्दिरले प्रदेश,संघीय एवम् स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्दैछ । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई रामपिथेसक पार्कमा डुलाउने,भुलाउने र खाजा,चमेनाको प्रवन्ध मिलाउन थालिएको छ । यसो गर्न सकिएमा स्थानीयहरुले रोजीरोटी पाउने छन् । पर्यटकहरुले सेवा,सुविधा पाउने छन् । हेडवक्र्सको ड्याममा अस्थायी खालको तलाउ बनाएर डुंगा चलाउने योजना मन्दिर विकास समितिले राखेको छ । यसो गर्न सकिएमा सिद्धबाबा क्षेत्रमा हजारौंका संख्यामा पर्यटक आउने छन् ।


मन्दिर विकास समितिको अध्यक्ष भएर आएको पनि पाँच वर्ष पूरा भइसकेको छ । पहिलो तीन वर्षको कार्यकाल बिताएर दोस्रो कार्यकालको अन्तिम वर्षमा आफ्नो अवधिलाई सिद्धबाबा मन्दिर विकासको हेतू सबै साथीहरुसँग क्रियाशील छु ।
अमर प्रधानजस्ता आफ्ना शैक्षिकगुरु,लक्ष्मीप्रसाद बस्यालजस्ता पाका पुराना संस्थापक सदस्यको अनुभवलाई आफ्नो कार्यकालमा यथेष्ट प्रयोग गर्ने अवसर पाएको छु । त्यसै गरी प्रेम पाण्डेयजस्ता होनाहार युवा जनप्रतिनिधिको जोशलाई सिद्धबाबा मन्दिरको विकासमा समपर्ण गर्ने अवसर जुरेको छ । त्यतिमात्र होइन,सन्तोष,तोया,अरविन्द,दुर्गा,विष्णु,शिवजस्ता युवाहरुको कर्तव्यनिष्ठालाई मन्दिरको भलोमा लगाउने अवसर पाएको छु ।
पम्पा,दिलकुमारी र सावित्रा दिदीहरुको नेतृत्वकारी भूमिका,समन्वय र सहकार्यमा मन्दिरलाई विकासको सिंढीमा चढाउन पाउँदा खुसी लागेको छ । नारायणप्रसाद घिमिरे मूलगुरु र जगबहादुर क्षेत्रीजस्ता जाँगरिला सदस्यहरुले मलाई काम गर्न थप उत्साहित गराएका छन् । त्यसैगरी बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व बुद्धबहादुर बस्नेतको सामीप्यताले झन् सिद्धबाबाको नेतृत्वमा आफूलाई दरो सावित गर्न सजिलो भएको छ ।

सिद्धबाबा मन्दिरको आम्दानीले तिनाउ गाउँपालिकाको शैक्षिक,सामाजिक,वन,वातावरण, जैविक विविधता संरक्षण,पुरातात्विक बस्तुहरुको पहिचान,सम्वद्र्धन,ऐतिहासिक,धार्मिक एवम् पर्यटन विकासमा प्रशस्त सहयोग मिलेको छ । मन्दिर परिसरभित्रमात्र मन्दिर विकास समिति सीमित छैन । यसले आफ्नो क्षेत्रलाई विराट बनाउँदै मन्दिरको सर्वाङ्गीर्ण विकासमा टेवा पुराउँदै आएको छ ।
मन्दिर परिसरमा भर्तृहरि वाचनालय सञ्चालन,सीसीटीभीको व्यवस्थापन,हिसाब–कितावलाई पारदर्शी(सूचना बोर्डमा नियमित प्रकाशन),अस्थायी प्रहरी बीट सञ्चालन,कार्यालय व्यवस्थापन,धार्मिक एवम् आध्यात्मिक गोष्ठी,प्रवचन,छलफल,नेपाल तथा भारतका धार्मिक स्थलहरुको अवलोकन एवम् अध्ययन भ्रमण सम्पन्न गरी आवश्यक सिकाईलाई मन्दिरमा प्रयोग गर्ने कामलाई निरन्तरता दिइएको छ ।


मन्दिर दर्शन गर्न आउने देशका विशिष्ट पहिचान बनाएका महानुभावहरुलाई स्वागत,सत्कार र मन्दिरका बारेमा जानकारी गराउने कामलाई प्राथमिकता दिदै आइएको छ । मन्दिरमा आउने भक्तजनहरुलाई फूलप्रसादी र खाजा चमेनाको सेवा नीजिस्तरबाट व्यवस्था मिलाइएको छ ।
मन्दिरले गर्दै आएका कामहरुलाई प्रचार प्रसार गर्नका निम्ति बुटवलमा रहेको रेडियो मुक्तिसँग सहकार्य गरी सिद्ध सन्देश साप्ताहिक बुलेटीन प्रशारण गरिदै आइएको छ ।
तिनाउ गाउँपालिका यो मन्दिरको संरक्षक हुने व्यवस्था विधानले गरेको छ । सोही अनुसार संरक्षक संस्थाले नै मन्दिर विकासको कार्यसमिति छनौट गर्ने चलन र नियम छ । तीन वर्षको कार्यकाल रहने यो समितिले आफ्नो वार्षिक साधारण सभा,संरक्षक निकाय, सरोकारवाला संघसंस्थाहरुकाबीच आफ्नो प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन पेश गरी खर्च सार्वजनिकीकरण गर्दै आएको छ । पेश गरिएका सबै खालका प्रतिवेदनहरु सम्बन्धित वडा कार्यालय, गाउँपालिका, जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने पद्धति रहेको छ ।
मन्दिरको आफ्नै धार्मिक वन समेत छ । धर्मशाला छ । धर्मशालामा भक्तजनहरुलाई बस्ने व्यवस्था गरिएको छ । यसलाई राम्रो बनाउन पहल गरिएको छ । जिल्ला घरेलु कार्यालय, पाल्पा, तिनाउ गाउँपालिका र सिद्धबाबा मन्दिरको संयुक्त प्रयासमा कोसेली घर सञ्चालन गरिएको छ । तिनाउका महिलाहरुद्वारा उत्पादित स्थानीय बस्तुहरु बेच्दै आइएको छ । थप व्यवस्थापन जरुरी देखिएको छ । सिद्धबाबाको पहिचान दिने बस्तुहरु बेच्ने तयारीमा मन्दिर छ ।

प्रदेश सरकार, मन्दिरको लगानी र भक्तजनहरुको सहयोगमा मन्दिरबाट माथिल्लो भागमा जानका निम्ति सिंढी बनाउने काम जारी छ । मन्दिरलाई प्रतिस्थापन गर्ने तयारीका साथ मन्दिर समिति अघि बढीरहेको छ । मन्दिरको डीपीआर बनाउन प्रदेश सरकारसँग सहयोग मागिएको छ ।
मन्दिरले आफ्नै लगानीमा किनेको धार्मिक एवम् पर्यटकीय बस,दैनिक रुपमा तिलोत्तमाको ड्राइभरटोलदेखि तिनाउको सिद्धबाबा मन्दिरसम्म निःशुल्क सञ्चालन गरेको पनि तीनवर्ष पूरा भइसकेको छ । बसको ढोका नजिकै दानपात्रमा इच्छुक भक्तजनहरुले गच्छे अनुसार सहयोग गर्ने अवसरलाई बञ्चित गरिएको छैन ।
सिद्धबाबाका बारेमा अध्ययन,अवलोकन गर्ने,यसका बारेमा खोज अनुसन्धान गर्नेहरुलाई प्रोत्साहन दिनका निम्ति फेलोसीप दिने तयार मन्दिरले गर्दैछ । मन्दिरको आम्दानीलाई सामाजिक क्षेत्रमा लगानी गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा खर्चिने कामलाई निरन्तरता दिइएको छ । सिद्धबाबा मन्दिर विकास समितिका गतिविधिहरुलाई प्रकाशन गर्ने,प्रशारण गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने हाम्रो निर्णय फेरिएको छैन ।
धार्मिक वनभित्र वृक्षरोपण,गोडमेल,झाँडी सफाइको कामलाई प्राथमिकताकासाथ अघि बढाइएको छ । मन्दिर समितिले चित्रकारहरुलाई ल्याएर चित्रकला गोष्ठी सम्पन्न गरेको छ । पस्तरकला गर्ने सोच राखेको छ । भविष्यमा मन्दिरले गौशाला सञ्चालन गर्ने,विद्यापीठ चलाउने र मन्दिरको गरिमा र महिमा बढाउने खालका नीति,योजना र कार्यक्रम तय गर्ने सोचका साथ अघि बढिरहेको छ ।
पाँच वर्षको दौरानमा मैले मन्दिर परिसरमा नेपाल सरकारका मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी,लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मेन्द्रप्रसाद यादव,मन्त्रीहरु,राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण बिडारी,राष्ट्रपतिका सांस्कृतिक सल्लाहकार खेमचन्द्र ढकाल,नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्याय,पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री,महानायक राजेश हमाल,नायिका गौरी मल्ल,पूर्व गभर्नर चिरञ्जीवी नेपाल,नेपाल सरकारका शिक्षा सचिव हरिप्रसाद बस्याल,परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम पौड्याल ,हाँस्यकलाकार धुर्मुस,पाँडे बा,पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य एवम् संस्कृतिकर्मी घनश्याम कोइराला लगायतलाई स्वागत र सम्मान गर्ने अवसर मिल्यो ।
त्यसैगरी यहाँ विभिन्न धार्मिक संस्थाहरुका अवलोकन भ्रमण आइपुगेका छन् । धार्मिक गुरुहरुले दर्शन गर्न आउने गरेका छन् । पाल्पा जिल्लाभित्र रहेका धार्मिक संघसंस्थाहरुका पदाधिकारीहरुका बीच भेटघाट र पर्यटन प्रवद्र्धन समिति,पाल्पा लूज फोरमका रुपमा गठन गरेका छौं ।
सिद्धबाबा मन्दिरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी,भारत उत्तरप्रदेशका मुख्यमन्त्री एवम् गोरक्षनाथ मन्दिरका महन्त आदित्यनाथलाई उपयुक्त समयमा दर्शनका लागि निम्तो दिइसकेका छौं । हाम्रो निम्तो साकार भएमा सिद्धबाबा मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धनमा पक्कै पनि टेवा पुग्ने छ । देश÷ विदेशका मिडियाहरुले सिद्धबाबा मन्दिरलाई कभरेज गर्नेछन् । यसो हुन सकेमा हाम्रो योजना सफल हुने छ ।

पाँच वर्षका अवधिमा सिद्धबाबा मन्दिरमा रहँदा,बस्दा धार्मिक पर्यटनका सन्दर्भमा विविध क्रियाकलापका निम्ति योजना तथा कार्यक्रम तय गरी अघि बढ्न अवसर पाएको छु । साथीहरुको सहयोगप्रति कृतज्ञ छु । समितिका हामी सबैको ऐक्यवद्धताले सिद्धबाबा मन्दिरको विकासमा हातेमालो गरी अघि बढ्ने अवसर जुरेको छ ।
मन्दिर समितिले तय गरेका बाँकी केही कामहरु छन् । सम्भवः भएमा हाम्रो समितिले र सम्भव नभएमा आउँदो नयाँ समितिलाई जिम्मा लगाएर सहयोग गर्ने छौं ।
समितिमा रहेर कसैसँग तीतोपीरो हुन परेको छैन । सबै साथीहरुमा मन्दिरको प्रगतिमा समर्पित हुने सपना छ । सबैमा नेतृत्व विकास गर्ने अवसर मिलेको छ । मन्दिरले सिर्जनशील हुन सिकाएको छ । धैर्य गर्ने क्षमता र सीपको विकास गराएको छ । गरे सकिदो रहेछ भन्ने प्रेरणा मिलेको छ । मन्दिरका कर्मचारीहरु,गुरुहरु,पुष्पव्यवसायीहरु र समितिका सबै साथीहरुका सकारात्मक सहयोगका कारण नै हाम्रो सामुहिक नेतृत्व सफलतातर्फ उन्मुख हुँदैछ ।
मन्दिरसँग सरोकार राख्ने सबैप्रति हामी कृतज्ञ छौं । म अध्यक्ष भएपनि मेरो नजरमा हामी सबै अध्यक्ष हौं । हामी सबैका प्रयासमा नै सिद्धबाबा मन्दिरले अग्रसरता लिदैं गएको सत्य हो । संघे शक्ति कल युगें ।
(लेखक, सिद्धबाबा मन्दिर विकास समिति, तिनाउ, पाल्पाका अध्यक्ष हुन् । )