अतीतको सम्झनामा, त्यो रात

धनकुमारी अर्याल
आमासँग बुटवल नगरपालिकामा नागरिकता बनाउने सिलसिलामा पहिलोपटक प्रवेश गरेकी थिए । त्योभन्दा अगाडि कहिले नगरपालिका भवन प्रवेश गरेकी थिइन । बुबाले जागिरे जीवनमा दोश्रो पटक २०४९ सालदेखि प्रवेश गरेको संस्था बुटवल नगरपालिका थियो । त्योभन्दा पहिले उहाँको भारतीय सेनामा जागिर थियो भन्ने सुनेको मात्रै थिएँ । भारतीय सेनामा जागिर खानुभन्दा आफ्नो देशमा खेती गरेर ज्यान पाल्छु भन्ने विचारमा भारतीय सेनाबाट छुट्टीमा फर्किएर घरमा आएपछि उता नगएर यतै स्वदेशमा किसान बनेर जीविकोपार्जन गरेको भन्ने बाका कुरा सुनेर मनमनै त्यस्तो राम्रो जागिर किन छोडेको होला ?

मेरा साथीहरूका बाउबाजे सुवेदार, क्याप्टेन, यस्तै यस्तै थिए । लाहुरेको छोरी नाती–नातिनी भनेर चुरीफुरी कत्रो छ । हाम्रो बाले किन छोडेको होला भनेर सोच्थेँ। बासँग प्रश्न गर्न डर लाग्थ्यो। बुटवल नगरपालिकामा काम गर्ने क्रममा मधुमेहले मज्जाले अंगालो मारेछ बालाई । हामी गाउँमा खेतीपाती गर्थ्यौ । तर दुईवटा दाजु र ठुली आमाको भागमा हाम्रो भागमा बामात्रै । समयको खेल न हो। शहरको बसाइ बेरोजगार भए बाँच्न मुस्किल हुने नै भो। जनतन एउटा घर थियो । धेरै केही थिएन । त्यही घरमा किरानापसल जसोतसो गुजारा चलेको थियो । बाले बुटवल नगरपालिकामा जागिरे भएपछि अलिकति सहज भो। जागिर गर्दागर्दै बालाई रोगले च्याप्न शुरू भो।

पहिले त पेट दुख्यो भनेको याद छ । पछिपछि मधुमेह भएको पुष्टि भयो । उहाँको स्वास्थ्य अवस्था बिग्रदै गयो । एकदिन हामी सबैलाई छोडेर जानुभयो । घरमा समस्या झन् थपियो। हामी दिदीबहिनी सानै । आमा अनपढ। समयले चोट नमज्जाले दियो । मैले आमासँग म जसरी नि जागिर गर्छु पीर नमान्नु भनेर ढाडस दिन्थे। आफै सानै कसरी गर्ने कहाँ जाने कसलाई भन्ने केही सोच्न सकिन । पढ्न मन हुने कुरै भएन।

घरको परिस्थितिले यस्तै बनायो भनेर मन बुझाउथे।कहिले रून्थे।जिन्दगी यस्तै हो। जागिर खान त नागरिकता छैन । नागरिकता बनाउन आमासँग धेरै कर गरेपछि आमा तयार हुनुभो । भोलि नागरिकता बनाउन जाने भनेर बेलुकी आमाछोरीको सहमति भयो । भोलिपल्ट वडामा सिफारिस लिन आमा जानुभयो । म पनि फारममा हस्ताक्षर गर्न र ल्याप्चे लाउन गएँ । त्यो दिन त्यतिकै सकियो । ढिलो भयो नगरपालिका जान । भोलि जाने भनेर सल्लाह भयो । खाना खाएर सुत्यौं आमाछोरी । मलाई निद्रा लागेन । कस्तो होला नगरपालिका त्यहाँ के के सोध्छ होला। भोलि नै नागरिकताको प्रमाणपत्र दिन्छ कि दिदैन होला आदि इत्यादि सोचेर रात बित्यो ।

नागरिकता बनेपछि फेरि जागिरका कुरा भए अन्तर्वार्ता भयो । भोलि आउनु भनेर त्यो दिन पनि आमाछोरी घर फर्किर्यौ। भोलिपल्ट नगरपालिका जाँदा प्रशासन शाखमा कृष्णप्रसाद ज्ञवाली सरले भोलिदेखि १० बजे हाजिर हुनु। यी यहाँ सहि गर्नु भनेर कलम दिनुभयो । पत्रको पछाडि हस्ताक्षर गरें । एकप्रति मलाई दिएको पत्र हातमा लिएर पढ्न थालें । पत्रमा लेखिएको थियो शुरुमा मिति २०५५÷०१÷१५ गते । सुश्री धनकुमारी अर्याल भनेर । विषयमा नियुक्ति गरिएको । यो शब्द पढेपछि भुँईमा खुट्टा थिएन । निकै खुशी थिएँ । पत्र बुझ्ने दिनसम्म हामी आमाछोरी सँगसँगै थियौ ।

कृष्णप्रसाद ज्ञवाली सरले आमालाई भन्नुभयो दिदी भोलिदेखि हजुर आउन पर्दैन । नानीलाई पठाई दिनु १० बजे हाजिर हुन ।
हामी फर्कियौ। साँझ भएको थियो घरमा आउँदा । खाना खायौं र निद्रा फिटिक्कै लागेन मलाई । भोलिदेखि एक्लै जानुपर्छ। डिउटी के गर्ने केही जान्दिनँ । कसरी गर्ने, कसले सिकाउँछ र सोच्दा सोच्दै बितेको त्त्यो रात अहिले नि ताजै छ । यसरी जागिरे जीवनमा प्रवेश गरेको नि २४ वर्ष भएछ ।