प्यूठानमा एमाले टाँट पल्टीदै, गठबन्धन उदाउंदै

सरोज न्यौपाने
एमाले प्यूठान विधिवत् पतनको दिशामा तीब्र गतिमा अघि बढेको छ । एमाले प्यूठानको हार निश्चित छ, सन्निकट छ । आगामी मंसिर–४ पछि जिल्लाको राजनैतिक कोर्ष बदलिने मात्रै छैन, एमालेले सर्वनाक हार बेहोर्ने निश्चित प्रायः छ ।
देशव्यापी रूपमा एमाले धुलिसात हुने बुझेर यतिबेला एमालेको नेतृत्व विचार, राजनीति र आदर्शबाट च्युत भएर गठबन्धनका नेताका विरुद्ध, राष्ट्रिय जनमोर्चाका उमेदवारका बारेमा अनर्गल, अवाञ्छित, झुठ ओकलिरहेको छ । यसले एमालेको पराजयलाई मात्रै संकेत गर्दैन, उसको राजनैतिक टाँट पल्टाईसमेत देखाउँछ । प्यूठानको वामपन्थी आन्दोलनमा एमालेको विधिवत पतन अपरिहार्य छ ।
यदि प्राविधिक हिसाबले एमाले अस्तित्वमा रह्यो भने सूर्य थापा अर्कोपटक नवलपरासी या काठमाडौं या यस्तै अन्य कुनै क्षेत्रबाट चुनाव लड्न सक्छन् । या राजनैतिक कर्मचारीको रूपमा कुनै एकजना नेताको ड्युटीमा फर्किन सक्छन् । तर, उनले कमान्डिङ गरिरहेको एमाले प्यूठानको नेतृत्वमा धेरै ठूलो विग्रह र विघटन आउने निश्चित छ । यसले प्यूठानको कम्युनिष्ट आन्दोलन,वाम आन्दोलनमा कुनै क्षति गर्दैन, विकास र समृद्धिको अभियानमा यसले सहयोग नै पु¥याउँनेछ । एमालेको पतन प्यूठानको समग्र हितमा छ ।
प्यूठानमा अझै १० वर्ष एमाले बाहेकको शक्तिले नेतृत्व गर्नेछन्, प्रतिनिधित्व गर्नेछन् । राजमो नेतृ दुर्गा पौडेल सम्भवतः आसन्न निर्वाचनपछि नयाँ पुस्ता र अनुहारलाई जिम्मेवारी हस्तान्तरण गर्नेछिन् र नयाँ भूमिकामा पुग्ने छिन् । आज दुर्गा पौडेलले नेतृत्व गरिरहेको पार्टीमा उहाँको जस्तै, उहाँको भन्दा पनि राम्रो गर्नसक्ने पुराना र परिपक्क नेता मात्रै छैनन्, जिल्लाको सर्वपक्षीय नेतृत्व हाँक्नसक्ने युवा नेतृत्व पनि तयार भइसकेको छ ।
पुरानो र परिपक्क नेताको छवि बनाएका पूर्व जिविस सभापति बोमबहादुर खत्री अर्को दश वर्ष सक्रियतापूर्वक जस्तोसुकै जिम्मेवारीको लागि पनि सक्षम छन् । पार्टीका जिल्ला अध्यक्ष र मल्लरानी गाउँ सरकार प्रमुख कृष्ण खड्काको लोकप्रियता र चर्चाको दायरा उत्तिकै फराकिलो छ । विदुर मल्ल, युवा आन्दोलनबाट आएको एउटा चर्चित नाम हो । आवश्यकताका बखत नेतृत्वका लागि सधैं तयार छन् ।
राष्ट्रिय जनमोर्चाभित्र लोकप्रियता र चर्चा कमाएका युवा नेताको पंक्ति धेरै लामो छ । पार्टीको प्रवक्तासमेत रहेका ज्ञामुराम न्यौपाने नयाँ पुस्ताले अधिक रुचाएका लोकप्रिय युवा नेता हुन् । झिम्रुकको गाउँसरकारको सफल नेतृत्व प्रदान गरेका अर्का युवा नेता छन्, तिलक जीसी । मल्लरानी गाउँसरकारबाट सुशासनको स्पष्ट सन्देश दिएका अर्का नेता हुन् अमरध्वज राना । यसैगरी, जिल्ला समन्वय समितिको प्रमुखको जिम्मेवारी पुरा गरिसकेका पुरानो पुस्ताको प्रतिनिधित्व गर्ने नेता हुन् केशव आचार्य । लोकप्रिय मतसहित झिम्रुक गाउँसरकारमा उपविजेता बनेका टीका जीसी उदयमान युवा नेतामा पर्छन् । तल्लो प्यूठानको माणी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ईमानसिंह खड्का, गिरबहादुर गुरुङ र मिनराज राना जस्ता अरू कैयौं नेताहरू जिम्मेवारीका लागि योग्य हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाट आएका विमल पोखरेलदेखि विद्यार्थी राजनीतिमै क्रियाशील सुवास जीसी या अरू कैयौं नेता जिल्लादेखि केन्द्रसम्मै राजनीतिलाई गति दिन र नेतृत्व प्रदान गर्नसक्ने वैचारिक एवम् राजनीतिक हैसियत र छवि निर्माण गरिसकेका छन् !
जिल्लाको पार्टी आन्दोलनमा महिला नेतृहरूको उपस्थिति पनि उत्तिकै सशक्त छ । दुर्गा पौडेलको राजनैतिक विरासत धान्नसक्ने तारा जीसी, सकुन्तला जीसी, पवित्रा जीसी, सरिता जीसी, पद्मा पण्डित जस्ता महिला नेतृत्वको उपलब्धता हाम्रो लागि असाध्यै गौरवको विषय हो । उहाँहरू र नाम छुटेका अरू कैयौं नेताहरू छन्, जसले पार्टीमा कहिल्यै नेतृत्वको रिक्तता महसुस हुन दिनेछैनन् ।

अन्य दलहरूका बीचमा पनि आफ्नो स्वीकार्यता स्थापित गर्नसक्ने योग्य र सक्षम नेताहरूको संख्या बढ्दो छ ।
यो त भयो जिल्लाको क्रियाशील एउटा राजनैतिक दलको नेतृत्वको कुरा ! जिल्लाको अर्को मुख्य दल नेपाली कांग्रेसको कुरा गर्दा त्यहाँ इतिहासमा पहिलोपटक प्यूठानबाट केन्द्रीय सदस्यमा निर्वाचित बनेका छन्, डाक्टर गोविन्दराज पोखरेल ! नेता एवम् अर्थसाश्त्री डा. गोविन्दराज पोखरेल, जिल्लाको नेतृत्व गर्न तयार छन् भने जिल्लावासी उनलाई अनुमोदन गर्न तत्पर छन् ! कांग्रेस नेतृत्वको कुरा गर्दा त्यहाँ पूर्वसभापतिहरूको लामो पंक्ति छ ।
शालिकराम पण्डित, मुक्ति शर्मा, सुवास केसी, अमरप्रसाद भण्डारी जस्ता घगडान नेताहरू त छदैछन् सँगै हालका जिल्ला सभापति एवम् लोकप्रिय युवा नेता विष्णु गिरि, देवेन्द्र व्रहमा, निमा गिरि, धनलक्ष्मी श्रेष्ठ, शिव रिजाल, नविलविक्रम शाहसम्मका नेताहरू कांग्रेसमा स्थापित भइसकेका छन् ।

प्रदेश ख बाट निर्वाचन लड्दै गरेका सरोज थापा (रोज राणा) प्रदेश र संघ जहाँ पनि, जस्तो पनि नेतृत्वका लागि योग्य र काविल छन् । नेविसंघको राजनीतिबाट जनप्रतिनिधि भइसकेका नरेन्द्र पुन, गिरबहादुर घर्ती जस्ता फ्रेस अनुहारहरू पनि जिल्लाको भावी नेतृत्वका रूपमा तम्तयार छन् । आवश्यकता पर्दा यी र यस्ता अरू थुप्रै विपिले निर्माण गरेका पार्टीका, विपिको संस्कार बोकेका नेताहरू जस्तोसुकै किसिमको जिम्मेवारी सम्हाल्न काविल छन्, योग्य छन् ।
दशवर्षे युद्धको नेतृत्व गरेको माओवादी केन्द्र प्यूठानको महत्वपूर्ण राजनैतिक शक्ति हो ! जिल्लालाई नेतृत्व प्रदान गर्नमात्रै होइन राष्ट्रिय राजनीतिमासमेत हस्तक्षेप गर्नसक्ने आवश्यक र योग्य नेतृत्व माओवादी भित्र स्थापित छ । लिलामणि पोखरेल प्यूठानलाई प्रतिनिधित्व गर्छन् । प्यूठान र प्यूठानी जनताको अवस्था सुधार्ने संकल्प सहित राजनीतिमा लागेका कृष्णध्वज खड्का, रेखा शर्मा, कृष्ण अधिकारी, नारायण अधिकारी, पद्मा अर्याल, वाइबी थापा, कृष्ण घिमिरे, पीतबहादुर एमसी आदि माओवादी आन्दोलनका स्थापित नेताहरू हुन् ।
त्यस्तै युवा पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने अर्का नेता हुन् विश्वबन्धु थापा । उनी हाम्रो पुस्ताका असाध्यै सम्भावना बोकेका र अपेक्षा गरिएका युवा नेता हुन् । माओवादीकै अर्का लोकप्रिय युवा नेता हुन् अहिलेका माण्डवी गाउँसरकार प्रमुख रोशन अधिकारी !प्यूठाननगरपालिकाका पूर्वप्रमुख अर्जुनकुमार कक्षपती र हालका नगरप्रमुख विष्णु योगी जनस्तरबाट अनुमोदन भएका माओवादी नेतामा पर्छन् ।त्यसका साथै पत्रकारितालाई पृष्ठभूमि बनाएर अहिले गौमुखी गाउँसरकारमा उपाध्यक्ष बनेका महाविर रानादेखि प्रेस सेन्टरका नेता तुफान अधिकारी ।
विद्यार्थी राजनीतिमा सक्रिय मिलन एमसी, पुष्कर शर्मादेखि विद्यार्थी राजनीतिबाट जननिर्वाचित जनप्रतिनिधि सुमन श्रेष्ठसम्मका उम्दा नेताहरू नेतृत्वका लागि तयार छन् । यो जिल्लाको वामपन्थी आन्दोलनको सुखद् पक्ष हो ।
एमालेबाट विद्रोह गरेर जन्मिएको एकीकृत समाजवादीका जिल्ला नेता भोजविक्रम बुढा युवा पुस्ताले भरोसा गर्नसक्ने बौद्धिक नेता हुन् । उनी लेखक पनि हुन् । संगठनकर्ता पनि हुन् ।

प्यूठान नगरपालिकाकी पूर्व नगरप्रमुख शान्ता आचार्य समाजवादीकी महिला नेतृ हुन् । समाजवादीकै अर्का नेता हुन् कृष्ण रायमाझी । समाजवादीका अरू थुप्रै साथीहरू जिल्लालाई नेतृत्व दिन प्रगतिशील मोर्चामा लामबद्ध छन् !
यसरी हेर्दा प्यूठानमा एमाले बाहेकको एउटा सशक्त टिम छ । जसलाई अबको ५ वर्षमा के–के काम गर्ने, अर्को ५ वर्षमा जिल्लालाई कहाँ पु¥याउने भन्ने स्पष्ट खाका छ । कम्तीमा अबको दशवर्ष जिल्लाको नेतृत्व सम्हाल्न सक्ने र केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्न ल्याकत राख्ने यिनै अनुहारहरू हुन् ।
केपी ओलीले संसद अपहरण गर्दादेखि बिनाकारण संसद अवरोधदेखि अन्य जनविरोधी कदमका कारण केपी ओली र उनले नेतृत्व गरेको पार्टीको औचित्य तत्कालका लागि समाप्त भएको छ । देशव्यापी रूपमा एमालेको टाँट पल्टाईको बाछिटा जिल्लासम्मै परेका छन् ।

प्यूठानको सन्दर्भमा पनि एमालेको टाँट पल्टाई हेर्न लायक छ । संघ र प्रदेशमा चुनाव लड्दै गरेका नेता समेत राजनीतिक मुद्दा÷एजेन्डाका आधारमा, प्रतिस्पर्धाका आधारमा होइन कि प्रोपोगन्डा, जालसाजी र तिक्डमबाजीका आधारमा चुनाव जित्ने प्रपंचमा लागेका छन् । उनीहरूको पराजित मानसिकता बुझ्ने भाषामै व्यक्त भएको छ ।

उनीहरू व्यक्तिगत तहमा उत्रिएका छन् । उनीहरूका भाषणमा एजेन्डा होइन, कुन्ठा र पुर्वाग्रह भेटिन्छ । उनीहरूको घोषणापत्रमा नयाँ संकल्प र सपना होइन, उडन्ते र हावादारी गफ भेटिन्छ । यसकारण पनि एमाले यो देशको राष्ट्रिय समस्या हो, यसबाट मुलुकले उन्मुक्ति पाउनुपर्छ । र, प्यूठानले समेत !