जवरजस्ती करणीको आरोपमा रुपन्देहीमा दुई जना पक्राउ

बुटवल, पुस २३ गते । सुस्त मनःस्थिती भएकी महिलालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रुपन्देहीको कञ्चन गाउंपालिकाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जवरजस्ती करणी उद्योगको कसुरमा रुपन्देही कञ्चन गाउंपालिका वडा नं ३ का ३० वर्षिया राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीलाई जवरजस्ती करणीको कसुर अन्तरगत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार यही पुस २१ गते सांझको समयमा घरमा कोही नभएको मौकामा शारिरिक रुपमा अपांगता भएकी र सुस्त मनःस्थिती भएकी २३ वर्षीया महिलाको घरमा गई शौचालयमा लगेर जवरजस्ती करणीको प्रयास गरेको आरोप छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं ६ मा १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने २५ वर्षिया मधु सोमरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सांझको समयमा अभिभावक नभएको मौका पारी आगो ताप्ने बहानामा घरमा गई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने गरेपछि बालिकाले आफन्तलाई जानकारी गराएको बताइृएको छ ।
बालिकाको आमा बिदेशमा भएको र बुबा काममा गएको मौकापारी आफूलाई जवरजस्ती गर्न खोजे भन्दै छिमेकी महिलालाई बताएपछि प्रहरीलाई खबर भएको थियो । घटनाबारे जानकारी पाउनासाथ पक्रनउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।