अदभूत क्षमताका दलबहादुर

श्यामलाल पोखरेल 
उनलाई कतिले दले दाई भन्छन् । कतिले डिवी दाई त कतिले दाई साइला पनि भन्छन् । दाई साइला सायद उनको साहित्यिक नाम हो जस्तो लाग्छ ।
उनी दाई साइलाबाट पनि धेरै परिचित छन्, भने दलबहादुर सर भनेर त चिन्ने धेरै छन् ।

आफुलाई लागेको कुरा र विचारबाट पछि नहट्ने त्यसलाई स्थापाति गर्न उनी सारै माहिर मान्छे पनि हुन् । सधै सादा जीवनमा हुन्छन् । त्यस्तै बिचार पनि उच्चनै ।
यो पंक्तिकारले देखेको र भेटेको पनि करिव २० वर्ष भए होला । उनी सदासर्वदा सामान्य सादा पोशाकमा देखिन्छन् र भेटिन्छन् । देख्दा खिसिक्क हास्ने परै देखेपनि बोलाउने बानी पनि सारै मजाको छ । साथिभाईसंग चिया खाएपछि चियाको पैसा तिर्न पनि पहिल्यै खल्तीमा हात हाल्ने बानी उनको नयां होइन जस्तो लाग्छ ।
उनी पाल्पा दोभानवासी हुन् ।
उनी खास शैक्षिक व्यक्तित्व हुन् । त्यपछि अरु सबै हुन् । पढाउनता धेरै वर्ष पढाए होलान् तर सरकारी नियम अनुसार २१ वर्ष ६ महिना १८ दिन पढाएर मास्टरबाट २०७२ सालमा रिटाएर भएका पूर्व शिक्षक हुन् ।

उनले पढाएका धेरै विद्यार्थी उच्च तहमा पुगेका छन् । धेरै विद्यार्थीलाई शिक्षाको क्षेत्रमा उत्पादन गरेका छन् ।
शैक्षिक व्यक्तित्वसंगै उनी लेखक तथा साहित्यकार र राजनीतिक कर्मी पनि हुन् । प्रगतिशील लेखक संघ नेपालको केन्द्रिय सचिव रहेका दलबहादुरको साहित्य लेखन अति सुन्दर र पठनीय हुन्छ । पढौपढौ लाग्छ र हुन्छ । छिनभरमा राम्रोसंग लेख्ने क्षमता छ उनमा । नेकपा एमालेका जिल्ला स्तरीय नेता पनि हुन् दलबहादुर गुरुङ ।
गाउंघर र पाखा पखेरा घुम्न रुचाउने दलबहादुरले गाउंगाउंमा पुगेर किसान मजदुर, बुढाबुढी, गरिब निमुखा र विकासको पहुंचमा नपुगेका थुप्रै स्थानको भुगोललाई समेटेर धेरै पटक लेख लेखेका छन् ।
उनले कृषि र पर्यटनबारे धेरै लेखेका छन् । आर्थिक अभावले उपचार गर्न नसकेर घरमै बसेका र फि तिर्न नसकेर स्कुल नगएका धेरैको जीवनीसमेत जस्ताको तस्तै उतार्न सक्ने उनको क्षमतालाई सलाम पनि छ । त्यती मात्र होइन काममा प्रगति गरेका धेरै व्यक्तिको जीवनीसमेत लेखेका छन् । उनका लेख र रचनाहरु हाम्रो राज्य र समाजको लागि सम्पति पनि हुन् । तर राज्य निदाएपछि कसको के लाग्छ र ?
सायद लेखेरै ठूलो हुने भएर सही मुल्याकंन हुने भए उनी ठूलै मान्छे हुन्थे र थुप्रै सम्मान पाउंथे ।
उनलाई लेख्न कुनै आइतबार कुर्न प्रर्दैन । लेखन शैली पनि उस्तै राम्रो र छिनभरमा लेखेर तयार पार्ने उनको अदभूत क्षमता छ ।
उनी सबैसंग सजिलै घुलमलि हुन सक्छन् ।

गाउंका बुढापाका आमाबुवा, कृषक, केटाकेटी तथा विद्यार्थीसंग सजिलै घुलमिल हुन सक्ने उनको अर्को अदभूत क्षमता छ ।
उनी कम्युनिष्ट पार्टीका सदस्य हुन् । प्रगतिशील लेखक संघ नेपालका वर्तमान सचिवसमेत रहंदा पाल्पाको दोभानमा रहेको मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पनि भए ।
प्रगतिशील लेखक संघले धर्मप्रति विश्वास गर्दैन । उनी उक्त मन्दिर व्यवस्थापन समितिको अध्यक्ष हुंदा धेरै ठाउंबाट आलोचित पनि भए । यो पंक्तिकार पनि त्यसको कट्टर बिरोधी हो र छ । तर पनि उनले साथिहरुका आलोचना सहजै प्रतिवाद गर्दै उनले भन्थे मैले कुनै धर्म मानेर मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएको होइन ।

धार्मिक पर्यटकीय क्षेत्र विस्तारका लागि आफु अध्यक्ष भएको र केही सुधार गरेपछि सोत छोड्छु भन्थे नभन्दै अहिले उनी त्यो मन्दिर व्यवस्थापन समितिको अध्यक्ष छैन्न जस्तो लाग्छ । तर मन्दिरमा वर्षौदेखि हुंदै आएको अनियमितता सखाप पारेर धेरै सुधार गरेर देखाए रे । उनकै देनले अहिले त्यो मन्दिर धेरै व्यवस्थित बनेको उनका बिरोधीहरुले स्वीकारेका छन् ।
उनी एक असल सञ्चारकर्मी पनि हुन् । उनले मिडियालाई धेरै सूचना दिएर वर्षौ अघिदेखि सहयोग गर्दै आएका छन्, भने थुप्रै लेख, कविता, गजल र समाचार छापिएका छन् ।
लामो समय पढाएर मास्टरबाट रिटार भएका पूर्व मास्टर दलबहादुर गुरुङ अबको जीवन लेखेरै सजिलै बाच्न सक्ने व्यक्ति पनि हुन् ।

आमा चन्द्रश्री गुरुङ र बुवा लालबहादुर गुरुङको कोषबाट जन्मेका उनी साइला छोरा हुन् । छोरा मान्छेको तलव र उमेर नसोध्ने भन्ने पुराना बुढा पाकाले भनेको सुनेकाले उनी कहिले जन्मेका हुन् भन्ने खुलाईएन ।
उनका राम्रा पक्ष धेरै छन्, भने केही सारै नराम्रा पक्ष पनि छन् । वर्ष ४ जति प्रगतिशील लेखक संघ रुपन्देहीमा उनी अध्यक्ष र म सचिव भएर काम गर्ने मौका मिलेको थियो । अहिले दलबहादुर सर केन्द्रिय सचिव र म रुपन्देही उपाध्यक्षमा छु ।

उनका खराव पक्ष आफुलाई मन परेन र आफ्ना भनाइ पास नभए वा आफ्ना योजनाहरु कार्यान्वयनमा नआए उनी भित्रैदेखि रिसाउने र उस्तै परे उठेर हिड्ने एउटा खराव पक्ष देख्छ यो पंक्तिकार ।
जेहोस उनमा थोरै मात्र खराव पक्ष छन् ।