कुकुर तिहार, कुकुर र हाम्रा प्रवृत्तिहरु

लिलाबहादुर केसी

मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा कुकुर परिचित छ। आजको दिन कुकुरमा समर्पित दिन हो अर्थात् कुकुरलाई पूजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।
कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवको रुपमा रहेको छ । पूर्वीय धर्म दर्शनको मान्यता अनुसार पनि कुकुर मानव जातिको अत्यन्त सहयोगी घर पालुवा पशु मानिएको छ।
ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ ।
वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।
आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक गरेको कुकर पुगेको हो । यस अर्थमा कुकुरहरुमा केहि मानवीय गुण भएको हुनु पर्छ।
कुकुरहरु धेरै जातका छन् ती मध्ये केहि मुख्य जात जर्मन शेफर्ड, गोल्डेन रिट्रीभर, बीगल, बुलडग, यार्कशायर टेरियर, बक्सर र
पूडल हुन्।यी कुकुरहरुले आफ्नो वंश, जात र नश्ल अनुसार आफ्ना भूमिका निर्वाह गरेका हुन्छन्। केही नश्लका कुकुरहरुलाई विशेष तालिम दिई उनीहरुलाई व्यवशायी गराइन्छ। कसैलाई अपराध अनुसंधानको जिम्मा दिइन्छ त कसैलाई सुरक्षा कर्मीको रुपमा विशेष तालिम दिइन्छ। कुकुरहरुमा भएको विशेष शक्ति भनेको सुंघ्ने शक्ति भएकोले कसैले अवैध वस्तुहरु लुकाएर राखेको छ भने तालिम प्राप्त कुकुरहरुले सहजै पत्ता लगाउंछन्। त्यसै गरी कसैले अवैध विष्फोटक पदार्थ राखेको पत्ता लगाउन, हत्या÷अपहरणका दोषी पत्ता लगाउन कुकुरहरु नै सक्षम भएका छन्। यही कारणले अहिले संसारका ठूला अन्तर्राष्ट्रीय विमान स्थल देखि लिएर, दरबार, सैनिक मुख्यालय, प्रहरी मुख्यालय तथा अनुसन्धानका केन्द्रिय कार्यालयहरुमा समेत कुकुरहरु विशेष निगरानी गरी पालिएका हुन्छन्। सैनिक र प्रहरी मुख्यालयमा त उनीहरुलाई जिम्मा दिएको काम सफलता पूर्वक सम्पन्न गरे वापत मान, पदवी र अलंकार दिने र दर्ज्यानी चिन्ह समेत दिंदै समय क्रममा बढुवा गरेको कुरा समेत मैले सुनेको छु।
कुकुरहरुको भूगोल र मानिसको पेशासंग राम्रो सम्वन्ध छ। कुकुर हिमाली भूगोलमा जन्मियो भने उसको नाम भोटे हुन्छ र उसको प्रमुख दायित्व गोठालाको हुन्छ । तिव्वत र नेपालको उत्तरी भेकका ठूला ठूला पाटनहरुमा कुकुरहरु भेंडा, च्यांग्रा, चेलु, याक तथा घोंडा गोठालोको रुपमा भोटे कुकुरहरु प्रयोग गरिएका हुन्छन्।
शिकार खेल्ने शौख भएका पहिलेका राजा महाराजाधिराज र व्यवसायिक शिकारीहरुले तालिम प्राप्त शिकारी कुकुर प्रयोग गरी आफ्नो शौख पुरा गर्थे। खेल क्षेत्रका केहि खेलाडीहरुले कुकुरहरुलाई तालिम दिइ दक्ष खिलाड़ी पनि बनाएका हुन्छन्।
यी र यस्ता विशेष कुकुर तालिम प्राप्त हुन र यिनीहरुको संख्या कम हुन्छ। नेपाल लगायत विश्वका हरेक देशमा कुकुरहरुको संख्या धेरै छ। मानिसहरुले पाल्ने कतिपय जनावरहरु भूगोल अनुसार पालिए पनि कुकुरहरु जुन सुकै महादेश र देशहरुमा पालिएका छन्।
जुन कुकुर जहां रहे पनि तिनीहरु मानिसहरुका साथी कुकुरहरुको रुपमा, गोठालाको रुपमा, शिकारीको रुपमा, रक्षकको रुपमा, अनुसंधान कर्ताको रुपमा वा खेलाडीको रुपमा संभ्रान्त वर्गको दरबार तथा घरमा सुरक्षित छन्।
कुकुरहरुको पनि मान्छेको जस्तै भाग्य हुन्छ । अमेरीका, फÞ्रान्स, वेलायत, रुस, जर्मन तथा चीनमा जन्मिएका कुकुरहरुलाई मैले भाग्यमानी मान्छु। त्यसै गरी नेपाली उच्च घरानामा जन्मिएका कुकुरहरु पनि राम्रो प्रारव्ध लिएर आएका कुकुरहरु हुन्। उनीहरुको राजसी भोजन मान्छेले प्राप्त गर्न हामी जस्ता सर्व साधारण नेपालीले त दशैं तिहार जस्ता ठूला चाड कुर्नु पर्छ।यस्ता कुकुरहरुको स्वास्थ्य, प्राविधिक शिक्षा, वेड विस्तारा, आराम र सुरक्षा प्रवन्ध अत्यन्त राम्रो हुन्छ। यी भाग्यशाली कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन्।
मानव समाज वर्गिय भए जस्तै कुकुर समाज पनि वर्गिय हुन्छ।एक थरि कुकुरहरु भाग्यले ठगिएका हुन्छन् । ती कुकुरहरु या त गरिव परिवारमा जन्मिएका हुन्छन् वा खुला आकाश मुनी सडकमा जन्मेका हुन्छन्। यी कुकुरहरुका श्रीमती र बच्चा बच्चिको गास, बांस र कपासको व्यवस्था हुंदैन। पौष, माघको जाडो, जेठको धुप तथा भदौरे झरिमा पनि ती कुकुरका सन्तानहरुले जीवन जीउन ठूलो संघर्ष गर्नु पर्छ। पहिले पहिले दूर दराजका सड़क कुकुरहरुको मुख्य खाना उनीहरुको बर्गिय स्तर मिल्ने मानव जातिको बाल बच्चाहरुले सड़क छेउंमा फोहोर्याएको पचेको बस्तु हुन्थ्यो। अहिलेको समय भने दूर दराजका गाउंहरुमा पनि तिनीहरुकोलागि प्रतिकूल भएको छ। अधिकांश गाउंपालिकाहरुले आफ्नो पालिकालाई खुला दिशा मुक्त पालिका घोषणा गरि सकेका छन्। शौचालयहरु बनाएका छन्। तर पनि उनीहरु शहरीया सड़क कुकुरहरु भन्दा केहि सुरक्षित छन्।
सहरका निम्न वर्गिय कुकुरहरु भने सुरक्षाको हिसावले बढि खतरामा रहेका छन्।सहरका यी कुकुरहरुलाई कहिले सड़क पार गर्ने क्रममा हत्या गरिन्छ त कहिले नगरपालिकाले उनीहरुलाई झुक्काएर विष सेवन गराउनाले छट्पटिंदै ट्रकमा बसी परलोक जानु पर्ने हुन्छ।यस्ता सहरीया सड़क कुकुरहरुको गास, बास र कपासको झन् टुंगो हुंदैन। नेपालका केहि पशु अधिकार कर्मी र पर्यावरण विदहरुले समय समयमा यस्ता कुकुरको पक्षमा आवाज उठाए पनि ती आवाजहरुको राम्रो सुनुवाई भएको छैन।यो आवाजको आंशिक समर्थन गर्नेहरु मध्येका केहि नगरपालिकाहरुले भने सड़क कुकुरहरुलाई तत्काल मृत्यु दन्ड नदिई कुकुरहरुको प्रजनन अधिकार माथी हस्तक्षेप गरेका छन्। ती नगरपालिकहरुले जबर्जस्त सड़क कुकुरलाई छोपी भ्याक्सेटोमी र ल्याप्रोस्कोपी गराएका छन्।यस्तै दशा भारतमा इन्दिरा गांधीले शासन चलाउंदा मानव जातिले व्यहोर्नु परेको कुरा इतिहास साक्षी छ।
कुकुर गुणवान जीव भएकोले पूर्वीय धर्म दर्शन अनुसार हामी विहानै उठेर नुहाएर शुद्ध बनी कुकुरको पुजा गर्छौं, माल्यार्पण गर्छौं, मिष्ठान्न र राजसी भोजन खिलाई कुकुर तिहार मनाउंछौं।
कुकुर घरमा नभए सडकको भुस्याहा कुकुर खोजेर पनि कुकुर तिहारको दिन सम्मान गर्छौं। हिन्दुहरुले पृथ्वी लोक र परलोकको विश्वास गर्छन्। हामी सबैको आयु क तोकि दिने यमराजको बन्धनबाट मुक्त भै केहि समय भए पनि आयू थप्ने सन्दर्भका मिथक कथाहरुले भरिएको यो पर्वमा हेला र घृणाले हेरिने भुस्याहा कुकुरको पुजा हुंदा पनि एउटा विडम्वना के रहेको छ भने संसारमा भुस्याहा कुकुर जस्तै गास, वास र कपासको कुनै ग्यारेन्टि नभएका सुकुम्वासी, गरिब तथा सर्वहारा बर्गको सम्मान आदिम साम्यवादी काल देखि पछी भएको छैन।
ती गरीव र सर्वहाराहरु सधै इमान्दार र मालिक प्रति वफÞादार छन्। उनीहरुको जीवन मालिकहरुको सम्पन्नताका लागि समर्पित हुन्छ।कुकुरहरुले जस्तै उनीहरुले मालिकको सुरक्षा गर्दछन् ।
गास, वास र कपासको व्यवस्था नहुनाले आज पनि विश्वमा लाखौंको संख्यामा सडक पेटीमा सुती प्रचन्ड गर्मी, ठन्डी तथा प्रकृतिले श्रृजना गरेका कठोर घटना परिघटनासंग जुध्न वाध्य छन्। कुकुर जस्तै यो पिछड़ा बर्गको मानिसले मालिकको के कुरा काट्छ र ?
हामी तल्लो वर्गका मानिसहरुले सड़क कुकुरले जस्तै सबै कुरामा विश्वास गर्छौं। कहिले काहि सड़क कुकुरहरुलाई मालिकहरुले कलो दिए जस्तो गरी झुक्काउंछन्। कहिले काहिं त कलो दिए जस्तो गरी यमलोक पुर्याउंछन्। पिछड़ा वर्गका मानिसहरु (सर्व साधारण नेपाली) लाई पनि कहिले काहिं मालिकहरुले झुक्काउंछन र झुक्काउंदै आएका छन्। कहिले नेपाललाई एशियाली माप दन्डमा लैजान्छौं भनी झुक्काए भने कहिले स्विट्जÞरलैंड र सिंगापुर बनाउंछौं भनी झुक्काएका छन्।
यो तप्काका मानिसहरु भने मालिकका यीनै आश्वासन पत्याएर झुक्किएका छन्। तर हाम्रो प्रवृति भने उनीहरुको जीवन भरको चाकडी गरी एउटा इमान्दार र वफÞादार कुकुरको भन्दा फरक छैन र रात दिन उनै मालिकको गुण गान गाउंदै जुलुसमा नारा लगाइ रहेका हुन्छौं। हामीमा आलोचनात्मक चेत हराएको हुनाले उनै कुकुर जस्तो एकोहोरो भइसकेका छौं। त्यस अर्थमा मलाई हिंजो आज कुकुर सर्व साधारण मानिस भन्दा उच्च कोटीको जीव हो कि जस्तो लाग्न थालेको छ।