आमा हुनुको पिडा

हरेक दिन रेडियो, टेलीभिजन र अनलाईनहरूमा आउने समाचारका शीर्षकमध्ये एक शीर्षक हो बलात्कार ! यो शीर्षकले मनै भरङ्गै बनाउँछ । उदास बनाउँछ र राज्यप्रति प्रश्न गर्ने रहर जगाउँछ ।
म महिला हुँ । महिला सँगसँगै छोरीकी आमा पनि हुँ । ममा महिला हुनुको डर त छँदै थियो । छोरीकी आमा हुनुमा दुईगुणा भय एवम् त्रास छ । मेरी छोरी स्कुल पढ्छे । म बिहान छोरीलाई स्कुल पुर्याउन जान्छु र साँझ लिन । कथमकदाचित मैले नभ्याएको खण्डमा ऊ घर आइपुग्छे कि पुग्दिनँ भन्ने डरले मन पोल्छ । बलात्कारका समाचारका हेडलाइनहरू आँखामा दगुर्न थाल्छन् । जब छोरी सकुशल घर आइपुग्छे नि आफू संसारकै भाग्यमानी आमा भएको महशुस् हुन्छ । मन शित्तल हुन्छ । युद्ध जितेको सिपाहीजस्तै लाग्छ आफूलाई ।
एकदिन छोरी स्कुलबाट आइपुगेपछि भनिन् –‘ममी मेरो सु गर्नेमा दुखेको छ ।’म तर्सिएँ । सेकेण्डभरमा मनमा शंका र प्रश्नहरू उब्जिए । एक किसिमको पाप, मनमा आयो । छोरीलाई फकाएर सोधें । स्कुलमा तिम्रो शिक्षकले वा साथीहरूले केही गरे कि ? प्रश्नहरू सोधिरहें । छोरीले भनिन्– कसैले केही गरेको छैन ।
छोरीले भनेपछि मैले छोरीको सुसुमा हेरें । केही नभएर पसिना र पिसाबले अन्डरवेयर भिजेर काछ लागेको रहेछ । हत्तपत्त पाउडर लगाइदिएँ । छोरी होमवर्क गर्न बसिन् । मलाई भने हिनतावोध भयो । फगतमा मैले अनेक सोचें । अर्को मनले सोचें–अहिले भइरहेको श्रृङ्खलाबद्ध बलात्कार र बलात्कारपछिको हत्या अनि त्यसपछि,त्रासको परिणाम हो यो ।
दाजुले बहिनीलाई, बाबाले छोरीलाई, हजुरबाले नातिनीलाई, छिमेकीले फलानोको छोरीलाई बलात्कार गरे अरे ! यस्ता समाचारहरूले मेरो मनमा आक्रोस पैदा हुन्छ । यस्ता पशुको स्वभाव भएका पुरूषहरूलाई जिउँदै खाल्डोमा गाड्न पाए हुन्थ्यो नि । होमवर्क गरिरहेकी छोरीलाई हेरें । यस्तो नाबालकहरूको शिकार गर्ने अपराधीहरूलाई फाँसीको सजाय कहिले आउला ? मनमा प्रश्नले उत्तर पाएन ।
दिनदिनै हुर्कदै गएकी छोरीले मेरो बाल्यकालको याद दिलाउँछे । ऊ मजस्तै छे । उनको स्वरूपमा म आफुलाई देख्छु । मेरी छोरीप्रतिको व्यवहार जस्तो छ नि मप्रतिको मेरी आमाको व्यवहार त्यस्तै थियो । मेरी आमाले मलाई यसरीनै माया गर्नुहुन्थ्यो । मायाले नै सिलाइ दिनु हुन्थ्यो मेरो फाटेको अन्डरवेयर । त्यो समयमा अहिलेजस्तो रेडिमेड अन्डरवेयर कहाँ पाईन्थ्यो र ? हाम्रो गाउँका बालीघरे दर्जी दाइलाई अन्डरवेयर सिलाउन लगाउनुहुन्थ्यो । जुन अन्डरवेयर फाट्ने बित्तिकै सियोले सिलाई दिनुहुन्थ्यो आमाले । प्रायः आमाले अरू कपडामाभन्दा अन्डरवेयरमा ध्यान दिनुहुन्थ्यो । अहिले थाहा हँुदैछ कि मेरी आमाले मेरो फाटेको अन्डरवेयरमा किन ध्यान दिनुहुन्थ्यो भनेर ।
आजकल म मेरी छोरीका हरपक्षमा ध्यान दिइरहेको हुन्छु । के ग्यारेन्टी कहिले आमा नै अपराधीको शिकार बन्न पुग्छिन् भन्ने ? मलाई लाग्छ छोरीकोपछि लाग्नु मात्रै परिवारको भूमिका हैन । चौबीसघण्टा छोरीको पछि लाग्दैमा छोरीहरू सुरक्षित हुँदैनन् । अब छोरीहरूले आफ्नो सुरक्षा आफै गर्न सक्ने क्षमताको विकास गर्न सक्ने बनाउनु अभिभावकको दायित्व हुन आएको छ ।

—-

दिनदिनै हुर्कदै गएकी छोरीले मेरो बाल्यकालको याद दिलाउँछे । ऊ मजस्तै छे । उनको स्वरूपमा म आफुलाई देख्छु । मेरी छोरीप्रतिको व्यवहार जस्तो छ नि मप्रतिको मेरी आमाको व्यवहार त्यस्तै थियो । मेरी आमाले मलाई यसरीनै माया गर्नुहुन्थ्यो । मायाले नै सिलाइ दिनु हुन्थ्यो मेरो फाटेको अन्डरवेयर । त्यो समयमा अहिलेजस्तो रेडिमेड अन्डरवेयर कहाँ पाईन्थ्यो र ? हाम्रो गाउँका बालीघरे दर्जी दाइलाई अन्डरवेयर सिलाउन लगाउनुहुन्थ्यो ।


छोरी पौडीको पारखी छे । उनको चाहनालाई मध्यनजर गर्दै स्वीमिङ कस्ट्युम किनि दिएकी छु । छोरीले पौडी खेल्दा म हेरिरहन्छु । पानीले भिजेको उनको शरीर अत्यन्तै सुन्दर देखिन्छ । त्यो भिजेको नानीको शरीरलाई यदि कुनै हिंस्रक पुरुषले भए सेक्सी देख्ने थियो होला । कामुक बन्ने थियो होला । त्यसैले मेरी छोरी पौडिरहेको बेला कुनैपनि केटाहरू उनको नजिक नआईदिओस् लाग्छ । मेरो फूलजस्ती छोरीमाथि कसैको गिद्दे नजर नपरोस् लाग्छ । यदि छोरीहरू सुरक्षित हुन्थेभने मनमा यस्ता नकारात्मक सोंच पैदा हुने थिएन ।
छोरीको चाहना फरक हुँदाहुँदै पनि आफ्नो सुरक्षा आफै गर्न सकोस् भनेर तेक्वान्दो सिक्न स्कुलमै ब्यवस्था गरिदिएकी छु । कहिलेकाँही घरमा जानी नजानी ‘फाईट’ खेल्न सिकाउँछु । यो मेरो रहर हैन । जोक हैन । छोरीप्रतिको प्रेम हो । डर हो । प्रायः हरेकदिन घरमा छोरीलाई सम्झाइरहेको हुन्छु–नचिनेको व्यक्तिले दिएको चक्लेट, मिठाईहरू खानुहुन्न । उनीहरूले जाउँ भनेको ठाउँमा जानुहँुदैंन ।
हुन त यति गरेपछि मेरी छोरी वलवान हुन्छे र सतप्रतिशत् सुरक्षित हुन्छे भन्ने त छैन । केही हदसम्म छोरी सुरक्षित हुन्छे भन्नेमा विश्वस्त छु । प्रायः बालिका बलात्कारको घटनाहरूलाई हेर्दा ललाई फकाईबाटै सुरुवात् भएको पाइन्छ । त्यसैले यस विषयमा परिवारले नानीहरूलाई सचेत गराउनु अति आवश्यक छ । साथमा जिम्मेवारी त छँदैछ ।
सरकार बलात्कार भइसकेपछि बलात्कारीलाई सुरक्षा दिन्छ । पीडितलाई मलमपट्टी गर्छ तर बलात्कार हुनै नदिन कुनैपनि कदम चाल्दैन । बलात्कार भइसकेपछि समाचारहरू छ्याप्छयाप्ती आउँछन् ।

बलात्कार हुनै नदिन सरकारलाई सचेत गराउने लेखहरू कमै आउँछन् । म एउटी आमा हुँ । छोरीप्रतिको चिन्ता मजस्तै आमाहरूलाई थाहा हुन्छ । छोरी गुमाउँदाका पीडा आमाहरूलाई थाहा हुन्छ । त्यसैले नेपालका सारा मीडिया र सरकारको कानसम्म म आमाको आग्रह पुगोस्–‘छोरीहरूलाई बलात्कार भइसकेपछि सान्त्वना नदिए हुन्छ । बाँचे त सान्त्वना दिन्छौं । नबाँचे वा हत्या भएमा समाचारमा सीमित हुने त हो । दुखेको आमाको मनलाई मल्हमपट्टी कुनै हालतमा गर्न सकिदैंन ।’
त्यसैले सरकार ! छोरीहरू मरेपछि सान्तवना दिउँला भनेर पर्खेर नबस । छोरीहरूका जीवनको सुरक्षा देउ । मिडियाहरू हत्यापछिको ‘ब्रेकिङ न्यूज’ नबनाऊ । छोरीको सुरक्षाका निम्ति अग्रिम कलम चलाउ । युट्युवरहरू हत्या भइसकेपछि सारा छिमेकीहरूलाई रातारात ‘हिट’ बनाउनेतिर नलाग । नेपाली नै हौं र मानवता छ भने हत्या,हिंसा र बलात्कारजस्ता जघन्य अपराधको विषयमा जनचेतनामूलक डकुमेन्ट्री बनाऊ । म आमा हुँ । मेरी छोरी सुरक्षित होस् ।