निर्माण पुरा नभएपनि रिडीको तीन मुखे पुल प्रयोगमा


श्यामलाल पोखरेल

बुटवल, भदौ २९ गते । धार्मिकस्थल गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा तीन मुखे पुल सञ्चालनमा आएको छ । निर्माणको करिव दुई प्रतिशत मात्र काम बांकी रहेपनि यो तीन मुखे पुल प्रयोगमा आएको छ ।
पुलको लागि लाइट, पुलमा जाने बाटो र सिढीको मर्मत मात्र बांकी रहेकाले पुलको उद्घाटन नभएपनि प्रयोगमा आएको सुपरपाइजर अजीर खांले बताए ।
२०७१ सालमा टेण्डर परेर निर्माणको काम शुरु भएको थियो । पुल २०७४ मा सम्पन्न हुने सम्झौता भएपनि सम्झौता अनुसार अझै सम्पन्न भएको छैन । सम्झौता अनुसार काम नभएपछि ठेकेदार कम्पनीको चौतर्फी बिरोध भैरहेको छ ।
धार्मिक तथा सांस्कृतिक पर्यटकस्थल मानिने रिडीमा तीनमुखे पुल अनौपचारिक रुपमा सञ्चालन भएपनि अहिले चहलपहल बढेको छ । धार्मिक मान्यता अनुसार गुल्मीको रुरु क्षेत्रलाई चारधाम मध्ये एक धाम मानिन्छ । गुलमीको रुरु क्षेत्रमा पर्ने रिडीमा तीनमुखे पुल बनेपछि थप चहलपहल बढेको हो ।
आधिकारिक रुपमा पुल उद्घाटन भएपछि अझै चहल पहल बड्ने अपेक्षा गरिएको छ । गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने कालिगण्डकी नदीमा बनेको तिनमुखे पुल नेपालकै नमुना पुल हो। पुल बनेपछि आजभोली उक्त पुल हेर्न दैनिक रुपमा मानिसहरु आउ जाउ गर्न थालेका छन् ।
आन्तरिक र बाह्य पर्यटकको आगमनमा पनि बढ्न थालेको स्थानीयले बताएका छन् । पुल हेर्नेदेखि सेल्फी खिच्ने, टिकटक बनाउने र फोटा खिच्नका लागि आजभोली दैनिक सयौंको संख्यामा मानिस आउने गरेको स्थानीय जगत ज्ञवालीले बताए ।
रिडिमा बग्ने कालगिण्डकी नदीमा पुल नहुंदा सीमाना जोडिएको एक गाउंबाट अर्को गाउंमा जान घण्टौ लाग्ने समय लाग्ने गर्दथ्यो ।
अहिले तीनमुखे पुल सञ्चालनमा आएपछि आवतजावत गर्न सजिलो भएको र समयको पनि बचत हुंदा स्थानीयमा खुशी छाएको छ ।
लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक र सदस्य हरि पोखरेलसहित पत्रकारसहितको टोलीले उक्त पुलको अवलोकन गरेको छ ।
लुम्बिनी प्रदेश अन्र्तगतका १२ वटै जिल्लामा रहेका पर्यटकीय स्थलहरुको एकीकृत रुपमा विकासका लागि योजना बनाउने उद्वेश्यले रिडीमा बनेको पुल लगायत गुल्मीका विभिन्न स्थानका पर्यटकीय स्थलहरुको अवलोकन गरिएको हो ।
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक राम जोशीले गुल्मीको रुरु क्षेत्रदेखि जिल्लाका सबै धार्मिक तथा पर्यटक स्थलहरुलाई एकीकृत रुपमा विकास गरी पर्यटन प्रवद्र्वन गरिने बताए।
धार्मिक तथा सांस्कृतिक रुपको ऐतिहासिक पहिचान बाकेको रिडीको तीन मुखे पुलको संरक्षण र विकासका लागि सहयोग पुराउने पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक जोशीले प्रतिवद्वता जनाएका छन् ।
लुमिबनी प्रदेशका सबै जिल्लामा रहेका धार्मिक तथा सांस्कृतिक र अन्य सम्भावित पर्यटकीय स्थलहरुको पहिचान गरी योजनावद्व रुपमा पर्यटन प्रवद्र्वनका लागि गुरुयोजना तयारी गरी पर्यटकीय स्थलहरुको विकास गरिने पर्यटन विकास परिषद्का सदस्य हरि पोखरेलले बताए ।
तिन मुखे पुल निर्माण लागि नयां बाटो रुविना मना जेवीले ठेक्का लिएको थियो ।
सोही कम्पनीका ठेकेदार महेन्द्र अधिकारीले पछिल्लो पटक गएको माघमा पुल निर्माणको काम सम्पन्न हुने प्रतिवद्वता जनाएका थिए । तर अझै २ प्रतिशत काम बांकी रहेको सोही पुल हेर्दै आएका सुपरपाइजर अजीर खांले नयादिशालाई बताएका छन् । उक्त तीनमुखे पुल निर्माणका लागि १० करोड वजेट छुट्टाइएको थियो ।